नेभिगेशन
राजनीति

‘डमी’ उम्मेदवार रोक्न चुनौती

सर्लाही । विभिन्न राजनीतिक दलले निर्वाचनका क्रममा सवारीसाधन प्रयोगको सुविधा लिन नक्कली उम्मेदवार (डमी) खडा गरेको आरोप लागेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भइसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका चार निर्वाचन क्षेत्रबाट कुल १३३ जनाको उम्मेदवारी परेको छ ।

तीमध्ये ६१ जना विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार रहेका छन् भने ७२ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्थानीयका अनुसार स्वतन्त्र उम्मेदवारी दिने धेरैजसो व्यक्ति प्रमुख दलका उम्मेदवारका समर्थक वा परिवारका सदस्य हुन् । निर्वाचन आचारसंहिता, २०८२ अनुसार एक उम्मेदवारले दुईवटा चारपांग्रे सवारी प्रयोग गर्न पाउने व्यवस्था रहेकाले प्रचारप्रसारमा गाडी प्रयोग गर्न डमी उम्मेदवार खडा गरिएको स्थानीयको दाबी छ । डमी उम्मेदवारको नाममा दर्ता गरिएका सवारीसाधन प्रमुख दलका उम्मेदवारले चुनावी अभियानमा प्रयोग गर्ने सम्भावना रहेको बताइन्छ ।

‘विगतका चुनावमा पनि यस्तो डमी उम्मेदवार उपयोग गर्ने गरिएको थियो,’ बरहथवाका स्थानीय वासिन्दा सुमित झा भन्छन्, ‘यो पटक राश्वपा र अन्य दल पनि थपिएका छन् । त्यो हिसाबले तेत्रो धेरै उम्मेदवार हुनु नपर्ने हो । तर निर्वाचनलाई प्रभावित गर्न गाडी, निर्वाचन प्रतिनिधिको सुविधा लिन पनि यस्तो डमी उम्मेदवार खडा गर्ने गरिन्छ ।’ यस्ता डमी उम्मेदवारको दुरुपयोग रोक्न मानवअधिकार आयोग लगायतका निकायहरूले ध्यान दिनुपर्ने उनी बताउँछन् ।

यसैबीच, राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका क्रममा बालबालिकाको प्रयोग नगर्न सबै सरोकारवालालाई आग्रह गरेको छ । परिषद्ले विज्ञप्ति जारी गर्दै निर्वाचनको अघिल्लो दिन, मतदानको दिन तथा निर्वाचनपछिका कार्यक्रमहरूमा बालबालिकालाई प्रयोग गर्न वा गराउन नहुने वातावरण सुनिश्चित गर्न अनुरोध गरेको हो ।

परिषद्का अनुसार बालबालिकाको अधिकार र हितको संरक्षणका लागि निर्वाचन प्रचारप्रसार, जुलुस, आमसभा, कोणसभा, विजयोत्सव, अभियान तथा बैठकमा १८ वर्षमुनिका बालबालिकालाई सहभागी गराउन कानुनले निषेध गरेको छ । निर्वाचन आचारसंहिता, २०८२ र विद्यमान कानुनी व्यवस्थाको पालना गर्दै सबै राजनीतिक दल, उम्मेदवार तथा भ्रातृ सङ्गठनले बालमैत्री निर्वाचन वातावरण सुनिश्चित गर्नुपर्ने परिषद् को जोड छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्