नेभिगेशन
मनोरञ्जन

विजयको दोस्रो इनिङ

‘जन नायकन’ विजयको फिल्मी करियरका लागि एक गौरवपूर्ण बिदाइ र राजनीतिक करियरका लागि बलियो घोषणापत्र

दक्षिण भारतीय सिनेमा जगतका ‘बक्स अफिस सम्राट’ मानिने जोसेफ विजय चन्द्रशेखर, जो विश्वभर ‘थालापति विजय’ का रूपमा प्रसिद्ध छन्, यतिबेला आफ्नो अभिनय करियरको अन्तिम फिल्म ‘जन नायकन’ का कारण चर्चाको शिखरमा छन् । ६५ भन्दा बढी फिल्ममा मुख्य भूमिका निर्वाह गरिसकेका तमिलनाडुको चेन्नईका ५१ वर्षीय विजयले सिनेमा क्षेत्र छाड्ने भएका छन् । बाल कलाकारको रूपमा अभिनय यात्रा सुरु गरेका उनी भारतकै सर्वाधिक महँगा कलाकारमध्ये एक हुन् । उच्च पारिश्रमिकमा लिनेमा उनी बलिउडका ठूला स्टारहरू भन्दा पनि अगाडि छन् ।

थालापति विजयको करियरमा ‘गिल्ली’, ‘पोक्किरी’, ‘थुप्पाक्की’, ‘मेर्सल’, ‘सरकार’ र ‘लियो’ जस्ता ब्लकबस्टर फिल्महरू छन् । एक्सन, डान्स र मास–अपिलका कारण उनले तमिलनाडुमा मात्र नभई विश्वभर करोडौं प्रशंसक कमाएका छन् । तर, सफलताको उचाइमा रहँदा नै उनले अभिनय क्षेत्रलाई पूर्णविराम लगाउने साहसी निर्णय लिएका छन् । यसको मुख्य कारण उनको राजनीतिक महत्वाकांक्षा हो । उनले फेब्रुअरी २०२४ मा आफ्नो राजनीतिक दल ‘तमिलगा भेत्री कलगम’ (टीभीके) घोषणा गरिसकेका छन् र सन् २०२६ को तमिलनाडु विधानसभा चुनावमा पूर्णकालीन नेताका रूपमा होमिने तयारीमा छन् । जनसेवाका लागि भन्दै उनले लोभलाग्दो फिल्मी करियर त्याग गर्ने निर्णय गरेका हुन् ।

उनको बिदाइ फिल्म ‘जन नायकन’ (जनताको नेता) हालै प्रदर्शनमा आएको छ । यो फिल्म उनको वास्तविक राजनीतिक यात्राको प्रतिबिम्ब जस्तो देखिन्छ । यसमा विजयले एक यस्तो पात्रको भूमिका निभाएका छन्, जो भ्रष्ट व्यवस्थाविरुद्ध लड्दै जनताको आवाज बन्छ । यसमा उच्च स्तरको एक्सन, कडा राजनीतिक संवाद र विजयको सिग्नेचर डान्स स्टेपहरू समावेश छन् । फ्यानहरूका लागि यो केवल एउटा फिल्म मात्र नभएर आफ् ना प्रिय स्टारलाई पर्दामा हेर्ने अन्तिम अवसर भएकाले हलहरूमा उत्सवकै माहोल छ । समीक्षकहरूका अनुसार ‘जन नायकन’ विजयको फिल्मी करियरका लागि एक गौरवपूर्ण बिदाइ र राजनीतिक करियरका लागि बलियो घोषणापत्र साबित भएको छ ।

विशेष गरी दक्षिण भारतमा, सिनेमाबाट राजनीतिमा जाने परम्परा पुरानो र निकै सफल छ । एमजी रामचन्द्रन, जयललिता र एनटी रामा राव जस्ता दिग्गजहरूले फिल्मी पर्दाबाट जनताको मन जितेर मुख्यमन्त्रीसम्मको यात्रा तय गरेका थिए । पछिल्लो समय कमल हासन र रजनीकान्तले पनि यो प्रयास गरे, तर विजयले जस्तो ‘पिक करियर’ मै सिनेमा छाडेर राजनीति रोज्ने आँट कमैले गर्छन् । हाल विजय आफ्नो दलको संगठन विस्तारमा व्यस्त छन् । उनले घोषणा गरिसकेका छन् कि उनको ध्यान अब केवल तमिलनाडुको विकास र जनसेवामा केन्द्रित हुनेछ । ‘जन नायकन’ को सफलताले उनको राजनीतिक यात्राको आधार कति मजबुत छ भन्ने स्पष्ट पारेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन