नेभिगेशन
राजनीति

समानुपातिकमा १७ दलका १७५ नाम फिर्ता

काठमाडौं – समानुपातिकतर्फको बन्दसूचीबाट १७ दलका १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिन निर्वाचन आयोगले उम्मेदवारलाई सोमबारको समय दिएको थियो ।

नाम फिर्ता लिनेमा एकल चुनाव चिह्नबाट नाम बुझाउने दलका उम्मेदवार पनि छन् । लोकतान्त्रिक समाजवादी पार्टीका ११० जनाले नाम फिर्ता लिएका छन् । महन्थ ठाकुर नेतृत्वको लोसपा उपेन्द्र यादवको जसपा नेपालमा विलय भएकाले समझदारीअनुसार ११० जनाको नाम फिर्ता गराएको हो । जनमत पार्टीका २०, राप्रपाका १२, जनादेश पार्टी नेपालका ६ र एमालेका पाँच जनाले नाम फिर्ता लिएको आयोगले जनाएको छ ।

नेकपा (माओवादी) र राष्ट्र निर्माण दल नेपालका चार/चार जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । यस्तै, नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीका दुई/दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट जाँतो एकल चुनाव चिह्नका एक/एक उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । यसैगरी गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट एक/एक जना उम्मेदवारले नाम फिर्ता लिएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीका लागि यही पुस १३ र १४ गते दलहरूले आयोगमा नाम पेस गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति