नेभिगेशन
राजनीति

नेताहरुको बढ्यो चुनावी सक्रियता

गगन काठमाडौंमै सक्रिय

संवाददाता
काठमाडौं, माघ १० 
प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्तासँगै उम्मेदवारहरुको सक्रियता पनि बढेको छ । आफ्ना क्षेत्रका कार्यकर्ता भेट्ने र उनीहरुलाई आफ्नो पक्षमा पार्न अहिले उम्मेदवारहरु सक्रिय देखिएका छन् । कार्यकर्ता भेटघाट, पार्टी प्रवेश, सानाठुला सभादेखि मतदाताका खेतखलिहानदेखि चुलोचौकासम्म उनीहरु पुगिरहेका छन् । केही उम्मेदवारका क्रियाकलाप सामाजिक सञ्जालमा हाँसोठट्टाको विषय पनि बनिरहेको छ । 

झापा–५ मा उम्मेदवार रहेका एमाले अध्यक्ष केपी शर्मा ओली मनोनयन दर्तापछि क्षेत्रका कार्यकर्ता भेटघाट गरेर शुक्रबार काठमाडौं फर्किएका छन् । कार्यकर्ता भेटघाटका क्रममा उनले आफूले जित्ने दाबी गरेका छन् । तर, यसपटक काठमाडौं महानगरपालिकाका पूर्व मेयर एवम् रास्वपाका वरिष्ठ नेता बालेन शाह ओलीको क्षेत्रमा पुगेर उम्मेदवारी दिएपछि एमालेले चुनौती महसुस गरेको छ । 

शाह प्रधानमन्त्री बनाउने सर्तसहित रास्वपा प्रवेश गरेका हुन् । पार्टीले ‘भावी प्रधानमन्त्री’ का लागि सघाउने सहमतिमा शाह ओलीलाई चुनौती दिन झापा–५ का उम्मेदवार बनेका हुन् । मनोनयन दर्तासँगै केही दिन झापा बसेका बालेन मेची र कोशीका पहाडी जिल्ला घुमेर शनिबार नै काठमाडौं आइपुगेका छन् । 

आफ्ना थरी थरीका फोटो सामाजिक सञ्जालमा पोस्ट र सञ्चारमाध्यममा पठाउन व्यवस्था मिलाएका उनले  सञ्चारकर्मीसँग भने दुरी बनाएका छन् । उनले काठमाडौं आएपछि पनि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएनन् । 

ओली भने शनिबार केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी भए । उनले भाषणमा चुनाव हुनेमै आशंका व्यक्त गरे । ‘अझै पनि भन्न सकिन्न हामी आन्दोलनमा उत्रनुपर्ने हो की चुनावमा सहभागि हुनुपर्ने हो ? अझै पनि भन्न सकिन्न,’ उनले भने ।  काठमाडौं फर्कदा विमानस्थलमा हुने सुरक्षा जाँचप्रति उनी असन्तुष्ट सुनिए । उनले भने, ‘यो सरकार हामीलाई दुःख दिने कामतिर लागिरहेको छ । यो सरकार अराजनीतिक र असभ्य छ ।’

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल पनि आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ताहरुसँग भेटघाट गर्दै शुक्रबार ओखलढुंगा पुगे । उनले त्यहाँ एमालेमा विद्रोह गरेका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराए । प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेका छन् । 

गगन काठमाडौंमै सक्रिय 

नेपाली कांग्रेसले शुक्रबार भावी प्रधानमन्त्रीका रुपमा पार्टी सभापति गगन थपालााई अघि सारेको छ । थापा काठमाडौं–४ छाडेर यसपटक सर्लाही–४ मा उम्मेदवार छन् । वारेसबाट मनोनयन  दर्ता गराएका थापा निर्वाचन क्षेत्र पुगिसकेका छैनन् । उनी आइतबार निर्वाचन क्षेत्र जाने र केही दिन मतदाता भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । 

तर, थापाले काठमाडौंमै चुनावी अभियान पनि थालिसकेका छन् ।  शनिबार एकैदिन उनी काठमाडौंमा सर्लाही–४ का मतदाता भेट्न आयोजित तीनवटा कार्यक्रममा सहभागी भए । 

हजरिया सेवा समाज, कवाडी व्यवसायी संघ र सर्लाहीका विद्यार्थीहरुसँग शनिबार काठमाडौंमै भेटघाट गरे । सो क्रममा उनले यसपटक काठमाडौं–४ मा आफ्ना लागि सहज भए पनि आफूले यसअघि पहाड र शहरको अनुभव भएको भन्दै मधेसको अनुभवसहित राष्ट्रिय नेता हुन सर्लाही रोजेको बताए । ‘मैले यसअघि तीनपटक चुनाव जितिसकेको थिएँ, मलाई काठमाडौंमै सजिलो अवस्था थियोे । मेरो उम्मेदवारी काठमाडौं कि सर्लाही भन्ने कुराको टुंगो नलागेसम्म अरू प्रतिस्पर्धी पार्टीहरूले उम्मेदवार बन्ने मान्छे नै पाएन । म काठमाडौं नलड्ने भनेपछि मात्रै नयाँ होस् वा पुरानो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता भयो,’ थापाले भने । उनले अब संसद्मा मधेसको मुद्दालाई फरक ढंगले उठान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

कांग्रेस सभापति थापा आफ्नो निर्वाचन क्षेत्र गएर केही दिन मतदाता भेट्ने कार्यक्रम तय भइसकेको छ ।  थापा  सर्लाही–४ को प्रतिनिधित्व गर्न उम्मेदवार बनेकाले मधेश र सर्लाहीका मुद्दा अब संघीय संसद् र सिंहदरबारमा नयाँ तरिकाले उठ्ने बताएका छन् । ‘म सर्लाही–४ को प्रतिनिधित्व गर्छु । यहाँको संसद्मा सर्लाहीको विषय उठ्छ । यहाँको सिंहदरबारमा सर्लाहीको विषयमा छलफल हुन्छ । मधेसको विषयमा छलफल हुन्छ । पहिले पनि भएको थियो, नभएको भन्ने होइन । तर फरक ढंगले हुन्छ अब,’ थापाले भने । त्यस्तै, उनले आफूलाई मत दिएकोमा सर्लाही–४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने प्रतिबद्धता पनि जनाए । उनले मधेसमा शिक्षा,स्वास्थ्य र रोजगारीको क्षेत्रमा काम गर्ने आफ्नो योजना पनि सुनाए । 

फागुन २१ आउन अब ३९ दिन बाँकी छ । जति जति निर्वाचनको मिति नजिकिँदै छ उम्मेदवारहरुको सक्रियता पनि बढेको छ । १ सय ६५ निर्वाचन क्षेत्रमै उम्मेदवारहरु मतदाता प्रभावित गर्न घरदैलो, भेटघाटमा सक्रिय देखिएका छन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्