नेभिगेशन
राजनीति
प्रतिनिधि सभा निर्वाचन

३,४८६ उम्मेदवारी, काठमाडौंमा २५४

प्रतिनिधि सभा निर्वाचनमा १६५ क्षेत्रमा ३,४८६ उम्मेदवार मैदानमा, कोशीदेखि सुदूरपश्चिमसम्म चर्को प्रतिस्पर्धा, महिलाको सहभागिता भने न्यून

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुलुकका १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४ सय ८६ उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार देशभर एकैपटक मनोनयन पत्र दर्ता सम्पन्न हुँदा उम्मेदवारी ३ हजार ८९ पुरुष, ३ सय ९६ महिला र अन्य १ जनाको परेको हो । कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा कुल ५०४ जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा धेरै सुनसरी–४ मा ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ११८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मोरङ १ मा १८, २ मा १७, ३ मा २१, ४ मा २०, ५ मा २२ र ६ मा २० जनाको उम्मेदवारी परेको छ । यस्तै पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं १ मा १५, २ मा १८, ३ मा १७, ४ मा १६ र ५ मा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सुनसरी जिल्लाको चार वटा निर्वाचन क्षेत्रमा १०९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नं १ मा २५, २ मा २८, ३ मा २२ र ४ मा ३४ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी दुई/दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा ३१ र इलाममा २७ जनाको उम्मेदवारी परेको छ । उदयपुर क्षेत्र नं १ मा १८ र २ मा १३, इलाम क्षेत्र नं १ मा १३ र २ मा १४ जनाले उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । एक /एक निर्वाचन क्षेत्र रहेका ताप्लेजुङमा १३, पाँचथरमा १५, सङ्खुवासभामा १३, तेह्रथुममा १२, भोजपुरमा १२, धनकुटामा १८, सोलुखुम्बुमा १२, खोटाङ १५ र ओखलढुङ्गामा १६ जनाले उम्मेदवारी दिएका छन् ।

मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमा १ हजार ४२ जनाको उम्मेदवारी परेको छ । ८ जिल्लामा दल र स्वतन्त्र गरी १ हजार ४२ जनाको मनोनयन दर्ता भएको छ । जसमध्ये १०१ जना महिला र ९४१ जना पुरुष उम्मेदवार छन् । सबैभन्दा बढी धनुषा जिल्लामा १३९ जनाको उम्मेदवारी परेको छ भने कम सप्तरीमा १०५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

पर्साका १०९ जनामा १२ महिला छन् । बारामा ११२ जनामा १५ महिला छन् । रौतहटका १४३ जनामा १३२ पुरुषको मनोनयन पर्दा महिला ११ जना छन् । सर्लाहीमा १३३ जनामा ६ जनामात्रै महिला छन् । महोत्तरीका १४३ जनामा १८ जना महिला छन् । धनुषाका १५८ मध्ये १३ जना महिला छन् । सिरहामा १३९ जनाको मनोनय दर्ता हुँदा महिला ८ जना छन् । सप्तरीका १०५ उम्मेदवारमा १८ जना महिला छन् ।

वाग्मती प्रदेशका १३ जिल्लामा ७४१ जनाको उम्मेदवारी परेको छ । रसुवामा सबैभन्दा कम १२ जनाको रसुवामा र धेरै काठमाडौंमा २५४ जनाको मनोनयन दर्ता भएको छ । काभ्रेपलाञ्चोकका दुई निर्वाचन क्षेत्रमध्ये १ मा १८ र २ मा २४ गरी ४२ जनाको उमेदवारी परेको छ । सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रबाट समान १८/१८ गरी ३६ जनाको उमेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ४४ जनाले उमेदवारी दर्ता गराएका छन् । मकवानपुर–१ बाट २३ र २ बाट २१ जनाको उमेदवारी परेको हो ।

तीन निर्वाचन क्षेत्र रहेको चितवबाट ६५ जनाको उम्मेदवारी परेको छ । चितवन–१ मा १९ जनाको मनोनयन दर्ता हुँदा २ र ३ बाट २३/२३ जनाले उम्मेदवारी दिएका छन् ।

एउटै निर्वाचन क्षेत्र रहेका दोलखामा ३३ र रामेछापमा १७ जनाको उम्मेदवारी परेको छ । दुई निर्वाचन क्षेत्र रहेको धादिङमा ४८ जना छन् । दुवै निर्वाचन क्षेत्रबाट २४/२४ जनाको मनोनयन परेको छ ।

दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटबाट ३१ जना उम्मेदवार छन् । नुवाकोट–१ बाट १८ र २ बाट १३ जनाले मनोनयन दर्ता गराएका छन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा ५९९ जनाले मनोनयन दर्ता गराएका छन् । यसमा महिला ५६ जना छन् । ३९४ जना राजनीतिक दलबाट उम्मेदवार छन् भने २०५ स्वतन्त्र उम्मेदवारको मनोनयन परेको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार महिला उम्मेदवार सबैभन्दा बढी रुपन्देहीमा २१ जना छन् भने रोल्पामा उम्मेदवारी नै परेको छैन ।

दाङ, बाँके, बर्दिया, गुल्मी र नवलपरासी पश्चिममा भने पाँच/पाँचजना महिला उम्मेदवार छन् । त्यस्तै कपिलवस्तुमा चार, पाल्पा र रुकुम पूर्वमा दुई दुईजना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै अर्घाखाँची र प्यूठानमा एक/एकजना महिलाले उम्मेदवारी दर्ता गराएका हुन् । लुम्बिनी प्रदेशमा प्रमुख राजनीतिक दलबाट महिलाको उम्मेदवारी न्यू रहे पनि साना दल र स्वतन्त्रबाट महिलाको सहभागिता छ । कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमा १३८ जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार एउटा मात्रै निर्वाचन क्षेत्र रहेको सल्यानमा १६ जनाको उम्मेदवारी परेको छ । डोल्पामा ९, मुगुमा ७, जुम्लामा १०, कालिकोटमा १४, हुम्लामा ८ र जाजरकोटमा ११ जनाको उमेदवारी परेको छ । दैलेख–१ मा १० र २ मा ११ जनाले उमेदवारी दिएका छन् । प्रदेशको राजधानी जिल्ला सुर्खेत–१ मा १३ र २ मा १७ जनाको उम्मेदवारी दर्ता भएको छ । रुकुम पश्चिममा १२ जनाले उम्मेदवारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा २१० जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी उम्मेदवार छन् ।

कैलाली–१ मा १९, २ मा १६, ३ मा ११, ४ मा १६ र ५ मा १६ जनाले उम्मेदवारी दिएका छन् । कञ्चनपुर–१ मा १९, २ मा १९ र ३ मा १७ जनाको मनोनयन परेको छ । अछाम–१ मा ८ र २ मा ९ जना उम्मेदवार छन् । डोटीमा ९, बाजुरामा ८, बझाङमा ७, बैतडीमा १२, दार्चुलामा ११ र डडेलधुरामा १३ जनाले मनोनयन दर्ता गराएका छन् । १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले मनोनयन दर्ता गराएका हुन् ।

काठमाडौंका २५४ उम्मेदवार

काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रबाट २५४ जना उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौं–१ मा मात्र ३० जनाको उम्मेदवारी परेको छ । २ मा २२, ३ मा २४, ४ मा २८, ५ मा २६, ६ मा २२, ७ मा २८, ८ मा २२, ९ मा २६ र काठमाडौं–१० मा २६ जनाले मनोनयन दर्ता गराएका छन् ।

दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा ५७ जना उम्मेदवार छन् । भक्तपुर–१ मा १६ दल र ९ स्वतन्त्र गरी २५ जनाको मनोनयन परेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । भक्तपुर–२ मा १७ दल र १५ स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी दिएका छन् । तीन क्षेत्र रहेको ललितपुरमा ७४ जना उम्मेदवार छन् । क्षेत्र नम्बर १ मा २८, २ मा २३ र ३ मा २३ जनाको मनोनयन परेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्