नेभिगेशन
राजनीति

नेता चुनावमा, एकता अपरेसनको प्रतीक्षामा

उनको खबर सोध्न, सहानुभूति र ढाडस दिन न कुनै जेनजी अगुवा पुगे, न त प्रधानमन्त्री, सांसद बन्ने दौडमा रहेका नेता नै

काठमाडौं, माघ १२

मनोनयन दर्ता भएर देशभर चुनावी माहोल छ । फागुन २१ को निर्वाचनलाई दल र उम्मेदवारहरू आआफ्नो रणनीति बनाउन व्यस्त छन् । मंगलबार १८ वर्ष पुगेकी भक्तपुरकी एकता साहलाई भने यस्ता कुराले छोएको छैन । उनी र उनीजस्तै युवापुस्ताको आवाजले गर्दा मुलुक ताजा जनादेश लिनुपर्ने अवस्थामा आएको हो ।

१२ सकेकी एकताको लक्ष्य हो चिकित्सक बन्ने । भदौ २३ को प्रदर्शनमा बानेश्वरमा उनी सहभागी थिइन् । खुट्टामा गोली लागेको थियो । चार महिना बित्यो, अहिले अलिअलि हिँड्न सक्छिन् तर खुट्टा ठीक हुने–नहुने अझै यकिन छैन । अझै अपरेसन बाँकी छ ।

जेनजीको प्रदर्शनले मुलुकको राजनीतिक गति मोडिदियो । तर, गोली लागेर घाइते एकतालाई भेट्न कोही पुगेका छैनन् । उनको खबर सोध्न, सहानुभूति र ढाडस दिन न कुनै जेनजी अगुवा पुगे, न त प्रधानमन्त्री, सांसद बन्ने दौडमा रहेका नेता नै । सबैको एजेण्डा देश बनाउने छ । तर गोली लागेकी उनलाई कसैले सोध्न आएको छैन – तिम्रो स्वास्थ्य कस्तो छ ?

‘अब त टुपी कसेर पढ्ने हो – आइ लभ स्टडी –आइ क्यान डु डिस,’ एकता साहको कोठाभरी यस्तै सन्देश टाँसिएका छन् । पढ्न निकै रुचाउने उनले हातैले विभिन्न चित्रसहित शब्द कोरेर कोठा सजाएकी हुन् । तर, यही स्टडी रूममा एकता नपुगेको करिब ५ महिना हुन लाग्यो ।

कोठामा उनका किताबहरू छरपष्ट छन् । भित्तामा गणितका फर्मुला र विज्ञानका महत्वपूर्ण कुरा स्टीकी नोटमा लेखेर टाँसिएको छ । विद्यार्थी हुँदा उनी जहिलै अब्बल, किताबी शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि उनको मन लाग्ने, त्यसैले कोठाभरी उनले पाएका पुरस्कारहरू सजिएका छन् । कोठामै झुण्डिएको छ उनी पढेको सैनिक आवासीय महाविद्यालयको क्यालेण्डर पनि । कक्षा १२ उत्तीर्ण भएर उनले ‘ए प्लस’ ल्याएकी थिइन् । सोही क्यालेण्डरमा उनले त्यही पल सम्झिएर लेखेकी थिइन् – थ्यांक यु युनिभर्स ! अस्पतालको लामो बसाइपछि खुट्टामा चोट लिएर घर पुगेकी उनी निराश भने छैनन् । छुट्टै आत्मविश्वास छ । त्यसैले त हिँड्न नसक्ने अवस्थामा पनि उनले मनोबल बढाइन्, चिकित्सक बन्न पार गर्नुपर्ने सीईई परीक्षामा सहभागी भइन् र नामसमेत निकालिन् ।

आमा बुनु शाहीले विज्ञान विषयका पुस्तक र नोट छोरीको खाटसँगै राखिदिएकी छन् । तर, एकतालाई अब पहिलाझैं ती किताबमा मन छैन ।

एकतालाई लाग्दो हो, ‘खै यो खुट्टा ठिक हुने हो कि होइन ।’ यस्तै प्रश्नले होला सायद एकताले तय गरेको शैक्षिक शिखर हासिल गर्न उनलाई अप्ठेरो लागिरहेको छ । बुनुले छोरीको हिम्मत बढाउँदैछिन् ।

तत्कालीन सरकारले केही सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएसँगै सूचनाको सहारा बनेको थियो टिकटक । त्यही टिकटकमा भदौ २३ गते बानेश्वरमा भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्ने सूचना फैलियो । टिकटकभर नेपोबेबी ट्रेण्ड थियो । तिनै भिडियोले एकतालाई पनि बानेश्वरमा हुने प्रदर्शनमा जाऊँ–जाऊँ बनायो । उक्त दिन उनी कलेज ड्रेसमै त्यहाँ पुगेकी थिइन् ।

(नेपाल फोटो लाइब्रेरी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्