नेभिगेशन
राजनीति

गगन थापाको विद्रोही यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस कमान्डसम्म

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको छ । यससँगै पुस २७ र २८ गते काठमाडौंमा आयोजित विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाले नेपाली कांग्रेसको कमान्ड सम्हाल्ने औपचारिक अवसर प्राप्त गरेका छन् ।

गगन थापाको राजनीति कलेज जीवनको सुरुवातदेखि नै आरम्भ भएको हो । त्रिचन्द्र क्याम्पसमा आईएस्सी पढ्दादेखि उनले नेविसंघबाट राजनीति थालेका हुन् । २०५१ सालमा स्ववियु सदस्य निर्वाचित भएका उनी दुई वर्षपछि नै त्रिचन्द्रको सभापति बन्न सफल भएका थिए ।

गगनको राजनीतियात्राले त्यसपछि लगातार गति लियो । उनी २०५७ सालमा नेविसंघको उपाध्यक्ष बने भने २०५९ मा महामन्त्री बने । महामन्त्री भएका बेला विद्यार्थी आन्दोलनमा होमिएका उनी राजद्रोहको आरोपमा पटक–पटक पक्राउ परेका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हत्याएपछिको विद्यार्थी आन्दोलनमा गगन अग्रपंक्तिमा थिए । शाही शासनविरुद्ध २०६० पुस १ मा भएको विद्यार्थी आन्दोलनमा सूर्यबहादुर थापा नेतृत्वको तत्कालीन सरकारले नेविसंघका तत्कालीन अध्यक्ष गुरुराज घिमिरे, महामन्त्री थापा र अनेरास्ववियुका नेता पुरुषोत्तम आचार्यलाई राजद्रोहको आरोपमा पक्राउ गरेको थियो ।

गगनले २०५९ देखि नै गणतन्त्रको वकालत गर्थे । गणतन्त्रको मुद्दाले नै गगनलाई राष्ट्रिय राजनीतिमा स्थापित गराएको हो । कांग्रेसले पनि २०६२ भदौमा सम्पन्न महाधिवेशनमार्फत विधानबाट ‘संवैधानिक राजतन्त्र’ हटायो । दोस्रो जनआन्दोलन २०६२÷६३ मा गगन विद्यार्थी नेताका तर्फबाट अग्रपंक्तिमा रहेर मैदानमा उत्रिए  ।

जनआन्दोलनको सफलतापछि २०६४ सालमा भएको पहिलो संविधानसभामा गगनले समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाए । असोज २०६७ मा भएको १२औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए भने २०७२ फागुनमा भएको १३औं महाधिवेशनमा गगनले महामन्त्रीमा प्रतिस्पर्धा गरे पनि सफलता प्राप्त गर्न सकेनन् । तर, २०७८ मा भएको १४औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति चयन हुँदा नेता शेखर कोइरालाको पक्षमा उभिएका गगन महामन्त्री निर्वाचित भए ।

गगन पार्टीभित्र सधैं प्रतिपक्षीजस्तो भूमिकामा रहे । सत्ता र शक्तिको आडमा तत्कालीन सभापति देउवा र उनकी पत्नी आरजु राणा देउवाबाट पार्टीलाई कठपुतली बनाउने काम भइरह्यो । गगन र अर्का महामन्त्री विश्वप्रकाश शर्मा निरीह बनिरहे ।

भदौ २३ र २४ को जेन–जी आन्दोलनको पृष्ठभूमिमा गगनले गरेको साहसले विशेष महाधिवेशनमार्फत विद्रोहको स्वरुप ग्रहण ग¥यो । जसलाई महाधिवेशन प्रतिनिधिले स्वीकार गर्दा गगन मुलुककै पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसको सभापति बन्न सफल भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्