काठमाडौं, माघ १२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगेका छन् । सोमबार उनलाई सिमरा विमानस्थलदेखि निर्वाचन क्षेत्रसम्म कार्यकर्ताको ठूलो भीडले स्वागत गर्यो । विमानस्थलबाट निस्कँदै गर्दा कांग्रेस कार्यकर्ताहरूले ‘अब की बार गगन सरकार’ को नारा लगाए ।
यसअघि काठमाडौं–४ बाट निर्वाचन जित्दै आएका थापा सर्लाही जाँदा मधेस प्रदेशमै त्यसको तरंग देखिएको छ । उनलाई कांग्रेसले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा ‘भावी प्रधानमन्त्री’का रुपमा अघि सार्ने निर्णय गरिसकेको छ ।
वारेसमार्फत् सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेपछि थापा सोमबार पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन् । उनी सुरुमा सर्लाही–४ को धनकौलस्थित क्षेत्रीय कार्यालयमा पुगेका थिए । उनले पुगेलगत्तै त्यहाँबाट कार्यकर्ता र मतदातालाई भेटघाट सुरु गरिसकेको उक्त क्षेत्रका कांग्रेस महाधिवेशन प्रतिनिधि रघु कार्कीले जानकारी दिए । ‘यहाँ कार्यकर्ता उत्साहित छन् । सभापति थापाले भेटघाट गर्ने, पार्टी कार्यकर्ताका भनाइ सुन्ने र मतदाता भेटघाट पनि सुरु भयो,’ उनले भने । पार्टी सभापति नै आउँदा कांग्रेस कार्यकर्ताको मनोबल उच्च भएको उनले सुनाए ।
यसअघि माघ १६ गते जनकपुरमा कांग्रेसले चु्नाव लक्षित सभाको तयारी गरेको थियो । तर, निर्वाचन आचारसंहिताको कारण उक्त सभा रोकिएको छ । मधेसको सभालाई सम्बोधन गर्दै निर्वाचन क्षेत्र पस्ने तयारीमा रहेका थापा सभा रोकिएपछि निर्वाचन क्षेत्र पुगेका हुन् । जनकपुरमा पूर्वघोषित मितिमा गर्न नपाएको सभालाई कांग्रेसले फागुन ७ गते गर्न गृहकार्य गरिरहेको छ ।

आफ्नो निर्वाचन क्षेत्रमा रहँदा थापाले विभिन्न स्थानीय तहमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउने तालिका छ । सभापति थापा करिब एक साता मधेसमा रहने र त्यस क्रममा सर्लाहीका अन्य निर्वाचन क्षेत्र र मधेसका अरु जिल्लामा पनि पुग्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिए ।

थापाले सर्लाही–४ का मतदातालाई पहिलोपटक सम्बोधन गर्दै आफू मधेशको सम्मान र बराबर हैसियत बनाउन आएको बताएका छन् । ‘मधेशले सिंगो नेपालभित्र जुन मान, सम्मान, बराबर हैसियत प्राप्त गर्नुपर्ने हो, किन नपाएको होला ? यो प्रश्न मैले धेरैपटक उठाएँ । तर म प्रश्न उठाउन होइन, त्यसको उत्तर खोज्ने गरिकन तपाईंको प्रतिनिधि बन्न यहाँ आएको छु,’ उनले भने ।
.jpg)
‘कांग्रेसको कार्यकर्ता भएको हुनाले गर्दा मधेशले कांग्रेसलाई लगाएको गुन, मधेशले नेपालको प्रजातन्त्रलाई लगाएको गुन, मधेशले सिंगो नेपाललाई लगाएको गुनको बारेमा राम्रोसँग जान्दछु। धेरै पढेर जान्दछु। किनकि म धेरै पछिको मान्छे हुँ । बिपी कोइरालाको बारेमा पढेर जान्दछु। मधेशले दिएको सहिदहरूको बारेमा पढेर जान्दछु।’ उनले पछिल्लो समय कांग्रेसका दिवंगत नेता प्रदीप गिरिबाट मधेशको बारेमा जान्न पाएको बताए ।
.jpg)
थापाले आफ्नो परिवार पहाडबाट काठमाडौं आएकाले पहाड र काठमाडौंमा जन्मेहुर्केको हुनाले गर्दा काठमाडौंबारे जान्ने मौका पाएको बताउँदै भने, ‘मैले एकपटक आफूले आफूलाई मधेशमा गएर समर्पित गर्दिनँ, मधेशमा गएर समाहित गर्दिनँ, मैले जबसम्म आफूले आफूलाई आफूभित्र मधेश र मधेशभित्र आफूलाई लिएर आउने प्रयास गर्दिनँ, तबसम्म म सम्पूर्ण रूपमा नेपाली बन्न सक्दिनँ । त्यस कारणले गर्दा आज म एउटा विश्वासको साथ मधेश झरेको छु।’
.jpg)
केही वर्षअघि हुलाकी मार्गको यात्रा गर्दा नै मधेशको प्रतिनिधित्व गर्ने कोसिस गर्छु भन्ने कुरा मनमा लागेको पनि उनले बताए । मधेशले सिंगो नेपालभित्र पाउनुपर्ने मान र हैसियतका लागि आफ्नो प्रतिबद्धता रहने उनले सुनाए । उनले मधेशको प्रतिनिधित्व गर्न सर्लाही आएको बताए ।
सर्लाही–४ मा डा.अमरेशकुमार सिंहले दुई पटक कांग्रेसबाट र पछिल्लो चुनाव स्वतन्त्र जितेका थिए । उनी यसपटक पनि चुनावी मैदानमा छन्, फरक यति छ उनी यसपटक रास्वपाका उम्मेदवार बनेका छन् । कांग्रेसका थापा र रास्वपाका सिंहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
२०७९ को निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्रको गठबन्धन भए पनि स्वतन्त्र उम्मेदवार सिंह २० हजार १७ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका नागेन्द्रकुमार रायले १८ हजार २ सय ५२ मत मात्र ल्याएका थिए ।
सर्लाही–४ मा थापा र सिंहसहित एमालेबाट अमनिशकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट रजनिस राय, जसपा नेपालबाट रामेश्वर राय यादव, जनमत पार्टीबाट राकेशकुमार मिश्र, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रामचरित्र सहनी, उज्यालो नेपाल पार्टीबाट पीताम्बर कुशवाहा उम्मेदवार छन् । सर्लाही–४ मा मतदाता संख्या १ लाख २१ हजार १२ छ ।