नेभिगेशन
राजनीति
देउवाले अस्वीकार गरे निम्तोे , शशांकले भने ‘गुड लक’

कांग्रेस विशेष महाधिवेशन आज

संस्थापनको नीति र नेतृत्वलाई नयाँ पुस्ताको चुनौती

जगन्न्नाथ दुलाल
काठमाडौं, पुस २६
संस्थापन पक्ष र शेखर कोइराला पक्षको असहमतिका बीच नेपाली कांग्रेसको विशेष महाधिवेशन आजउद्घाटन हुने भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा विशेष महाधिवेशनको प्रक्रिया अघि बढेको हो । उद्घाटन सत्रको सभापतित्व कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँले गर्नेछन् भने बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् । विशेष अधिवेशनको पक्षमा खुलेका महाधिवेशन प्रतिनिधिहरूमध्ये जेष्ठ सदस्यले बन्दसत्रको सभापतित्व गर्ने तय भए पनि कसले गर्ने भन्ने टुंगो नलागेको विशेष महाधिवेशन व्यवस्थापन समिति सचिवालय प्रमुख मनोजमणि आचार्यले जानकारी दिए । 

महाधिवेशन उद्घाटनका लागि मञ्च तयारीको काम शनिबार नै भइसकेको छ । उद्घाटनसत्रअघि विभिन्न क्षेत्रबाट निस्केको ¥याली भृकुटीमण्डप पुगेपछि दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन हुने बृहत् जनपरिचालन समितिका संयोजक जगदीशनरसिंह केसीले बताए । विशेष महाधिवेशन पक्षधरले सभापति देउवालाई प्रमुख अतिथिका रूपमा निम्तो गरे पनि उनले अस्वीकार गरेका छन् । महाराजगञ्जस्थित निवासमा पुगेका विशेष अधिवेशन आयोजक प्रतिनिधिहरूलाई देउवाका स्वकीय सचिव भानु देउवाले रुखो जवाफ दिएर फर्काए । त्यही टोली नजिकै आफ् नो घरमा आउँदा नेता डा. शशांक कोइरालाले चिया खुवाए र, ‘थम्स् अप’ गर्दै भने ‘गुड लक तर, पार्टी नफुट्ने सर्तमा है ।’ महाधिवेशनमा सहभागी हुनप्रतिनिधिहरू भने काठमाडौं आइपुगेका छन् । केही उद्घाटनसत्र अघिसम्म आइसक्ने नेता केसीले जानकारी दिए । 

विशेष महाधिवेशन आयोजक समितिले आफ्नो पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि रहेको दाबी गरेको छ । उनीहरूले विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि पुगेको दाबी गरेका छन् । विशेष महाधिवेशनको माग गर्दा असोज २९ गते ५४.५८ प्रतिशतले हस्ताक्षर गरेका थिए । त्यो संख्या बढ्दो क्रममा रहेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए । केही जिल्लाहरूमा भने विशेष महाधिवेशनमा हस्ताक्षर गर्नेहरूले आफ्नो हस्ताक्षर फिर्ता पनि लिएका छन् ।

सभापति शेरबहादुर देउवासहित अधिकांश संस्थापन पक्षका नेताहरूको विरोधबीच गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेका थिए ।

कांग्रेस पार्टीको विधानअनुसार त्यसरी माग गरिएको तीन महिनाभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था रहेको भन्दै विशेष महाधिवेशन पक्षधरले आयोजना गरेको महाधिवेशन पुस २७ र २८ गते चल्नेछ ।

उद्घाटनसत्र सकेलगत्तै बन्दसत्र शुरु हुने बताइएको छ । विशेष महाधिवेशनको हलबाटै कार्यविधि बन्ने र त्यसको आधारमा कसरी अघि बढ्ने तय हुने महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।फागुन २१ को चुनावअघि नेतृत्व फेर्ने उद्घोष विशेष महाधिवेशन पक्षधरको छ । विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दा महामन्त्री गगन थापालाई सभापति बनाएर अघि बढ्ने कांग्रेस नेता जगदीशनरसिंह केसीले दाबी गरे । विशेष महाधिवेशनको पक्षमा उभिएका अर्का महामन्त्री शर्माले नेतृत्वमा रुचि देखाएका छैनन् । संस्थापन र शेखरपक्ष सहभागी नहुने अवस्थामा महाधिवेशनले नेतृत्व छान्दा थापा सर्वसम्मत सभापति बन्ने विशेष महाधिवेशन पक्षधर दाबी गछन् । 

तर, उद्घाटनसत्र शुरु हुनु अघिसम्म सहमतिको प्रयास जारी रहेकाले विशेष महाधिवेशनलाई संकल्प सभाका रुपमा मात्रै सीमित रहने झिनो सम्भावना रहेको विशेष महाधिवेशनको विपक्षमा उभिएका नेताहरू बताउँछन् । महामन्त्री थापाले नेतृत्व परिवर्तन गर्ने  कि नगर्ने विषय हलबाटै स्पष्ट हुने बताइसकेका छन् । ‘हलले जे निर्णय गर्छ, त्यही हो विशेष महाधिवेशनको गन्तव्य,’ थापाले भनेका छन्, ‘जिन्दावाद भन्दै हलले नेतृत्व नै चयन ग¥यो भने मैले मान्दिनँ भन्न मिल्छ ? त्यो त मान्नुप¥यो नि ।’ थापा विशेष महाधिवेशनले नीति र नेतृत्व दुवै बदल्नुपर्ने  पक्षमा छन् । 

सभापति देउवालाई लामो समय साथ दिएका पूर्वउपसभापति गोपालमान श्रेष्ठसहित संस्थापन पक्षका केही नेताहरू विशेष महाधिवेशनका पक्षमा खुलेका छन् । कांग्रेसका ४७ जिल्ला सभापति र १७ देशका जनसम्पर्क समितिले भने शनिबार विज्ञप्ति जारी गर्दै  विशेष महाधिवेशनको विपक्षमा आफूलाई उभ्याएका छन् । महाधिवेशनले नेतृत्व चयन गरेमा कांग्रेस विभाजनतर्फ जानेछ । 

गगनले मागे जेनजीसँग आइडिया

महामन्त्री थापाले पार्टी पुनर्गठन र राष्ट्रिय प्राथमिकतासँग सम्बन्धित विषयमा नागरिकलाई
आइडिया र सुझाव दिन खुला आह्वान गरेका छन् । सामाजिक सञ्जालमार्फत शनिबार भिडियो सन्देशमार्फत उनले जेनजी आन्दोलनले ब्यूँताएको बहसलाई नीतिगत तहमा लैजान आफूले काम सुरु गरिसकेको बताए । उनले केही दिनअघि जेनजी आन्दोलनले उठाएको पार्टी पुनर्गठनको मुद्दालाई राष्ट्रिय स्तरमा लैजान आइडिया आह्वान गर्दा धेरै प्रतिक्रिया आएको पनि बताएका छन् । 

‘मैले केही दिनअगाडि जेनजी आन्दोलनले ब्यूँताएको पार्टी पुनर्गठनको मुद्दामा राष्ट्रिय लेभलको कन्सर्न हुनुपर्छ भनेर एउटा आइडिया पोस्ट गरेको थिएँ । धेरैले मलाई आइडिया दिनुभएको छ, मैले काम गर्न पनि थालिसकेको छु,’ सामाजिक सञ्जालमा छोटो भिडियो पोस्ट गर्दै महामन्त्री थापाले भनेका छन्, ‘कतिपयले हामी पनि आइडिया दिन्छौं भनेर जिज्ञासा राख्नुभएको छ । तपाईंहरूका आइडिया सुन्न र सिक्न पनि मेरो मन छ ।’ थापाले पठाइने सबै सुझावहरू नोट गरिने र विशेष महाधिवेशनपछि सम्बन्धित पक्षसँग सम्पर्कमा रहने बताए । 

‘पठाएको आइडिया नोट गर्छु र विशेष महाधिवेशनपछि रिचआउट गर्छु। निर्वाचनअघि नै जेनजी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्न सक्छौं,’ उनले भनेका छन् । उनले आइडिया संकलन गर्न अनलाइन फाराम पनि सार्वजनिक गरेका छन् । उक्त फारममार्फत् भर्चुअल संवादका लागि केही सहभागी छनोट गरिने र फारममार्फत प्राप्त सबै प्रतिक्रिया ध्यानपूर्वक अध्ययन गरी सुझावको सार ग्रहण गर्ने उनले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्