वाशिङ्टन डिसी, माघ १६
संयुक्त राज्य अमेरिकामा बसोबास गरिरहेका नेपालीहरूले गलत विवरण पेस गरी सरकारी सहुलियत लिएको पाइएमा उनीहरूको भिसा र ग्रिनकार्ड रद्द हुन सक्ने भन्दै नेपाली राजदूतावासले गम्भीर सचेत गराएको छ। बिहीबार एक सार्वजनिक अपिल जारी गर्दै दूतावासले सबै नेपाली नागरिकलाई अमेरिकी कानून र विधिको पूर्ण पालना गर्न आग्रह गरेको हो ।
दूतावासका अनुसार अमेरिकी सरकारले आफ्ना न्यून आय भएका नागरिकका लागि उपलब्ध गराउने स्वास्थ्योपचार (मेडिकेड), आवास (सेक्सन ८), परिवार सहायता र शैक्षिक सहायताजस्ता सुविधाहरू नेपालीहरूले अवैधानिक तवरले प्रयोग गरिरहेका थिए । सोको उजुरीहरू अमेरिकी सरकारले पाएपछि त्यसमा कडाइ गरिरहेको छ । विशेष गरी सन् २०२४ मा अमेरिकी सरकारको यस्तो सहुलियत लिने विदेशीहरूको सूचीमा नेपाली नागरिकहरू माथिल्लो स्थानमा देखिएका थिए । पछि अमेरिकी अधिकारीहरूले यसबारे नेपाली दूतावासको ध्यानाकर्षणसमेत गराएका थिए ।
यसै कारणले गर्दा अमेरिकाले नेपालीका लागि केही आप्रवासी भिसा प्रक्रियामा समेत कडाइ गरेको छ । यो कडाइसँगै अमेरिकास्थित नेपाली दूतावासले सार्वजनिक सूचना नै जारी गरेर नेपालीहरूलाई स्मरण गराएको छ ।
विशेष गरी व्यापारिक तथा पर्यटकीय प्रयोजनका लागि दिइने ‘बी १’ र ‘बी २’ भिसामा अमेरिका पुगेका नेपालीहरूले सो भिसाको दुरुपयोग गरिरहेको पाइएको छ । ‘गलत विवरण पेस गरी वा तथ्य लुकाएर सरकारी सहायतामा निर्भर भएको पाइएमा त्यस्ता व्यक्तिको कानूनी हैसियत सोझै असर पर्ने र रद्द समेत हुने जानकारी अमेरिकी अधिकारीहरूबाट प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो समय अमेरिकाले विभिन्न श्रेणीका भिसामा प्रावधानहरू कडा बनाउँदै लगेको सन्दर्भमा दूतावासले आवास, स्वास्थ्य वा शिक्षा सम्बन्धी कुनै पनि फर्म भर्दा गलत सूचना वा विवरण पेस नगर्न, अमेरिकी सरकारको सहायतामा आश्रित नहुन सचेत गराएको छ । यसले भविष्यमा ग्रिनकार्ड प्राप्त गर्न बाधा पुर्याउँछ। यसैगरी जुन उद्देश्यका लागि भिसा लिइएको हो, सोहीअनुसार मात्र गतिविधि गर्न र कानूनको उल्लंघन नगर्न नेपालीहरूलाई नेपाली दूतावासले अपिल गरेको छ ।
नेपालीहरूको यस्तो गतिविधिका कारण भविष्यमा अमेरिका आउन चाहने अन्य नेपालीहरूले समेत कठोर भिसा प्रक्रियाको सामना गर्नुपर्ने र देशकै छविमा समेत नकारात्मक असर पर्ने देखिएको विज्ञहरूको विश्लेषण छ ।