नेभिगेशन
राजनीति

दलहरू आफ्नै क्षमता परीक्षण गर्दै

नेपालमा पछिल्ला निर्वाचनमा दलहरूले एक्लाएक्लै लड्न छाडेका थिए । सत्तामा गठबन्धन हुन्थ्यो, निर्वाचनमा पनि गठबन्धन संस्कार जस्तै बनेको थियो । ०७४ को निर्वाचनदेखि हुँदै आएको घोषित चुनावी गठबन्धन अभ्यास आगामी निर्वाचनमा भने तोडिएको छ । राष्ट्रिय पार्टीहरूले सबैजसो क्षेत्रमा आफ् नो उम्मेदवार उठाएपछि गठबन्धनको संस्कृति भत्किन पुगेको छ ।

संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा यसअघि दलहरूले गठबन्धन गरेका थिए । राजनीतिक उतारचढावका कारण ०७९को परिस्थिति फेरियो । ०७९को निर्वाचनमा कांग्रेस, माओवादीसहितका दलहरू गठबन्धन गरेर चुनावमा गए । एमाले केही स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको थियो । यो पटक भने दलहरू छुट्टाछुट्टै निर्वाचन लड्ने भन्दै उम्मेदवार मनोनयन दर्ता गराएका छन् । 

तर, यसपटक पनि दलहरूबिच केही स्थानमा अघोषित सहकार्यको सम्भावना रहेको जानकारहरू बताउँछन् । काठमाडौं–४ बाट चुनाव जित्दै आएका गगन थापाले क्षेत्र छाड्दा नयाँलाई उठाएको भन्दै उक्त क्षेत्रमा कांग्रेसकै नेता–कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । काठमाडौं–४ मा कांग्रेसले युवा अनुहार सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ । जहाँ एमालेका राजन भट्टराई र रास्वपाका पुकार बमलाई ‘हेभिवेट’ उम्मेदवारका रुपमा हेरिएको छ । अघिल्लो पटक भट्टराई गगन थापासँग पराजित भएका थिए । पुकार बम काठमाडौं–१ मा पराजित भएर यसपटक ४ मा आएका हुन् । आलोचनाहरूका बीचमा पनि काठमाडौं–४ मा प्रतिष्पर्धी कोभन्दा को कम छन् ।

तुलनात्मक रुपमा एउटै र निरन्तरका उम्मेदवारलाई मतदाताले यसपटक फेर्नसक्ने हिसाबकिताब युवा नेताहरूको छ । त्यसैले रणनीति फेरिएको छ । गगन थापा सर्लाही–४ पुग्नुलाई यस्तै रणनीतिका रुपमा नेताहरू अथ्र्याउँछन् । एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वापा सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्र छाडेका छैनन् । गगन थापासँगै प्रचण्ड, उपेन्द्र यादवले निर्वाचन क्षेत्र फेरेका छन् । प्रचण्ड रुकुम पूर्व पुगेका छन् भने छन् अघिल्लोपल्ट हारोकाले सप्तरी–२ छाडेर यादव सप्तरी–३ मा उठेका छन् । त्यस्तै, काठमाडौं–३ मा पनि कांग्रेसले कमजोर उम्मेदवार उठाएको टिप्पणी कांग्रेसका नेता,कार्यकर्ताले सामाजिक सञ्जालमै व्यक्त गरेका छन् । सो क्षेत्रमा कांग्रेसले पूर्व वडाध्यक्ष राजु अर्याललाई उमेदवार बनाएको छ । उक्त क्षेत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई हेभिवेट उमेदवारका रुपमा हेरिएको छ । विशेषगरी काठमाडौं, भक्तपुर र ललितपुरका रास्वपा बलियो रहेका स्थानमा कांग्रेसले उम्मेदवार छनोटमा धेरै ध्यान पुर्‍याउन नसकेको चर्चा कांग्रेसभित्र छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्