काठमाडौं, माघ १४
महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ बाट लगातार दुईपटक प्रतिनिधिसभा सदस्य बनेका ८३ वर्षीय महन्थ ठाकुर यसपटक प्रत्यक्षतर्फ उम्मेदवार बनेनन् । प्रत्यक्षतर्फ उठ्ने मन नगर्नुको कारण राजनीति छाड्न भने होइन । उनी यसपालि राष्ट्रियसभा सदस्य निर्वाचित भए ।
ठाकुर राष्ट्रियसभामा उम्मेदवार बनेपछि कांग्रेस र एमालेले मधेश प्रदेशको खुला समूहमा आफ्ना उम्मेदवार नउठाई उनको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग गठबन्धन गरी उनलाई समर्थन गरेका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि ठाकुरलाई समर्थन जनायो । त्यसबेला लोसपा र जसपा नेपालबीच एकीकरण गर्ने समझदारी भइसकेको थियो । राष्ट्रियसभा निर्वाचनमा जसपा नेपालले अन्य समूहमा उम्मेदवार खडा गर्दा गठबन्धन संकटमा पर्न सक्ने अवस्था आए पनि एकीकरण समझदारीमा हस्ताक्षर भएकै दिन जसपा नेपालले आफ्ना उम्मेदवार निष्क्रिय गरेपछि ठाकुर सहजै निर्वाचित भए ।

ठाकुर राष्ट्रियसभातर्फ गएपछि महोत्तरी–३ मा जसपा नेपालबाट उम्मेदवार चयनको प्रक्रिया सुरु भयो । महासचिव रामकुमार शर्मा, हरिनारायण यादव र कृष्णशंकर साहको नाम जिल्लाले सिफारिस गरेको थियो । तीमध्ये २०७९ को निर्वाचनमा ठाकुरसँग निकट प्रतिस्पर्धा गरेका हरिनारायण यादवलाई मुख्य दाबेदार मानिएको थियो । उक्त निर्वाचनमा लोसपाका ठाकुरले १६ हजार ३७५ मत ल्याउँदा जसपाका हरिनारायणले १४ हजार ३२५ मत प्राप्त गरेका थिए । यसपटक निर्वाचनको संघारमा महन्थ–उपेन्द्रले पार्टी एकीकरण गरे । महन्थले छोरीलाई टिकट दिँदा जसपामा विद्रोह तर, जसपाका संरक्षक बनेका ठाकुरले जिल्लाको सिफारिस बेवास्ता गर्दै आफ्नै छोरी डा. मीनाक्षी ठाकुरलाई टिकट दिलाए । यस निर्णयसँगै जसपा नेपाल महोत्तरीमा विद्रोह चर्किएको छ । मधेशी जनअधिकार फोरमको स्थापनाकालदेखि सक्रिय रहेका हरिनारायण यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले उम्मेदवारी फिर्ता गराउन प्रयास गरे पनि उनी तयार भएनन् ।
हरिनारायणले पार्टीमा योगदान नगरेकी व्यक्तिलाई टिकट दिइएकाले आफू स्वतन्त्र उम्मेदवार बन्न बाध्य भएको बताएका छन । ‘महन्थ ठाकुरलाई नेता मानेँ, तर उहाँकी छोरीलाई पनि मान्नुपर्ने ? त्यसैले विद्रोह गरेँ,’ उनको भनाइ छ । यसले महोत्तरी–३ मा जसपा कार्यकर्ता विभाजित भएका छन । एकीकरणअघि जसपा नेपालमा रहेका कार्यकर्ता हरिनारायणको पक्षमा देखिएका छन् भने लोसपाबाट आएका कार्यकर्ता मीनाक्षीको समर्थनमा उभिएका छन ।
यसबीच ठाकुरमाथि परिवारवादको आरोप लागिरहेको छ । उनले भने आफू युवा पुस्ताको प्रतिनिधित्व गराउन छोरीलाई उम्मेदवार बनाइएको दाबी गर्दै परिवारवादको आरोप अस्वीकार गरेका छन । हरिनारायणको विद्रोहलाई उनले ‘स्वाभाविक’ बताउँदै राजनीतिमा पुराना जाने र नयाँ आउने नियम रहेको टिप्पणी गरेका छन् ।
महन्थले कांग्रेसबाट राजनीति सुरु गरेका हुन् । मधेस आन्दोलनका बेला कांग्रेस छोडेर तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरेका थिए । त्यागी नेताको छवि बनाएका ठाकुर पछिल्लो समय परिवार केन्द्रित निर्णयका कारण आलोचनामा परेका छन् । फागुन २१ गते हुने निर्वाचनमा महोत्तरी–३ मा कांग्रेसले पनि आफ्ना पुराना नेता बजरंग नेपालीलाई उम्मेदवार बनाएको छ । नेकपाबाट राजकिशोर साह, रास्वपाबाट उज्ज्वलकुमार झा, राप्रपाबाट राजेश्वर राय उम्मेदवार छन् ।