नेभिगेशन
राजनीति

अन्ततः विभाजनमा नेपाली कांग्रेस

निर्वाचन आयोगले कसलाई देला वैधता ?

काठमाडौं । विशेष महाधिवेशन वैध कि अवैध भन्ने विवादमा फसेको नेपाली कांग्रेस अन्ततः फुटेको छ । सभापति शेरबहादुर देउवा, उनी पक्षधर र विशेष महाधिवेशन पक्षधर प्रष्टरूपमा दुई कित्तामा बाँडिएका छन् । नेपाली कांग्रेसको पार्टी जीवनमा यो तेस्रो पटकको फुट हो । पछिल्ला दुईपटकको फुटका लागि देउवा प्रत्यक्ष जिम्मेवार बनेका छन् ।

अधिकतम लचक देखिएका महामन्त्रीद्वयलाई सहमतिमा ल्याएर पार्टी टुक्रिनबाट रोक्न सक्ने स्थिति हुँदाहुँदै पनि न देउवाले प्रयास गरे न त उनले कार्यवाहक सभापति तोकेका पूर्णबहादुर खड्काले । देउवा, खड्कासँगै उनीहरू पक्षधर नेताले विशेष महाधिवेशनको मागलाई निस्तेज पार्न वार्ताका नाममा अलमल गराउँदा पनि नसकेपछि महामन्त्रीद्वय र सहमहामन्त्रीलाई कार्बाही घोषणा गरेर पार्टीलाई दुई चिरा बन्न दिएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार भएको केन्द्रीय समिति बैठक भएको थियो ।

उक्त बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि ५ वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले एकातिर सुनाइरहँदा अर्कातिर भृकुटीमण्डपबाट विशेष महाधिवेशन पक्षधरले थापालाई सभापति घोषणा गरेको थियो । यो सँगै कांग्रेसमा १४औं महाधिवेशनबाट निर्वाचित देउवा र विशेष महाधिवेशनबाट घोषित थापा दुई जना सभापति भएका छन् । दुवैले आफूलाई आधिकारिक दाबी गरेका छन् । संस्थापनको केन्द्रीय समितिबाट कारबाहीमा परेका महामन्त्री थापाले ‘कांग्रेस पार्टी कसैको निजी कम्पनी नभएको’ बताएका छन् ।

महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै बन्दसत्रको हलमा थापाले भने, ‘हामीलाई कारबाही गरेको सुनेका छौं । यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौं भनेर हट्ने होइन ।’ कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले पार्टीको विधान र अनुशासन उल्लंघन गरेको भन्दै महामन्त्रीद्धय थापा र शर्मा तथा सहमहामन्त्री मन्सुरलाई कारबाही गरिएको जानकारी दिए । विश्वकर्माका अनुसार मुलुक विषम परिस्थितिमा रहेको र पार्टीको महाधिवेशनको संघारमा रहेको अवस्थामा महामन्त्रीद्वय र सहमहामन्त्रीले विधान विपरीतका गतिविधि गरेको ठहर बैठकको छ ।

संस्थापन पक्षले फागुन २१ गते हुने संसदीय दलको निर्वाचन र महाधिवेशनको प्रक्रिया चलिरहँदा पार्टीको आधिकारिक निर्णयविना नै काठमाडौंमा छुट्टै भेला आयोजना गरेको, कार्यकर्तालाई भड्काएको र समानान्तर गतिविधि सञ्चालन गरेको आरोप महामन्त्रीद्वमाथि लगाएको छ । 

गगन–विश्व समूहले भने विशेष महाधिवेशनको मागलाई कुनै पनि हालतमा रोक्न नसकिने भन्दै त्यो आधिकारिक र विधानसम्मत भएको दाबी गरेको छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेकाले पार्टी विधानको धारा १७(२) अनुसार प्रतिनिधि भेला भएकाले बहुमतका आधारमा पार्टीको सर्वोच्च निकायबाट हुने निर्णय स्वतः आधिकारिक हुने दाबी गर्दै आफू आधिकारिक भएको तर्क गरेको छ । कांग्रेस विधानको धारा १७(२) मा केन्द्रीय महाधिवेशनको व्यवस्था छ । केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । असोज २९ मा विशेष महाधिवेशन माग भएकोमा यो पक्षले त्यसको तीन महिना पुग्नेगरी पुस २७–२८ मा महाधिवेशन आह्वान गरेको थियो । संस्थापन पक्षसँग सहमतिको प्रयासपछि महाधिवेशनमा दुई दिन समय लम्बिएको पनि थियो ।

कांग्रेस आधिकारिकताको विवाद अब आयोगमा

गगन थापा पार्टीको चुनाव चिह्न रुख, चारतारे झन्डा आफूहरूसँग भएको दाबी गर्छन् । उनी निर्वाचन प्रक्रिया सकिएसँगै यसबारे निर्वाचन आयोगलाई जानकारी गराउने बताउँछनर । बन्दसत्रमा उनले भने, ‘म यो मञ्चबाट विश्वास र भरोसा दिलाउन चाहन्छु, संविधान कानून र पार्टीको विश्वासको आधारमा म भन्छु कि यो विशेष महाधिवेशनले जे निर्णय गर्छ निर्वाचन आयोगले त्यसलाई नै मान्छ । रुख चिह्नको कुरै छैन, सिंगो कांग्रेस नै यहाँ छ भने चिह्न र झण्डाको चिन्ता किन गर्ने ?’ अर्का नेता विश्वप्रकाश शर्मा अबको एक साताभित्र गगन थापा सभापतिका रूपमा सानेपा प्रवेश गर्ने दाबी गरे । ‘साथीहरू रेकर्डमा राख्नुहोला, दोहोर्‍याएर खिच्नुहोला । अबको एक साताभित्र नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सभापतिको रूपमा गगनकुमार थापाको पहिलो बैठक हुनेछ,’ शर्माले भने ।

तर, संस्थापन पक्ष त्यो मान्न तयार छैन । बुधबार केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आधिकारिकरूपमा अहिले केन्द्रीय कार्यसमिति देउवा पक्षतिरै रहने र कार्यालय पनि त्यहीं रहने बताए । उनले भने, ‘यो पार्टी कार्यालय नेपाली कांग्रेसको केन्द्रीय कार्यालय हो । यहाँ नेपाली कांग्रेसको कार्यालय छ । यहाँ केन्द्रीय समिति छ ।’

दुवै पक्षले आफूलाई आधिकारिक कांग्रेस दाबी गरेपछि अब कांग्रेस विवाद निर्वाचन आयोग पुगेको छ । राजनीतिक दल भित्र विवाद भएमा केन्द्रीय समितिको बहुमतका आधारमा आधिकारिकता निर्क्याेल गर्नुपर्ने पुरानो अभ्यास छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार, केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूमध्ये जुन पक्षको बहुमत छ, उसलाई मान्यता दिनुपथ्र्यो ।

तर, यो पटक नेपाली कांग्रेसभित्रको विवाद फरक ढँगको छ ।

कांग्रेसको विधानमा व्यवस्था भएको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको भनी विशेष महाधिवेशन पक्षधर दफा ५१ अनुसार, निर्वाचन आयोगमा दलको अभिलेख अद्यावधिक गर्न जाने तयारीमा छन् ।

निर्वाचन आयोग ऐनको दफा ५१ मा दलको नाम, चिह्न, विधान वा पदाधिकारी हेरफेर भएमा तीन दिन भित्र निर्वाचन आयोगमा जानकारी दिएर अभिलेख अद्यावधिक गर्नुपर्ने व्यवस्था छ । कांग्रेसको गगन– विश्व समूहले पनि विधानमा भएको व्यवस्थाअनुसार, पार्टीले विशेष महाधिवेशन गरेको र त्यसबाट नेतृत्व र पदाधिकारी परिवर्तन भएको भनी आयोगमा अभिलेख अद्यावधिक गर्ने बताएको छ । तर, त्यसभन्दा पहिले नै आयोगमा पत्र पठाएर देउवा समूहले नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन नगरेको भनी जानकारी गराएको छ । विशेष महाधिवेशन पक्षधरले पनि महाधिवेशन जारी रहेको जानकारी पठाएको छ । कांग्रेसको विशेष महाधिवेशन चलिरहेको र बन्दसत्रले अघिल्लो कार्य समिति भंग भएको लिखित जानकारी निर्वाचन आयोगमा दर्ता भइसकेको खुलेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विशेष महाधिवेशन चलिरहेको भनेर आयोगमा सोमबार नै जानकारी आएको बताए । महाधिवेशनबाट भएका निर्णय अद्यावधिक गर्न पठाउने भनेर पत्र आए पनि त्यसको थप विवरण प्राप्त नभएको आयोगले जनाएको छ । विशेष महाधिवेशन पक्षले छिटै विवरण बुझाउने बताएको छ । यसपटक आयोगले दफा ४४ र ५१ कुन अनुसार कांग्रेसभित्रको विवादलाई हेर्छ ? चासोका साथ हेरिएको छ ।

स्रोतका अनुसार आयोग कांग्रेस विवादमा छिटै निर्णय गर्नुपर्ने दबाबमा छ । माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्नुपर्ने भएकाले त्यसअघि नै आयोगले कांग्रेसको आधिकारिकता विवाद छिनोफानो गरिसक्ने आयोगको भनाइ छ ।

भृकुटीमण्डपमा नाराबाजी र नाचगान

गगन, विश्व र फर्मुल्लाहलाई साधारण सदस्यसमेत नरहनेगरी पार्टी संस्थापनको केन्द्रीय समितिले निष्कासन गरेपछि विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा सभापति शेरबहादुर देउवाविरुद्ध चर्को नाराबाजी गरे । बन्दसत्रलाई गगन र विश्वले सम्बोधन गरेपछि हलको वातावरण फेरियो । सभापतिमा गगन, महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी परेपछि उनीहरू सर्वसम्मत हुने अवस्था बन्यो । गगनले कार्यसमिति नै सहमतिमा छान्ने भन्दे सहयोग गर्न आग्रह गरेपछि हल त्यसका लागि तयार भयो । बन्दसत्रको हलमा सहभागी महाधिवेशन प्रतिनिधिले नाचगान गरे । नाराबाजीपछि अशान्त जस्तो बनेको भृकुटीमण्डप नाचगानपछि अर्कै माहोलमा फेरियो ।

कांग्रेस कहिले कहिले फुट्यो?

पार्टी महाधिवेशनको माग, त्यो अस्वीकृत भएपछि विशेष महाधिवेशनको माग, आह्वान र सुरुवात यसपटक कसैबाट लुकेको थिएन । सभापति देउवा र उनी पक्षधरले टार्न खोजिरहे । मध्यस्थता गर्न सक्ने स्थितिमा रहेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाले न आफ्नो सामथ्र्य पत्तो पाए, न त भूमिका नै चिने । अन्ततः पार्टी चिरा परेको छ । नेपाली कांग्रेस पहिलोपटक फुटेको होइन । सबैभन्दा पहिलो पटक फुट २०१० सालमा भएको थियो । त्यतिबेला कांग्रेस विभाजनमा सहोदर दाजुभाई बीपी र मातृकाप्रसाद कोइराला बीचको टकराव कारक बनेको थियो । २०५९ सालमा दोस्रोपटक फुट्यो, कारण थियो गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीचको टकराव ।

२००९ जेठ १०–१३ मा कांग्रेसले आफ्नो पाँचौं महाधिवेशन गरेको थियो । जुन नेपालभित्र भएको कांग्रेसको पहिलो महाधिवेशन हो । उक्त महाधिवेशनबाट बिपी सभापतिमा निर्वाचित भए । त्यसपछि पार्टीले २००९ साउन ८ मा प्रधानमन्त्री रहेका मातृकालाई सरकारबाट राजीनामा दिन निर्देशन दियो । तर पार्टीले भनेको नमानेका कारण बिपीले आफ्नै दाजुलाई कारवाही गरे । कांग्रेसबाट बाहिरिएका मातृकाले २०१० वैशाख १६ मा ‘राष्ट्रिय प्रजा पार्टी’ जन्माए ।

त्यस्तै, २०५७ माघ ९ मा कास्कीको पोखरामा सम्पन्न १०औं महाधिवेशनबाट सभापतिमा गिरिजाप्रसाद कोइराला निर्वाचित भए । सभापतिमा कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी प्रतिस्पर्धामा थिए । तर, उक्त महाधिवेशनको एक वर्षलगत्तै कांग्रेस विभाजन भयो । देउवा प्रधानमन्त्री बनेका बेला लगाइएको संकटकालको अवधि नथप्न कोइरालाको आग्रह नमानेको आरोप थियो । देउवालाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरियो । ०५९ असार पहिलो साता देउवाले नयाँ बानेश्वरमा महाधिवेशन प्रतिनिधिहरूको भेला गरेका थियो । सोही भेलाले उनको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) जन्मायो ।

अहिलेको परिदृश्यले गिरिजाप्रसादका कारण पार्टी फुटाएका देउवाको कांग्रेस प्रजान्तान्त्रिकको उदयको झल्को दिएको छ । तर, यसपटक गिरिजाका ठाउँमा देउवा छन् तर महामन्त्रीद्वय गगन– विश्वप्रकाशको दाबीले पार्टीको वैधानिकताका लागि संस्थापनलाई दह्रो चुनौती दिएको छ ।

महामन्त्रीद्वय गगन–विश्वप्रकाश पक्षधरले असोज २९ मा विशेष महाधिवेशन आह्वान गरेका थिए । संस्थापनले त्यसलाई अवैध भनेपछि पुस २७–३० भृकुटीमण्डपमा भएको महाधिवेशनले गगन थापालाई सभापति बनाउँदै पार्टी आधकिारिकताको दाबी गरेको छ । योसँगै कांग्रेस तेस्रोपटक फुटेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति