काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्न तयारी पूरा भएको छ । देशभरका ८८ मुख्य निर्वाचन अधिकृतका कार्यालय र निर्वाचन अधिकृतका कार्यालयमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको हो ।
मुलुकभरका १६५ वटै निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम मतदाता नामावलीमा छ, छैन भनी रुजु गर्न आवश्यक सामग्री पुगिसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । यसपटक आयोगले आचारसंहितामै उल्लेख गररे उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरेको र उक्त विवरण खामबन्दी गरी बुझाउनुपर्ने उनले बताए । ‘आचारसंहिता पालना गर्छु, कानुनले अयोग्य ठहराएमा उम्मेदवारी रद्द हुँदा पनि मञ्जुर छ, निर्वाचन कानुनसम्बन्धी सबै व्यवस्थाको पालना गर्छु, जस्ता विषय उम्मेदवारले स्वघोषणामा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ,’ जिसीले भने ।
उम्मेदवारी दिंदा के चाहिन्छ ?
उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने व्यवस्था छ । निर्वाचनका लागि यही मंगलबार मनोनयनपत्र दर्ता गर्दा उम्मेदवारको नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, कुनै स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा आवश्यक छ ।
उम्मेदवारी दिँदा संघीय, प्रदेश वा स्थानीय सरकार तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व अथवा नियन्त्रणमा रहेको वा तीनै तहका सरकारबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि उम्मेदवारले पेस गर्नुपर्छ । उम्मेदवारले प्रतिनिधि तोकी मनोनयनपत्र दर्ता गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २४ सँग सम्बन्धित अनुसूची ११ बमोजिमको प्रतिनिधि मुकरर गरेको फारम भर्नुपर्छ । यसैगरी प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र एक जना समर्थक भई विवरण भरी सहीछाप गरेको मनोनयनपत्र पनि पेस गर्नुपर्छ ।
दलको तर्फबाट उम्मेदवारी दिएको भए मनोनयन दाखिला गर्न पाएको पत्र बुझाउनु पर्छ । एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची ८ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र पनि समावेश गर्नुपर्छ । निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर पनि पेस गर्नुपर्छ । महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था छ । त्यसका लागि स्थानीय तहको प्रमाण खुल्ने पत्र पेस गर्नुपर्छ ।
उम्मेदवारले आफ्नो सम्पत्ति, ऋण, लेनदेनका सबै विवरण उल्लेख गरी सिलबन्दी गरेको सम्पत्ति विवरण पनि पेस गर्नुपर्छ । निर्वाचन निर्देशिका, २०८२ को दफा २२ सँग सम्बन्धित अनुसूची १० बमोजिम भरिएको वैयक्तिक विवरण फारम, निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए फर्छ्याैट भएको ब्यहोराको निस्सासमेत संलग्न गर्नुपर्नेछ । लेखा परीक्षणबाट कुनै पनि उम्मेदवारका नाममा किटानीसाथ असुलउपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए फर्छ्याैट गरेको निस्सा र निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची ३ बमोजिमको प्रतिबद्धता पत्र पनि समावेश गर्नुपर्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ निर्वाचन कार्यक्रम फागुन २१ मा हुने निर्वाचनका लागि मंगलबार बिहान १० देखि साँझ ५ बजेसम्म १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ । सोही साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
माघ ७ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ भने सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका छ ।