नेभिगेशन
मनोरञ्जन

नयाँ जेम्स बोन्डको खोजी

लेखक फ्लेमिङले सन् १९५३ मा उपन्यास ‘क्यासिनो रोयल’मा एउटा स्टाइलिश ब्रिटिश गुप्तचर पात्र परिचित गराएका थिए, जसमाथि हालसम्म २५ वटा फिल्म बनिसकेका छन्

विश्वकै सर्वाधिक चर्चित र सफल गुप्तचर फिल्म शृंखला ‘जेम्स बोन्ड’ (००७) यतिबेला आफ्नो नयाँ नायकको खोजीका कारण हलिउडमा बहसको केन्द्रमा छ । सन् २०२१ मा ‘नो टाइम टु डाई’ मार्फत डेनियल क्रेगले यस प्रतिष्ठित भूमिकाबाट बिदा लिएपछि नयाँ बोन्ड को होला भन्ने कौतुहलता दर्शकमाझ संसारभर नै छ ।

हालैका खबरहरूका अनुसार ३४ वर्षीय बेलायती अभिनेता आरोन टेलर– जोन्सनको नाम यस भूमिकाका लागि चर्चामा छ । ‘किक–आस’ र ‘बुलेट ट्रेन’ जस्ता फिल्मबाट चिनिएका आरोनलाई निर्माण पक्षले औपचारिक प्रस्ताव पठाएको चर्चा चले पनि मुख्य निर्माता बारबरा ब्रोकोलीले अझै आधिकारिक घोषणा गरेकी छैनन् । उनले नयाँ बोन्ड ३० वर्षको आसपासको, बेलायती र कम्तीमा १०–१२ वर्षसम्म यो भूमिकालाई न्याय गर्न सक्ने व्यक्ति हुनुपर्ने अडान राख्दै आएकी छन् ।

जेम्स बोन्डको फिल्म इतिहास सन् १९६२ मा ‘डा. नो’ बाट सुरु भएको थियो, जसमा इयान फ्लेमिङको उपन्यासका यी चर्चित पात्रलाई सिन कोनरीले पहिलो पटक पर्दामा जीवन्त पारेका थिए । कोनरीपछि जर्ज लाजेनबी (केवल एक फिल्म ‘अन हर मेजेस्टिज सेक्रेट सर्भिस’ का लागि), रोजर मूर, तिमोथी डाल्टन, पियर्स ब्रुसनन र पछिल्लो समय डेनियल क्रेगले बोन्डको विरासतलाई पर्दामा अगाडि बढाए । सन् २००६ को ‘क्यासिनो रोयल’ देखि २०२१ को ‘नो टाइम टु डाइ’सम्म क्रेग ५ वटा फिल्ममा जेम्स बोन्ड बनेका छन् । त्यसअघि पियर्स ब्रुसनन १९९५ देखि २००२ सम्म ४, तिमोथी १९८७ र १९८९ का फिल्ममा देखिए । १९७३ देखि १९८५ सम्म ७ वटा फिल्म खेलेर लामो समय यो पात्रको विरासत धान्ने काम रोजर मूरले गरेका थिए ।

हालसम्म यो शृंखलाका २५ वटा आधिकारिक फिल्म निर्माण भइसकेका छन् । बक्स अफिसको कुरा गर्दा, यो शृंखला हलिउड इतिहासकै सर्वाधिक कमाउने फ्रेञ्चाइजमध्ये एक हो । सन् २०१२ मा रिलिज भएको ‘स्काइफल’ ले विश्वभर १.१ अर्ब डलरभन्दा बढीको व्यापार गरेर नयाँ कीर्तिमान कायम गरेको थियो । समग्रमा बोन्ड सिरिजले हालसम्म करिब ८ अर्ब डलरभन्दा बढीको व्यापार गरिसकेको छ ।

बोन्ड शृंखलासँग जोडिएका किस्साहरू पनि उत्तिकै रोचक छन् । जेम्स बोन्ड एक काल्पनिक ब्रिटिश गुप्तचर पात्र हुन्, जसलाई लेखक इयान फ्लेमिङले १९५३ मा पहिलो पटक आफ्ना उपन्यास ‘क्यासिनो रोयल’ मा परिचित गराएका थिए । पात्रको कोडनेम ‘००७’ हो, जहाँ दुई शून्यले ‘लाइसेन्स टु किल’ जनाउँछ । बोन्डको शरीरको चरित्र ’शानदार, स्टाइलिश, र रोमाञ्चक गुप्तचर’ रूपमा चित्रण गरिएको छ ।

सुरुवाती दिनमा लेखक फ्लेमिङले सिन कोनरीलाई बोन्डको भूमिकाका लागि ‘धेरै खस्रो र नमिलेको’ भन्दै अस्वीकार गरेका थिए । तर, पर्दामा जादुमय प्रस्तुति देखेपछि उनी कोनरीका फ्यान नै बने । अर्को रमाइलो तथ्य यो छ कि, जेम्स बोन्डको नाम वास्तवमा एक चराविद्को नामबाट लिइएको थियो । लेखक फ्लेमिङ आफ्नो पात्रका लागि एकदमै साधारण र निरस नाम खोजिरहेका थिए, त्यही बेला एउटा पुस्तकमा ‘जेम्स बोन्ड’ देखेपछि त्यसलाई नै फाइनल गरेका थिए । साथै, बोन्डले प्रयोग गर्ने कार ‘एस्टन मार्टिन’ र उनको ‘भोड्का मार्टिनी—सेकन, नट स्टर्ड’ भन्ने संवाद आज विश्वव्यापी पप संस्कृतिको अभिन्न अंग बनेको छ । नयाँ बोन्डको घोषणासँगै यो ६ दशक लामो गौरवपूर्ण विरासतले कुन नयाँ मोड लिने हो, त्यो हेर्न सम्पूर्ण सिनेमा जगत आतुर छ ।

नयाँ जेम्स बोन्डको दौडमा आरोन टेलर–जोन्सन बाहेक अन्य केही प्रभावशाली हलिउड स्टारहरूको नाम पनि निकै चर्चामा छ । ‘सुपरम्यान’ को भूमिकाबाट चर्चित हेनरी क्याभिल फ्यानहरूको पहिलो रोजाइमा छन् । उनको ’क्लासिक’ लुक र अनुभवले गर्दा उनी बलियो दाबेदार हुन्, तर उनको बढ्दो उमेर (४२ वर्ष) बाधक बन्न सक्ने अनुमान गरिएको छ ।

टम हार्डीको ’रफ एण्ड टफ’ छवि बोन्डका लागि सुहाउने केहीको ठम्याइ छ । यद्यपि, निर्माताहरूले अलि युवा अनुहार खोजिरहेकाले उनको सम्भावना केही कम देखिएको छ ।

बेलायती टिभी सिरिज ’ह्याप्पी भ्याली’ बाट चर्चित जेम्स नर्टनको नाम पनि अग्रपंक्तिमा छ । उनको शान्त र परिपक्व अभिनयलाई बोन्डका लागि उपयुक्त मानिएको छ । लामो समयदेखि पहिलो ’श्वेत बाहेकको’ बोन्डका रूपमा इद्रिस एल्बाको चर्चा भए पनि उनले स्वयंले यो भूमिकामा आफ्नो रुचि नरहेको संकेत दिइसकेका छन् । रेगे–जीन पेज ’ब्रिजरटन’ सिरिजबाट चर्चामा आएका पेज युवा पुस्ताका मनपर्ने कलाकार हुन् । उनको ’स्टाइलिस’ व्यक्तित्व बोन्डको चरित्रसँग मेल खान्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन