नेभिगेशन
स्वास्थ्य

मन मिल्छ किन कसैसँग झट्टै ?

लण्डन । मानौँ, तपाईं कुनै पार्टी, नेटवर्किङ कार्यक्रम वा कुनै सामाजिक भेलामा हुनुहुन्छ । त्यहाँका केही कुराकानी सामान्य हुन्छन्, केही थकाइलाग्दा हुन्छन् भने केही त निकै पीडादायी पनि हुन सक्छन् । तर कहिलेकाहीँ तपाईंको भाग्य चम्किन्छ र यस्तो व्यक्तिलाई भेट्नुहुन्छ जससँग तपाईं तुरुन्तै एउटा गहिरो सम्बन्ध महसूस हुन्छ ।

ऊसँगको कुराकानी एकदमै सहज लाग्छ । तपाईंले ऊसँगको कुराकानीमा यति मग्न पाउनु हुन्छ कि ऊसँगै ‘हो त नि !’ र ‘एकदम ठीक भन्नुभयो !’ भन्न थाल्नुहुन्छ । यो भेटघाटले तपाईंलाई उत्साह र ऊर्जा दिन्छ । वास्तवमा तपाईं यस्तै अनुभवका लागि नै त्यहाँ जानुभएको महसूस हुनसक्छ । कसैसँग हाम्रो मन तुरुन्तै मिल्ने (क्लिक हुने) र अरूसँग नमिल्ने यो अनौठो प्रक्रियाले शताब्दीयौँदेखि कविहरूलाई लोभ्याउँदै र दुःख दिँदै आएको छ । तर, हालैका वर्षहरूमा वैज्ञानिकहरूले पनि यसमा चासो देखाउन थालेका छन् । ‘बायोमेट्रिक’ र मस्तिष्क स्क्यानिङ प्रविधिको विकासले मानिसहरू सामाजिक हुँदा के हुन्छ भन्नेबारे नयाँ र आश्चर्यजनक तथ्यहरू उजागर गर्न थालेका छन् ।

हाम्रो सामुन्ने रहेको व्यक्तिको चालढाल, बस्ने शैली, अनुहारको हाउभाउ र सङ्केतहरू मात्र पछ्याउँदैनौँ; बरु हामी अनजानमै आफ्नो मुटुको धड्कन, रक्तचाप, आँखाको नानीको आकार र हर्मोनल गतिविधिहरूलाई पनि एक–अर्कासँग एकाकार (सिंक) गर्न थाल्छौं । अर्थपूर्ण कुराकानीका क्रममा मस्तिष्कका तरंगहरू वा स्नायु प्रणालीमा पनि यस्तै तालमेल देखिन्छ । यही क्षण तपाईं र अगाडि उभिएको अर्को व्यक्ति ‘एउटै मनको’ बन्न पुग्नुहुन्छ ।

‘इन्टरपर्सनल सिङ्क्रोनी’

स्नायुवैज्ञानिकहरू यसरी समन्वय हुने शारीरिक र मानसिक गतिविधिलाई ‘इन्टरपर्सनल सिङ्क्रोनी’ भन्छन् । तपाईं यसलाई एक प्रकारको ‘स्पाइडी सेन्स’ (माकुरे बुद्धि) मान्न सक्नुहुन्छ, जसले को मित्र हो र को शत्रु हो अनि को आफूसँग बढी मिल्ने र नमिल्ने व्यक्ति हो भनेर सङ्केत गर्छ ।

नेदरल्याण्ड्सको लिडेन युनिभर्सिटीकी डा. एलिस्का प्रोचाज्कोभा भन्छिन्, ‘हामी यहाँ सामाजिक संसारलाई बुझ्ने एउटा निकै पुरानो, क्रमिक विकासवादी र अलि जीवजन्तु जस्तै तरिकाको बारेमा कुरा गर्दैछौँ ।’ वास्तवमा, हामी सामाजिक परिस्थितिहरूमा एक प्रकारको गहिरो ‘मेथड एक्टिङ’ गर्नकै लागि बनेका हौँ । प्रोचाज्कोभाका अनुसार हामीले सचेत नभईकनै अरूको सूक्ष्म हाउभाउ र जैविक लयलाई पछ्याउँछौँ, जसले गर्दा हामी उनीहरूको विचार र भावनालाई एकाकार महसूस गर्न थाल्छौँ । जब हामी कसैको खुसी देखेर मुस्कुराउँछौँ, हामी उनीहरूको खुसी अनुभव गर्छौँ । कसैको तीव्र मुटुको धड्कन महसूस गर्दा हामी आफैँ पनि आत्तिएको अनुभव गर्छौँ ।

यसको नकारात्मक पक्ष पनि छ । कहिलेकाहीँ हामी अरूको नाटक, क्रोध वा डरमा यति धेरै डुब्छौँ कि आफ्नो र अरूको भावनाबीचको भिन्नता नै बिर्सन्छौँ ।

यसको अर्थ के हो त ?

यो प्रक्रिया अवचेतन र स्वचालित हुने भएकोले, हामीले भेटेका सबैसँग मन मिलेन भने पनि आफूलाई दोष दिनु पर्दैन । सबैप्रति शिष्ट हुनु र मिलेर बस्नु राम्रो कुरा हो तर परिपक्वता भने तपाईं सबैसँग ‘क्लिक’ हुनु भएन वा हुनुहुन्न र हुनुपर्छ भन्ने पनि हुँदैन भन्ने स्वीकार्नुहोस् । यो प्राकृतिक नियम नै हो । त्यसैले जब तपाईंको कसैसँग मन मिल्छ, त्यो विशेष हुन्छ; त्यसलाई ध्यान दिनुहोस् र त्यो सम्बन्धलाई अझ प्रगाढ बनाउनुहोस् । मन मिल्दैन भने, तपाईं यस्ता कुराबाट टाढै बस्नुहोस् ।

धेरैजसो मानिसहरू बानी पररे , सजिलोका लागि वा सामाजिक प्रतिष्ठाका लागि ‘फ्रेनिमी’ (साथीजस्तो देखिने शत्रु) हरूसँग समय बिताउँछन् । उनीहरू आफ्नो मन नमिल्ने अवस्थालाई लुकाउन धेरै रक्सी पिउने वा जोडले हाँस्ने गर्छन् । एमआईटीका अनुसन्धानकर्ता डा. ओलिभर साउन्डर्स वाइल्डर भन्छन्, ‘जब हामी कसैसँग तालमेलमा हुँदैनौँ, हाम्रो मस्तिष्कले गलत अनुमानहरूलाई सच्याउन बढी मिहिनेत गर्ने थाल्छ । यसले गर्दा सामाजिक असजिलोपन महसूस हुन्छ ।’ त्यसैले त्यस्ता कुराकानी थकाइलाग्दा र बोझिला हुन पुग्छन् ।

तालमेललाई कसरी व्यवस्थापन गर्ने?

हामीमध्ये धेरैले ‘सँगै बस्न गाह्रो हुने’ र ‘सँगै बस्न सहज हुने’ मानिसहरू बीचको भिन्नता सजिलै थाहा पाउँछौँ । सहज हुनुको अर्थ तपाईंहरू ‘एउटै वेभलेन्थ’ (तरंग) मा हुनुहुन्छ । कहिलेकाहीँ भने धेरै तालमे ल पनि हानिकारक हुन सक्छ । जस्तै, श्रीमान्/श्रीमतीमध्ये एकजनाको तनावले अर्कोलाई पनि तनाव दिन्छ र दुवै जना रिसको यस्तो उचाइमा पुग्छन् कि पछि कुरा कसरी बिग्रियो भनेर दुवै अलमलमा पर्छन् ।

यस्तो अवस्थामा, तपाईंले अनजानमा अर्को व्यक्तिको रिस वा चिन्तालाई पछ्याइरहनुभएको छ भन्ने कुरा महसूस गर्नु नै मुख्य उपाय हो । यसो गर्न गाह्रो छ किनकि अरूको भावना आफ्नै जस्तो लाग्छ । तर यदि तपाईंले समयमै थाहा पाउनुभयो भने, गहिरो सास फेर्ने, बस्ने तरिका बदल्ने वा अनुहारका मांसपेशीहरूलाई खुकुल्याउने गर्दा त्यो तनावपूर्ण लयलाई परिवर्तन गर्न सकिन्छ । प्रायः यसो गर्दा अर्को व्यक्ति पनि शान्त हुन थाल्छ । कहिलेकाहीँ यस्तो अप्ठेरोका बेलामा झगडा पर्नेबित्तिकै पुरुषले त्यो ठाउँ छोडेर निस्कन्छन् र केहीबेरपछि सामान्य अनुभव हुन थालेपछि फर्कन्छन् ।

मनोचिकित्सक डा. रिचर्ड पालुम्बो पनि तनावपूर्ण कुराकानीका बेला मनमा एउटा ‘म्युट बटन’ भएको कल्पना गर्न सल्लाह दिन्छन् । शब्दहरूमा भन्दा पनि अर्को व्यक्तिको ऊर्जा र उत्तेजनामा ध्यान दिन उनी सुझाउँछन् । उनी भन्छन्, ‘कसैसँग तालमेल हुनु प्राकृतिक मानवीय गुण हो, तर त्यसप्रति सचेत हुनु चाहिँ अलि अप्राकृतिक र चुनौतीपूर्ण कुरा हो ।’

कहिलेकाहीँ आफैँलाई पुनः ताजा बनाउन अरूसँगको सम्पर्क विच्छेद गर्नु आवश्यक हुन्छ । दिगो सम्बन्धहरू तिनै हुन्, जहाँ तपाईं प्रायः तालमेलमा हुनुहुन्छ । ‘जीवनको यो उतारचढावलाई लयबद्ध रूपमा बुझ्नु र अघि बढ्नु नै उत्तम बुद्धिमता हो,’ पालुम्बो भन्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
स्क्रीनभित्रको एक्लोपन

स्क्रीनभित्रको एक्लोपन

संवेदना नै अस्तित्व हाे

संवेदना नै अस्तित्व हाे