बालबिक्रम कार्की
रौतहट, माघ १०
‘धमलाले अब के गर्न बाँकी रह्यो ?,’ सामाजिक सञ्जालमा आइरहेका फोटो र भिडियो हेर्नेहरु धेरैले गर्ने कमेन्ट छन् ‘गर्न बाँकी केही नराख्ने भए ।’ हुन पनि हो, अघिल्ला निर्वाचनहरूमा खासै चर्चामा नआएको रौतहट क्षेत्र नम्बर ४ यसपटक सामाजिक सञ्जालमा एकाएक चर्चामा छ । चर्चामा आउनुको मुख्य कारण हुन् ऋषि धमला । प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेपछि निर्वाचन अवधिसम्मका लागि काठमाडौं छाडेर धमलाको बास रौतहट–४ मा छ ।
गत मंगलबार उम्मेदवारीको मनोनयन दर्ता गरेसँगै धमला गाउँ–गाउँ पुगेर मतदाता भेटिरहेका छन् । तर उनको चुनाव प्रचार शैली अरु उम्मेदवारको जस्तो भाषण र नारामा सीमित छैन । कहिले उनी जेरी पकाउँदै देखिन्छन्, कहिले आराले काठ चिर्दै । कहिले साइकिल हाँक्छन् त कहिले उखु बोकेर पसिना बगाउँछन् । कतै ट्याक्टर चलाउँदै भेटिन्छन् भने कतै गाउँघरको भोजमा भुइँमै बसेर खाना खाइरहेका हुन्छन् ।
मतदाता भेट्ने क्रममा उनी जनताको दुःख सुनेर भावुक बन्छन्, अँगालो हाल्छन् र कहिलेकाहीँ आँसु नै झार्छन् । यस्ता दृश्यहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन् । जे गर्छन्, ती मोबाइलमा कैद गरिन्छन् र तुरुन्तै सामाजिक सञ्जालमा पोस्ट भइरहेका छन् ।
धेरैले यसलाई भोट तान्ने चटकको रूपमा हेरेका छन् भने धमलाले भने आफू मनैदेखि जनताको पीडा बुझेर भावुक बनेको दाबी गर्दै आएका छन् । उनका अनुसार आफूले गरेका काम चुनावी देखावा होइनन्, जनताको भावना बुझ्ने प्रयास मात्र हुन् ।
चन्द्रनिगाहपुर सिटी जेसिसले आयोजना गरेको पदस्थापना कार्यक्रममा नबोलाइकनै पुगेर सहभागिता जनाएपछि उनी फेरि चर्चामा आए । कार्यक्रम स्थलमा पुगेर सहभागीहरूसँग भेटघाट गर्ने र स्टेजमै बसेपछि सामाजिक सञ्जालमा यसबारे पनि चर्चा चल्यो । गाउँघरमा हुने भोजमा भुइँमै बसेर खाना खाने र वृद्धबाट आशीर्वाद लिने जस्ता गतिविधि र दृश्यले पनि मतदातालाई रमाइलो बनाइरहेको छ ।
शुक्रबार धमलाले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत चन्द्रपुर नगरपालिका–३ मा चाँदी नदीमा निर्माणाधीन पुलको निरीक्षण गरे । करिब आठ वर्षदेखि निर्माणीन तर अझै सम्पन्न नभएको पुल आफूले जसरी पनि समयमा बनाउने प्रतिबद्धता उनले जनतासँग गरे । पुल ढिलाइ हुनुमा सबै पक्षको कमजोरी रहेको भन्दै अब आफू आइसकेपछि ठेकेदार, सडक विभागलगायत सबैसँग समन्वय गरेर काम सम्पन्न गराउने दाबी गर्न पछि परेनन् ।
त्यसैगरी चन्द्रपुर–४ मा निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नआएको टेकान बसपार्कका लागि अपुग बजेट तुरुन्त निकासा गराएर एक महिनाभित्र सञ्चालनमा ल्याउने आश्वासन पनि दिन भ्याए । यसका लागि अर्थमन्त्री रामेश्वर खनालसँग कुरा गरिसकेको दाबीसमेत उनले गरे ।
धादिङ जन्मभूमि र काठमाडौं कर्मभूमि बनाएका धमलालाई प्रतिस्पर्धीहरूले ‘टुरिस्ट उम्मेदवार’ को संज्ञा दिन थालेपछि उनले अब रौतहटमै घर किन्ने र बाँकी जीवन यहीँ बिताउने प्रतिबद्धता पनि जनाएका छन् । आफूलाई काम गर्न लाज नलाग्ने र जनताले गर्ने काम नेताले पनि गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको उनको भनाइ छ ।
धमला जहाँ पुग्छन् त्यहाँ स्थानीय फोटो खिच्न झुम्मिन्छन् । धेरै मतदाता उनको गतिविधि हेरेर रमाइलो मानेको बताउँछन् र भोट दिने आश्वासन पनि दिइरहेका छन् । उनका अभिव्यक्ति र गतिविधिले उनी आफू चुनाव जित्नेमा निकै ढुक्क रहेको देखिन्छन् ।
२०७९ को निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका देवप्रसाद तिमिल्सिना दोस्रोपटक विजयी भएका थिए । उनले ३४ हजार १६१ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी एमालेका उद्धवप्रसाद रेग्मीले २६ हजार ५५९ मत ल्याएका थिए । २०७४ मा पनि यही क्षेत्रबाट तिमिल्सिना विजयी भएका थिए । यसपटक भने रौतहट–४ मा चुनावी बहसभन्दा बढी ऋषि धमलाका चटक र शैलीले चर्चा पाएको छ । अब उनका यी गतिविधि मतपेटिकासम्म पुगेर मतमा बदलिन्छन् कि बदलिँदैनन् भन्ने चासो बढ्दै छ ।