नेभिगेशन
राजनीति

ओली कमलमा गाउँलेसँग, बालेन उक्लिए पाथीभरा

स्थानीयस्तरका विकासे मुद्दाको साटो ओली र बालेनका कारण झापा–५ ले यसपटक प्रत्यक्ष कार्यकारी चयनको अनुभव लिने तयारी गर्दैछ

काठमाडौं । कमल गाउँपालिका पुगेर केपी शर्मा ओली गाउँले भेटिरहँदा बिहीबार बालेन्द्र शाह पाथीभरा दर्शनका लागि मेचीको पहाड उक्लिएका छन् । निर्वाचन देशका ७७ वटै जिल्लामा हुँदैछ, तर धेरैको ओली र शाहले ध्यान झापातर्फ खिचेका छन् ।

यसले सञ्चारकर्मी र युट्युबरलाई त व्यस्त बनाएकै छ, सुरक्षाकर्मीलाई पनि सतर्क रहन बाध्य पारेको छ । ‘माथि’ केही जवाफ दिइहाल्ने स्थिति होला कि भन्दै सरकारी अधिकारीहरू हरदम चनाखो देखिएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ क्षेत्र राष्ट्रिय चर्चाको केन्द्र बनेको छ । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहबीचको सिधा भिडन्तले यो क्षेत्रलाई प्रधानमन्त्रीको दाबेदारहरूको रंगमञ्च बनाइदिएको छ ।

ओलीलाई पार्टीले पुनः नेतृत्वमा राखेर तेस्रो कार्यकालका लागि शक्तिशाली बनायो । एमाले शक्तिशाली भए ओलीलाई पुनः सत्तामा फर्कन सहज हुनेछ । उनको शक्तिलाई चुनौती दिन बालेन झापा झरेका हुन् । त्यसैले झापाको यो चुनाव स्थानीय प्रतिस्पर्धाबाट माथि उठेर राष्ट्रिय राजनीतिको प्रतिष्ठाको विषय बनेको छ ।

झापाको विगत हेर्दा यो जिल्ला सधैं राजनीतिक रूपमा संवेदनशील रहँदै आएको छ ।

जेनजी आन्दोलनका क्रममा ओलीको भक्तपुरको बालकोटस्थित घर मात्रै तहसनहस पारिएको थिएन, दमकस्थित घरमा पनि तोडफोड र आगजनी भएको थियो । उपत्यकाको बसाइमा हाल गुन्डुमा डेरा लिएर बसेका ओलीका लागि झापामा पनि उनको आश्रय सद्दे रहेन । दमकमा जेनजी आन्दोलनका बेला ध्वस्त पारिएका घरको भग्नावशेषमा बिहीबार पुगेका ओली केही भावुक भए । ‘घरवासविहीन बनाउने यो कार्य क्षम्य होइन । तोडफोड र लुटपाट हाम्रो मान्यता होइन, दोषीहरू कारबाहीमा पर्छन्,’ उनले भने । घरधनी एमाले नेता गगन पुरीले प्रमाण संकलन गरी कानुनी बाटो अपनाएको बताए ।

अहिले ओली दमकमा होटलमै बस्दै छन्, जुन भेटघाट र फोटो सेसनको थलो बनेको छ । एमाले झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार बालबालिकादेखि वृद्धसम्म फोटो खिचाउन लाइन लाग्छन् ।

वर्तमान चुनावी सरगर्मी हेर्दा झापा–५ सबैभन्दा रोचक छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ १ लाख ६३ हजार ३७९ मतदाता छन् । मतदातामा ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ महिला र अन्य २ जना छन् । यो संख्या गत निर्वाचनभन्दा १० हजार बढी हो । ओली र बालेनको चुनावी प्रतिष्पर्धा भइरहेको क्षेत्र जिल्लामै पाँचमध्ये ठूलो हो । यहाँ दुई नगर र दुई गाउँपालिका पर्छन् ।

झापामा कुल मतदाता संख्या ७ लाख १३ हजार ५३७ छ, जसमध्ये क्षेत्र नम्बर ५ मा सबैभन्दा धेरै छन् । ६१ मतदानस्थल र १८५ मतदानकेन्द्र छन् । जिल्लाका २८५ मतदानस्थलमध्ये ९५ अति संवेदनशील, १४७ संवेदनशील र ४३ सामान्यमा वर्गीकरण गरिएका छन् । प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले प्रहरी, सशस्त्र र सेनाको तैनाथीले चुनाव भयरहित हुने बताए । झापा–५ मा यसपटक विगतभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिँदैछ ।

ओली र बालेन दुवै प्रधानमन्त्रीका आकांक्षी हुन् । एमालेले माघ ३ मा ओलीलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको छ भने रास्वपाले पुस १३ को ७ बुँदे सहमतिमा बालेनलाई संसदीय दलको नेता र प्रधानमन्त्री दाबेदार बनाएको छ । काठमाहौं महानगरको मेयर पदबाट राजीनामा गरेर बालेन झापा झरेका छन् । गत मंगलबार उम्मेदवारी दर्ता गरेयता दुवै सक्रिय देखिएका छन् । ओलीले दमकमा युवा भेला र कार्यकर्ता भेटघाट गरे भने बालेनले चुनावी सचिवालयमा शुभेच्छुकसँग भेटे ।

बालेनको क्रेज फरक छ । उनी सामान्य नेताभन्दा सेलिब्रिटीका रुपमा देखिएका छन् । उनको पछि भीड ठूलो देखिएको छ — बालबालिकादेखि वृद्धसम्म । कांग्रेसका दमक नगरसभापति प्रकाश प्रसाईं, कमलका सचिव महेन्द्र बुढाथोकी र एमाले दमकका युवा नेता छवि खतिवडा, कमलप्रसाद गैरे, विजय तामाङ बालेनतर्फ लागेपछि ओलीका लागि यसपटक निर्वाचन सहज नहुने अनुमान जिल्लामा भइरहेको छ ।

बालेन बिहीबार पाथिभरा मन्दिर दर्शनका लागि मेचीको पहाडी जिल्ला उक्लिए, ताप्लेजुङ पुगे । फुङलिङका मेयर अमिर मादेनका अनुसार उनी शुक्रबार बिहान दर्शनपछि दमक फर्किने कार्यक्रम छ । यो तीर्थयात्रा हो कि राजनीतिक हाइकिङ भन्ने स्पष्ट छैन, तर युवामाझ लोकप्रिय ‘हाइकिङ ट्रेल’ बाट मन्दिर पुग्दै छन् । फर्केर आक्रामक घरदैलो गर्ने योजना छ ।

ओलीले भने कमल गाउँपालिकामा कार्यकर्तासँग भेट्दै ७० प्रतिशत मत ल्याएर जित्ने दाबी गरेका छन् । ‘कांग्रेस थिग्रिन सकेन, पूर्वमाओवादी पनि हाम्रैतिर,’ उनी भन्छन् । बालेनलाई लक्षित गर्दै ओलीले भने, ‘बैंकले नोट छाप्दा धितो राख्छ, भोट हाल्नेले धितोबिनाको मान्छेलाई किन दिने ?’

निर्वाचन सुरक्षाप्रति संवेदनशील देखिएका ओली मनोनयन दर्तापछि पनि यसबारे ढुक्क सुनिएका छैनन् । उनले भेला र भेटघाटमा सरकारले निर्वाचन सुरक्षा सुदृढ बनाउनुपर्ने बताइरहेका छन् । जेनजी आन्दोलनका बेला जेलबाट फरार कैदी र सुरक्षाकर्मीका लुटिएका हतियारले समस्या ल्याउन सक्ने उनी शंका गर्छन् ।

झापा–५ मा नौ स्वतन्त्रसहित २४ उम्मेदवार छन् । मुख्य भिडन्त ओली–बालेनबीच नै छ । तीन वर्षअघि ओलीले ५२,३१९ मत ल्याएर जितेका थिए, कांग्रेसका खगेन्द्र पाण्डेले २३,७४३ पाएका थिए भने रास्वपाका सुरेश पोखरेल ११,७४८ ल्याएर तेस्रो भएका थिए । समानुपातिकमा एमाले ३५,८७२ मतले पहिलो दल थियो।

यसपटक राप्रपाले आफ्नै उम्मेदवार उठाएको छ, जसले विगतमा ओलीलाई समर्थन गरेको थियो । पूर्वप्राध्यापक मोहन भण्डारीका अनुसार ओलीलाई यो पटक कडा चुनौती छ । राप्रपाका माधव मिश्र भन्छन्, ‘प्रतिस्पर्धा राम्रो हुन्छ ।’ एमाले दमक अध्यक्ष श्याम पौडेलले भने संगठन दरिलो रहेकाले बाहिरियाले आएर जित्न सहज नहुने बताए ।

झापाको यो चुनावले स्थानीय चोक, चिया पसल र सामाजिक सञ्जाल तताएको छ । यहाँ कांग्रेसकी मन्धरा चिमरिया र नेकपाका रञ्जित तामाङ उम्मेदवार छन् । तर, चर्चामा ओली र बालेन अगाडि छन् ।

ओलीको विकासका काम (दमक नमूना सहर, आइटी हब) र बालेनको युवा अपिलले मतदातालाई प्रभावित पार्नेछ । निर्वाचन आयोग र सुरक्षा निकायले तयारी तीव्र पारेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्