नेभिगेशन
राजनीति
राष्ट्रियसभा सदस्य निर्वाचन

१९ पदका लागि ४४ उम्मेदवार

काठमाडौं । सातै प्रदेशबाट बुधबार राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मनोनयन दाखिला भएको छ । आगामी माघ ११ गते हुने उक्त निर्वाचनको उम्मेदवारी मनोनयनको सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

१९ पदका लागि प्रदेशगत रुपमा विभिन्न दलका गरी ४४ उम्मेदवारले आवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा छ । उम्मेदवारीमाथि बिहीबार उजुरी दिन सकिन्छ भने शुक्रबार र शनिबार उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने तालिका छ । आगामी आइतबार उम्मेदवारी फिर्ता लिनसक्ने र सोमबार उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

यो निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । प्रदेशसभा सदस्य ५४५ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १ हजार ४ सय ९८ गरी २ हजार ४३ प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको छ । यी मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ छ ।

कोशी प्रदेश: अन्य समूहतर्फबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । एकल उम्मेदवारी दर्ता भएकाले थापा निर्विरोध भएका हुन् । कोशी प्रदेशको अन्य, दलित समूह र महिला महिला समूहको दुई स्थानका लागि चार जनाको उम्मेदवारी परेको छ ।

दलित र महिला समूहतर्फ कांग्रेस र एमाले गठबन्धनबाट सोम पोर्तेल र रोश्नी मेचेले मनोनयनपत्र दर्ता गराएका छन् । नेपाली कम्युनिष्ट पार्टीले दलित र महिला समूहतर्फ खेमराज सुन्दास र नमिता न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।

मधेस प्रदेश: चार सिटका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसबाट अल्पसंख्यक समूहमा रञ्जित कर्ण र दलित समूहमा धर्मेन्द्र पासवानले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेससँगको सहकार्यमा एमालेबाट महिलातर्फ महोत्तरीकी रेखा झा तथा लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्त ठाकुरले अन्य समूहबाट उम्मेदवारी दिएका छन् ।

गठबन्धनमा आबद्ध रहेको भनिए पनि जनता समाजवादी पार्टी नेपालले भने अन्य समूहमा महन्थ ठाकुरको उम्मेदवारीबाहेकका तीन सिटमा छुट्टै उम्मेदवारी दर्ता गराएको छ । अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साह र दलिततर्फ चमेली देवी दासलाई उम्मेदवार बनाएको हो ।

गठबन्धनबाट नेकपा बाहिरिएपछि लोसपा र जसपा नेपाललाई एक–एक सिट दिने सहमति भएको थियो तर त्यसको कार्यान्वयन नभएकाले अलग उम्मेदवारी दर्ता गर्नुपरेको जसपा नेपालका सचिव शैलेन्द्रप्रसाद प्रसाद साहले बताए ।

नेपाली कम्युनिष्ट पार्टीले अलग्गै चार सिटमा उम्मेदवारी दर्ता गराएको छ । दलिततर्फ शम्भु पासवान, अन्यतर्फ लक्ष्मण पौडेल, अपांगता तथा अल्पसंख्यकतर्फ रामानन्दप्रसाद र महिलातर्फ समी अग्रवाललाई उम्मेदवार बनाएको हो । मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनका मतदातामा १०४ जना प्रदेशसभा सदस्य छन् । त्यसैगरी, २६६ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख छन् ।

वाग्मती प्रदेश: एक महिला र एक अन्य गरी दुई सीटका लागि ६ जनाको उम्मेदवारी परेको छ । महिला क्लस्टरमा कांग्रेसबाट गीता देवकोटा, नेकपाबाट सरोजकुमारी झा र नेमकिपाबाट कविता महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् । अन्य क्लस्टरबाट एमालेका डा. प्रेमप्रसाद दंगाल, नेकपाका प्रेम सापकोटा र नेमकिपाका विक्रम ढुकुछुको उम्मेदवारी परेको छ । १ सय १० सदस्यीय प्रदेशसभा र १ सय १९ स्थानीय तह रहेको वाग्मती प्रदेशको मतभार अनुसार कांग्रेस बलियो देखिन्छ । प्रदेशसभाका १ सय १० र पालिकातर्फ २ सय ३८ गरी ३ सय ४८ मतदाता छन् ।

गण्डकी प्रदेशः गण्डकीमा दुई सीटका लागि ६ जनाको मनोनयन दर्ता भएको छ ।

कांग्रेस–एमाले मिलेर उम्मेदवारी दिएका छन् । जसमध्ये महिलाबाट एमालेकी सम्झना देवकोटा (गोरखा)को उम्मेदवारी परेको छ भने अन्यबाट कांग्रेसका जगत तिमल्सिना (तनहुँ)को उम्मेदवारी परेको छ । नेकपाबाट कपिल लामा(मनाङ) र गोमा घिमिरे लुइँटेल (कास्की)को उम्मेदवारी परेको छ भने राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटा (बागलुङ), शंकर बराल (कास्की)को उम्मेदवारी परेको छ ।

गण्डकी प्रदेशमा ५९ प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका प्रमुख, उपप्रमुख गरी २२९ मतदाता छन् । एक प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिँदा गण्डकीमा कुल मतभार छ हजार ३५७ छ ।

लुम्बिनी प्रदेश: आठ जनाको उमेदवारी परेको छ । कांग्रेस–एमाले गठबन्धनबाट तीन जना उम्मेदवार छन् । कांग्रेसबाट चन्द्रबहादुर केसी र वासुदेव घिमिरे ‘जंगली’ र एमालेबाट रामकुमारी झाँक्रीको उम्मेदवारी परेको हो । दाङको लमहीका घिमिरेले अपांग, केसी अन्य र झाँक्री महिला कोटामा उम्मेदवार हुन् ।

यसैगरी नेकपाबाट अपांगता क्लस्टरतर्फ बाँकेका सर्जन विक, अन्यमा रूपन्देहीका वृहस्पति अधिकारी र महिलामा पाल्पाकी दुर्गा भण्डारीले मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय जनमोर्चाबाट प्यूठानका बोमबहादुर खत्रीले अन्य र पद्मा पण्डितले महिला क्लस्टरमा उम्मेदवारी दिएका छन् । लुम्बिनीमा प्रदेशसभा सदस्य ८७ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१७ जना गरी कुल ३०४ जना मतदाता छन् ।

सुदूरपश्चिम प्रदेश: चार जनाले मनोनयन दर्ता गराएका छन् । अन्यमा कांग्रेसका खम्महादुर खाती र नेकपाका टीकाराम जैसीको मनोनयन परेको हो । महिलामा एमालेकी लीलाकुमारी भण्डारी र नेकपाकी रोजी बस्नेतको उम्मेदवारी परेको छ । निर्वाचनका लागि ५२ प्रदेशसभा सदस्य मतदाता छन् । प्रदेशका सबै ८८ पालिका तहका प्रमुख/उप्रमुख र अध्यक्ष/उपाध्यक्ष गरी १७५ मतदाता छन् ।

कर्णाली प्रदेश: चार जनाको उम्मेदवारी परेको छ । अन्यमा नेकपाका बुद्धिप्रसाद शर्मा र कांग्रेसका ललितजंग शाहीको उममेदवारी परेको छ । महिला क्लस्टरमा नेकपाबाट अञ्जु महतारा र एमालेबाट मिनासिंह रखालको उम्मेदवारी दर्ता भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्