काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर शान्तिपूर्ण रुपमा मनोनयन भएको छ । यसपटक दलहरू गठबन्धनको संस्कृति तोडेर एक्ला एक्लै निर्वाचनमा होमिएका छन् । राष्ट्रिय पार्टीहरूले सबैजसो क्षेत्रमा आफ्नो उम्मेदवार खडा गरेका छन् ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारहरूको मनोनयन पत्र दर्ता कार्यक्रम उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । १ सय ६५ स्थानका लागि हुने निर्वाचनमा ३ हजार ४ सय ८४ को उम्मेदवारी परेको आयोगले जानकारी दिएको छ । जसमा ३ सय ९५ जना महिला उम्मेदवार छन् । जसमध्ये राजनीतिक दलकातर्फबाट २ हजार २ सय ९७ छने भने १ हजार १ सय ८७ जना स्वतन्त्र उमेदवार छन् । जसमध्ये १ सय ६० स्वतन्त्र उमेदवार महिला छन् । ६८ वटा राजनीतिक दलले यसपटकको निर्वाचनमा सहभागिता जनाउने भएका छन् । यस्तै अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्र क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको छ ।
उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गरेका छन् । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउने आयोगको विश्वास छ । शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयनपत्र दर्ता सम्पन्न भएसँगै यसले मतदाताको मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको उनले बताएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म देशभरका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले अब निर्वाचित हुने जनप्रतिनिधिले देशमा सुशासनका लागि काम गर्ने विश्वास व्यक्त गरे ।
अब मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको दाबी विरोध, छानबिन गरी अन्तिम नामावली प्रकाशन गरेर माघ ९ गते निर्वाचन चिह्न प्रदान गरिने छ । निर्वाचन प्रचारप्रसारका ठूला कार्यक्रम भने फागुन ४ गतेपछि मात्र गर्न पाउने आयोगले जनाएको छ । कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समन्वयात्मक रूपमा चारवटै सुरक्षा निकायलाई परिचालन गरी निर्वाचन कार्यक्रम सम्पन्न गरिनेछ । प्रतिनिधि सभा सदस्यमा उठ्नका लागि राजीनामा दिएका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुखका ठाउँमा ६ महिनाभित्र सरकारसँग सल्लाह गरेर निर्वाचन गराउने उनको प्रतिबद्धता छ ।
उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते विहान १० देखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा निर्वाचन चिन्ह प्रदान गरिने छ ।