नेभिगेशन
राजनीति

जसपामा लोसपा विलय, चुनाव चिन्ह छाता

काठमाडौं (संवाददाता)– प्रतिनिधि सभाको आसन्न निर्वाचनलाई ध्यानमा राख्दै वैकल्पिक शक्तिहरु ध्रुवीकृत भइरहेका बेला मधेसका दुई प्रभावशाली दल एकीकृत भएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच आइतबार १२ बुँदे एकीकरण सहमति भएको हो । 

दुवै दलले यसअघि पुस १३ मै एकीकरण सहमति गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका थिए । शनिबार ललिपुरस्थित ठाकुर निवासमा भएको सहमतिअनुसार पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल र चुनाव चिह्न ‘छाता’ रहनेछ ।

पार्टीको तीन रङको झण्डामा माथिल्लो भाग रातो, बीच सेतो र तल्लो भाग हरियो हुनेछ भने बीचमा ढल्किएको छाता रहने सहमतिमा छ । एकीकृत पार्टी सञ्चालनका लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति हुने र उक्त समितिले आफ्नै सदस्यहरू मध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्नेछ । दुवै पार्टीका केन्द्रीय समिति समायोजन नहुन्जेलसम्म पार्टीको संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक निकाय रहनेछ ।

दुवै पार्टी मातहतका सबै तह र निकायका संगठन, भ्रातृ संगठन, शुभेच्छुक संगठन, विभाग तथा संयन्त्रहरू एकीकृत पार्टी जसपा मातहत केन्द्रीय समन्वय समितिको निर्णयअनुसार सञ्चालन हुनेछ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारका लागि पेस गरिने मनोनयन पत्रमा केन्द्रीय समन्वय समितिको निर्णयअनुसार महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा हस्ताक्षर गर्ने सहमतिपत्रमा उल्लेख छ । एकीकरण सहमतिपछि जसपाको मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि महिला समूह, अल्पसंख्यक, र दलित क्लस्टरमा दिइएको उम्मेदवारी निष्क्रिय हुने सहमति रहेको डा. सुरेन्द्र झाले बताए । राष्ट्रिय सभामा मधेसबाट जसपाका अल्पसंख्यकमा शैलेश चौधरी, महिलातर्फ चन्दा साह र दलितमा चमेलीदेवी दासको उममेदवारी दर्ता भएको थियो । सहमतिअनुसार उनीहरूको उम्मेदवारी निष्क्रिय पारिने भएको छ ।

४३ सदस्यीय केन्द्रीय समन्वय समितिमा ठाकुर संरक्षक, उपेन्द्र यादव अध्यक्ष र ४१ जना सदस्य छन् । सदस्यमा ह्दयेश त्रिपाठी, लीलादेवी सिटौला, जैनुल राइन, शरत्सिंह भण्डारी, सुनी लामा, लालबाबु राउत, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, रकम चेम्जोङ, रेणु यादव, वृषेशचन्द्र लाल, दीपक कार्की, निर्जला राउत, तारा विश्वकर्मा, जितेन्द्रप्रसाद सोनार, अर्जुन थापा, उमेश यादव लगायत छन् ।

बचतमा १ करोड १४ लाख 

जसपाले लोसपासँग पार्टी एकीकरण गरेकै दिन आफ्नो एक वर्षको आयव्यय विवरण सार्वजनिक गरेको छ । भक्तबहादुर पण्डित एण्ड एसोसिएट्सले गरेको लेखा परीक्षण प्रतिवेदन शनिबार आफ्नो बेवसाइटमा प्रकाशन गर्दै जसपाले  वित्तीय कारोबारमा पारदर्शिताको अभ्यास गरेको हो ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷८२ मा जसपा नेपालले कुल ८८ लाख ४५ हजार ९६१ रुपैयाँ आम्दानी गरेको छ भने आर्थिक वर्षको अन्त्यसम्ममा १ करोड १४ लाख ७१ हजार ३३४ रुपैयाँ बचत गरेको छ ।
पार्टीको आम्दानीको मुख्य स्रोत महाधिवेशन, सम्मेलन तथा पार्टी कार्यकर्ताबाट संकलन गरिएको लेवी छ । महाधिवेशन र सम्मेलनबाट मात्रै पार्टीले ६३ लाख ७५ हजार १०० रुपैयाँ आम्दानी गरेको रिर्पोटमा छ । सदस्यता शुल्क, नवीकरण तथा मासिक र कार्यगत लेवीबाट १७ लाख ६३ हजार ४०० रुपैयाँ संकलन भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, व्यक्तिगत तथा अन्य स्रोतबाट ५ लाख ५ हजार १३२ रुपैयाँ चन्दा प्राप्त भएको छ । क्यान्टिन भाडाबाट १ लाख ८० हजार रुपैयाँ र बैंक ब्याजबाट २२ हजार ३२९ रुपैयाँ आम्दानी भएको छ ।

खर्चतर्फ पार्टीको ठूलो हिस्सा कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यमा खर्च भएको देखिन्छ । कार्यालय सञ्चालनका लागि ६३ लाख ८१ हजार ८५९ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयको घर बहालमा १८ लाख १५ हजार रुपैयाँ र कर्मचारीको तलब तथा दसैं भत्ता सुविधामा १३ लाख ३४ हजार रुपैयाँ खर्च भएको छ ।

त्यस्तै, इन्धनमा १ लाख ५३ हजार १९५ रुपैयाँ, बिजुली तथा पानीको महसुलमा ३६ हजार ८७ रुपैयाँ र लेखा परीक्षण शुल्कमा ३० हजार रुपैयाँ खर्च भएको छ । अधिवेशन तथा सम्मेलन आयोजनाका लागि ४ लाख ८८ हजार ४० रुपैयाँ खर्च भएको प्रतिवेदनमा देखाइएको छ ।

आर्थिक वर्षको अन्त्यसम्ममा पार्टीको राष्ट्रिय वाणिज्य बैंकमा ९९ लाख ६९ हजार ८१८ रुपैयाँ र कृषि विकास बैंकमा १५ लाख १ हजार ५१६ रुपैयाँ मौज्दात रहेको छ। साथै, पार्टीको जग्गा, भवन, फर्निचरलगायत पुँजीगत सम्पत्तिको कुल मूल्य २ करोड ४० लाख ३८ हजार ३८१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्