काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशन आयोजना गरेपछि चर्किएको विवाद सहमति नजिक पुगेको छ । सहमतिका लागि संस्थापन र महामन्त्री दुवै पक्ष लचक देखिएका छन् । महाधिवेशन पक्षधरले मंगलबार निर्वाचन कार्यतालिका ल्याएको थियो । तर, सहमतिका लागि छलफल अघि बढेपछि तालिका सारेको छ ।
उनीहरूले मंगलबार बेलुका ९ देखि विहान १ बजेसम्म मतदानको समय तोकेका थिए । संस्थापनसँग वार्ता लम्बिएपछि मतदान चाहिँ बुधबारमात्र हुने महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजकले जानकारी बताएका छन् ।
विशेष महाधिवेशनको बन्दसत्रले महामन्त्रीद्वयले पेस गरेको सांगठनिक र नीतिगत प्रस्ताव पास गरेको छ । बन्दसत्रमा समबोधन गर्दै महामन्त्रीद्वयले सहमतिको प्रयास भइरहेको संकेत गर्दै जे सहमति भए पनि हलले अनुमोदन गर्नुपर्ने बताए । ‘टिकेट र भागबण्डाका लागि गरिएको भनेर हल्ला फैलाइएको छ । यसले अझै के पुष्टि हुन्छ भने उनीहरूले हाम्रो कुरा बुझेकै छैनन् । हामीलाई सभापति चाहिएन भनिरहेका छौं । टिकट चाहिँदैन भनिरहेका छौं,’ बन्दसत्रका क्रममा महामन्त्री गगन थापाले भने ।
हलबाट बाहिरिने क्रममा महामन्त्री थापाले बाहिर जे सहमति भए पनि हलले त्यसलाई अनुमोदन गर्नैपर्ने बताए । बन्दसत्रलाई सम्बोधन गर्दै अर्का महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री थापालाई पार्टीको नेतृत्व र मुलुकको प्रधानमन्त्रीको रूपमा अघि सार्ने बताए । ‘कांग्रेस एउटा नवीन ऊर्जा लिएर आउँदैछ । नेपाली कांग्रेस पार्टी बदलिएर आउँदैछ । बलियो नेतृत्व लिएर आउँदैछ । राम्रो दृष्टिकोण लिएर आउँदैछ । नेपाली कांग्रेस पार्टी फागुन २१ गते हार्दिक ढंगले लोकतान्त्रिक ढंगले स्वस्थ ढंगले प्रतिस्पर्धा गरौं भनेर आउँदैछ,’ उनले भने, ‘नेपाली कांग्रेस पार्टीको नेतृत्व र मुलुकको प्रधानमन्त्री बन्नेगरी गगन थापालाई अघि लगाएर आउँदैछौं ।’

विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेपछि सोमबार बेलुका संस्थापन पक्षले संवादको आह्वान गरको थियो । त्यसपछि दुवै पक्षले समिति बनाएर सहमतिका लागि छलफल जारी राखेका छन् । दुई पक्षबीच सोमबार बेलुकादेखि शुरु भएको बैठक मंगलबार पनि बस्यो । तर, बैठकमा ठोस् सहमति भने जुट्न सकेन । उनीहरूले सहमति नजिक पुगेको दाबी गरेका छन् ।

बुधबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा उपसभापति धनराज गुरुङले सहमतिका लागि भइरहेको प्रयासबारे जानकारी गराए । गुरुङले विशेष महाधिवेशन पक्षधरसँग सहमतिका लागि वार्ता भइरहेको र सकारात्मक दिशामा अघि बढिरहेको जानकारी गराएका थिए । बैठक बुधबार बिहान ८ बजे बस्नेगरी बोलाइएको छ ।
दुवै पक्षले आफ्ना कारण पार्टी विभाजन नहुने दोहोर्याएका छन् । सानेपामा प्रवक्ता प्रकाशशरण महतले भने, ‘विभाजन हितमा छैन । यो हामीलाई राम्रो थाहा छ । त्यसकारण हामी कुराकानीमा अत्यधिक लचकताका साथ सबै पार्टीका साथीहरूलाई एकजुट बनाउन कोसिस गरिराख्या छौं, कुराकानी भइराखेको छ ।’ उनले एकता जोगाउन आफूहरू लचक रहेको भन्दै महामन्त्रीहरू पनि लचक भएर आउनुपर्ने बताए ।
त्यस्तै, अर्का नेता डा.शेखर कोइरालाले एकताका लागि दुवै पक्ष लचक बन्नुपर्ने बताए । ‘राष्ट्र अप्ठ्यारो परिस्थितिमा छ, यस्तो बेला राष्ट्रिय एकता आवश्यक छ । कांग्रेस पार्टी भित्र पनि एकता जरुरी छ । हामी मिलाउन लागिपरेका छौं,’ उनले भने, ‘यसका लागि विशेषवालाले पनि बुझ्नु पर्यो । निर्वाचन रोक्नु पर्यो नि, पार्टी मिल्नुपर्छ ।’ सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन पक्षसँग पनि कुरा गरिरहेका कोइरालाले सहमतिका लागि विशेष पक्षधर पनि लचिलो बन्नुपर्ने धारणा राखे । सहमति जुटे विशेष महाधिवेशन पक्षधर नेतृत्व चयनमा रोकिने नत्र अगाडि बढ्नेमा छन् भने त्यसो गरे कारवाही गर्ने मूडमा संस्थापन पक्ष छ ।
गलाउने नीतिमा संस्थापन र इतर
कांग्रेसभित्रको विवाद दुई विषयमा अझै मिल्न सकेको छैन । बिहानदेखि दुई चरणमा बसेको वार्तामा मंगलबार अबेर रातिसम्म ती विषयमा मिल्न सहमति जुटिसकेको छैन ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति शेरबहादुर देउवा राजनीतिबाट अलग हुनुपर्ने प्रस्ताव महामन्त्रीपक्षले राखेको छ । तर, त्यसमा संस्थापन पक्ष असहमत छ । प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचन लड्ने उम्मेदवारहरूको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर गर्नुपर्ने विषयमा पनि संस्थापन पक्ष तयार छैन ।
उनीहरूले यो विषय सभापति देउवा र कार्यवाहक सभापति खड्कासँग छलफल गर्नुपर्ने बताएपछि वार्ता समितिको बैठक स्थगित भएर दुवै वार्ताटोली आफ्ना नेताहरूसँग छलफलमा बसेका थिए । यी बाहेकका महाधिवेशन पक्षधरले राखेका अरु नीतिगत माग र विशेष महाधिवेशनलाई पार्टीले नै स्वामित्व लिने विषयमा संस्थापन पक्ष सकारात्मक रहेको वार्ता टोलीका एक सदस्यले बताए ।
स्रोतका अनुसार देउवाले सभापति छाड्न तयार नभए शीर्ष नेतृत्वको ‘हाइकमाण्ड’ बनाउने विषय पनि छलफलमा उठेको छ । पार्टी सञ्चालनका लागि हाइकमान्ड बनाउने सहमति भएमा आगामी १५ औं महाधिवेशनसम्मका लागि देउवालाई आलंकारिक सभापतिका रुपमा राख्न सकिने विकल्प अघि सारिएको छ ।
पार्टी सञ्चालनका लागि हाइकमान्डसहित टिकट वितरण गर्ने, संसदीय बोर्ड सहमतिका आधारमा बन्नुपर्ने, सभापतिले आगामी संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न नहुने लगायतका मागमा छलफल सकारात्मक भनिए पनि निष्कर्ष निस्किएको छैन ।

कांग्रेसको विवाद अन्त्यका लागि त्रिपक्षीय वार्ता समिति गठन गरिएको छ । वार्तामा सभापति देउवापक्षबाट रमेश लेखक र बालकृष्ण खाँण, नेता शेखर कोइरालाको समूहबाट नेताहरू जीवन परियार र मीनेन्द्र रिजाल छन् भने विशेष महाधिवेशन पक्षधरकातर्फबाट देवराज चालिसे, मधु आचार्य, प्रदीप पौडेल छन् ।
दुवै पक्ष एकअर्कालाई आफ्ना मागमा गलाउने प्रयासमा रहँदा सहमति टाढा भए पनि बुधबार बिहानसम्म सहमति गरिसक्ने वार्ता टोलीका एक सदस्यले दाबी गरे । छिटो सहमति नभए पार्टी विभाजन हुनसक्ने दबाबमा संस्थापन पक्ष छ भने ढिलो गर्दा महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढ्नुपर्ने दबाबमा महामन्त्रीद्वय छन् । ‘हाम्रो पार्टी सभापति नै लचिलो नहुँदा निकास आउन ढिला भएको हो,’ पार्टीका एक नेताले भने, ‘विशेष महाधिवेशन पनि पार्टी फुटाएर जाने हिम्मत नगर्ने अवस्थामा देखियो ।
यतिका महाधिवेशन प्रतिनिधिको मागअनुसार निर्वाचनको प्रक्रियामा अगाडि बढ्नुपर्नेमा महमन्त्रीद्वय आवश्यकताभन्दा बढी नरम देखिएको विश्लेषण उनको छ । ‘फ्लोरले अब नयाँ नेतृत्वसहित अगाडि बढौं भन्दा महामन्त्रीद्वयले हिम्मत गरे भने संस्थापनसँग विकल्प रहँदैन,’ उनले भने, ‘यहाँ भोलि कांग्रेसले कांग्रेसलाई नै हराउने अवस्था आउँछ भनेर महामन्त्रीहरू आवश्यकताभन्दा बढी नै सतर्क भइदिँदा संस्थापनले घुर्क्याउन पाएको हो ।’