काठमाडौं । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको पहिलो १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय तथा विभिन्न संस्थालाई गरी २१ वटा स्पष्टीकरण सोधेको छ । तीमध्ये हालसम्म आठ वटाको मात्र जवाफ पाएको छ । आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसका अनुसार माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू भएयता १५ गतेसम्म सोधिएका स्पष्टीकरणमा आधाभन्दा बढीको जवाफ आउन बाँकी नै छ । केही प्राप्त जवाफको अध्ययन भइरहेको छ ।
आयोगले काठमाडौं निर्वाचन क्षेत्र नं ४ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डा. सुरेन्द्र भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई माघ ७ गते स्पष्टीकरण सोधेको थियो । कार्कीले जवाफ पेस गर पनि भण्डारीले अहिलेसम्म जवाफ दिएका छैनन् । भण्डारीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (च) अनुसार स्पष्टीकरण सोधिएको हो । उक्त दफामा ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अपांगता भएका व्यक्तिको भावना र मर्यादामा आँच आउने वा चरित्र हत्या हुने गरी प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ ।
त्यसैगरी मुख्यमन्त्री कार्कीलाई दफा ५ को खण्ड (क) अनुसार स्पष्टीकरण सोधिएको हो । दफा ५ मा सरकार, मन्त्री तथा कार्यपालिकाका पदाधिकारीले कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाइने स्पष्ट व्यवस्था छ । मुख्यमन्त्री कार्कीको जवाफ अध्ययन भइरहेको छ । दोलखा–१ का रास्वपाका उम्मेदवार जगदीश खरेललाई माघ ८ मा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ अन्तर्गत स्पष्टीकरण सोधिएको थियो । खरेलले गल्ती स्वीकार्दै सुधार गर्ने प्रतिबद्धता जनाएपछि आयोगले सचेत मात्र गराएको श्रीसले उल्लेख गरिन् ।
आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई माघ ८ गते एन्फा अर्डिनरी कंग्रेसको निर्वाचन आयोजनाबार दुई दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । एन्फाले अहिलेसम्म जवाफ बुझाएको छैन । यही विषयमा राष्ट्रिय खेलकुद परिषद्लाई पनि स्पष्टीकरण सोधिएको थियो । परिषद्ले पनि जवाफ दिएको छैन ।
जाजरकोटमा नेकपाका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई माघ ९ गते दफा १३ अनुसार स्पष्टीकरण सोधेको थियो । उनले बुझाएको जवाफमाथि अध्ययन भइरहेको आयोगले जनाएको छ । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीलाई पनि माघ ९ गते दफा ५ को खण्ड (क) अनुसार स्पष्टीकरण सोधिएको थियो । मन्सुरीले जवाफ दिएका छैनन् ।
त्यस्तै, ओखलढुंगामा रास्वपाका उम्मेदवार विश्वराज पोखरेललाई माघ १० गते दफा १३ अनुसार स्पष्टीकरण सोधेको थियो । उनको जवाफमाथि अध्ययन भइरहेको छ । भक्तपुर–२ मा नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकलाई सामाजिक सञ्जालमार्फत गाली, भ्रामक र मानहानीजन्य सामग्री प्रसारण गरेको आरोपमा दफा ४ को खण्ड (ञ) र (ण) अनुसार स्पष्टीकरण सोधिएको छ । उनले पेस गरेको श्रीसले बताइन् । श्रम संस्कृति पार्टीलाई बालबालिका प्रयोग गरी दलको लोगो र उम्मेदवारको तस्बिर अंकित टिसर्ट लगाएको विषयमा दफा १३ को उल्लंघन भएको हो वा होइन भनी स्पष्टीकरण सोधिएको छ । पार्टीले जवाफ पेस गरेपछि अध्ययन भइरहेको आयोगले जनाएको छ । जनसेवा पार्टीकै रुपन्देही–२ का उम्मेदवार कमल भुसाल (डा. निकोलस) लाई सामाजिक सञ्जालमा भाइरल भएको जुत्ताको प्रयोग निर्वाचन प्रचारमा गरिएको हो वा होइन भनी स्पष्टीकरण सोधिएको थियो । भुसालले जवाफ पेस गरिसकेको आयोगले जनाएको छ ।