नेभिगेशन
राजनीति

कांग्रेसले १० संकल्पसहितको घोषणापत्र ल्याउने

सुशासन, विकास र व्यावहारिक कार्ययोजना केन्द्रित हुने

काठमाडौं, माघ १३

नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा देश बदल्ने १० संकल्पसहितको घोषणापत्र ल्याउने भएको छ । पार्टी कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले घोषणापत्रबारे जानकारी दिएको हो ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले घोषणापत्र आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने दाबी गरे । उनले त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिने बताए । ‘घोषणापत्रमा स्रोत व्यवस्थापनका उपायहरू पनि समेटिन्छन्,’ उनले भने ।

आगामी निर्वाचनका लागि सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार मानेर कांग्रेसले घोषणापत्र बनाइरहेको छ । घोषणापत्र निर्माणका क्रममा पार्टीले जिल्ला–जिल्लाबाट सुझाव संकलन गरिरहेको पनि चालिसेले जानकारी दिए । स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरेर राष्ट्रिय आवश्यकतासँग जोडिने उनले बताएका छन् ।

राजनीतिक दलका घोषणपत्र हावादारी कल्पनामा केन्द्रीत भएको र सपनाको खेती मात्रै गरेको आरोप लागिरहँदा प्रवक्ता चालिसेले कांग्रेसले गर्न सक्ने क्षमता, व्यावहारिकता र कार्यान्वयनयोग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउने दाबी गरे । ‘यो घोषणापत्रले हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गर्नेछ,’ उनले भने ।

उनले कांग्रेसको घोषणापत्रले वर्तमान चुनौती र भविष्यको दिशालाई एकैसाथ सम्बोधन गर्दै विश्वासयोग्य विकल्प प्रस्तुत गर्नेछ । पार्टीले घोषणापत्रमार्फत् स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका जनतासामु राख्ने तयारी गरेको छ ।

जेनजी विद्रोहको मर्मअनुसार एजेण्डा र अनुहार बदल्दै जनतामाझ जानुपर्ने अवस्थामा कांग्रेस एमालेका तुलनामा केही सहज अवस्थामा भए पनि आन्तरिक कलह साम्य भइसकेको छैन । सभापति गगन थापालाई पार्टी कार्यालयमा पदस्थापनको बाटो खोलिदिएको पूर्वसभापति शेरबहादुर देउवा पक्षले अदालतमा दायर रिट फिर्ता लिएको छैन । शीर्ष तहका एकथरि नेताहरूलाई यसपटक चुनावको टिकटमा रोकेर नयाँ कार्यसमितिले ठूलो साहस देखाए पनि व्यवस्थापन सहज छैन । विगतमा एमाले र माओवादीसँग गठबन्धन गर्दै चुनावमा जाने गरेको कांग्रेस यसपटक आफ्नै ल्याकतमा चुनावी मैदानमा छ । तर, यसपटक नयाँ दलको लहर उठेको अवस्था भएकाले पाइला पाइलामा प्रष्टीकरण दिइरहनु परेको छ । पार्टी सभापति गगन थापा नयाँ सन्देशसहित सर्लाही–४ झरेका छन् ।

यही बेला पार्टीलाई विगतभन्दा पुरा गर्न सकिने वाचासहितको घोषणापत्र ल्याउनुपर्ने दबाब छ । नेताहरू आन्तरिक गृहकार्यमा रहेको पार्टीले जनाएको छ ।

फागुन ७ मा जनकपुरमा सभा गर्ने

कांग्रेसले चुनावी प्रचारका क्रममा व्यक्तिगत जीवनमा प्रवेश नगर्ने र मानव स्वतन्त्रताको सम्मान गर्ने नीति लिएको छ । चुनावको दौरान पार्टीका नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गर्ने पत्रकार सम्मेलनमा बताइएको छ । प्रचार शैलीलाई मितव्ययी, प्रभावकारी र आधुनिक बनाउने नीति अपनाइएको कांग्रेसले बताएको छ ।

त्यस्तै, कांग्रेसले फागुन ७ गते जनकपुरधाममा विशेष सभाको आयोजना गर्ने भएको छ । केन्द्रीय स्तरको आमसभा अन्य क्षेत्रमा क्रमशः आयोजना गरिने बताइएको छ । त्यस्तै, राजनीतिक, वैचारिक, नीतिगत तथा समसामयिक विषयमा प्रत्येक दुई दिनमा डबली संवाद कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्