काठमाडौं, माघ १८
प्रतिनिधिसभाको निर्वाचन आउन एक महिना बाँकी रहँदा राजनीतिक दलहरूले अझै घोषणापत्र लेखिसकेका छैनन् । तर, उनीहरू घोषणापत्रविना नै मतदातासँग मत मागिरहेका छन् । गत माघ ६ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरू अहिले घरदैलोदेखि मतदाता भेटघाटमा व्यस्त छन् । तर, उनीहरूसँग अहिलेसम्म हातमा घोषणापत्र छैन ।
कांग्रेसमा गगनको सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी बालेनको सरकारको मुख्य नारासहित चुनावी मैदानमा छ । एमाले भदौ २३ र २४ को घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै त्यसमा ‘अन्तर्राष्ट्रिय खेल’ रहेको भन्दै तीनलाई चिनेर मतदान गर्न अपील गरिरहेको छ । राष्ट्रिय प्रजातन्त्र हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाकै मुद्दामा केन्द्रित छ । अहिले उनीहरूका घरदैलो र मतदाता भेटघाटमा यिनै विषयले प्रधानता पाइरहेका छन् ।
दलहरू घोषणापत्र लेखनमा पनि लागिरहेका छन् । तर, घोषणापत्र लेख्न संयोजक तोकिएकाहरू नै चुनावी क्षेत्रमा व्यस्त रहँदा पनि घोषणापत्र लेखन ढिलाइ भइरहेको दलहरू बताउँछन् । कांग्रेसले सभापति गगन थापा, एमालेले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभाापति स्वर्णिम वाग्ले र राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा घोषणापत्र तयार गरिररहेका छन् । घोषणापत्र तयारी समितिका यी दलका सबै प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचनमा उम्मेदवार छन् । उनीहरू पनि घोषणापत्रविनै मत मागिरहेका छन् ।
राजनीतिक मामलाका जानकारहरू भने घोषणापत्र विना मत माग्नु गैरजिम्मेवार तरिका भएको बताउँछन् । ‘निर्वाचनलाई जुवाको खाल बनाउनु हुँदैन । यसको मूल्य–मान्यता हुन्छ, हुनुपर्छ । सबै राजनीतिक दलहरूले मुलुकको वर्तमान जटिल विषयवस्तुहरूमा आफ्नो दृष्टिकोण के छ, त्यसको समाधान कसरी खोज्दैछन् भन्ने स्पष्ट गर्नुपर्छ,’ संविधानविद् एवम् वरिष्ठ अधिवक्ता डा. विपिन अधिकारी भन्छन्, ‘घोषणापत्रविना भोट माग्नु र भोट हाल्नु दुवै गैरजिम्मेवार तरिका हो । यसबाट प्रजातन्त्र र राष्ट्रवाद दुवैको दोहोलो हुने निश्चित छ ।’
दलहरूका आ–आफ्नै प्राथमिकता
कांग्रेसले सभापति गगन थापाको नेतृत्वमा घोषणापत्र लेखिरहेको छ । विभिन्न विषयगत क्षेत्रका विज्ञहरू र पार्टीका नेता, कार्यकर्ताको सुझाव समेटेर घोषणापत्र लख्ने काम भइरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । घोषणापत्र माघ अन्तिम साता सार्वजनिक गर्ने कांग्रेसको गृहकार्य छ । भिजन–१० मा केन्द्रित रहेर कांग्रेसले लेख्ने घोषणापत्रमा आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिने छ । हाल घोषणापत्र निर्माणका क्रममा पार्टीले जिल्ला–जिल्लाबाट सुझाव संकलन गरिरहेको चालिसेले जानकारी दिए । स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरेर राष्ट्रिय आवश्यकतासँग जोडिने उनले बताए ।
उनले भने, ‘कांग्रेसले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयन योग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ । यो घोषणापत्रले हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गर्नेछ ।’ उनकाअनुसार पार्टीले सुशासन र विकासलाई प्राथमिकतामा राखेको छ ।
मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यावहारिक कार्ययोजनालाई मुख्य आधार बनाएर घोषणापत्र तयार गर्ने कांग्रेसले जनाएको छ । स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका आउने घोषणापत्र पहिलेको जस्तो लामो हुने छैन ।
त्यस्तै एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र तयार गरिरहेको छ । फागुन पहिलो साताभित्रमा घोषणा पत्र सार्वजनिक गर्ने तयारी छ । घोषणापत्र लेखन समितिमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुजी पन्त, ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।
उक्त समितिले अहिले विषयविज्ञहरूसँग नियमित छलफल गरिरहेको छ । एमालेले घोषणापत्रमा ५ वर्षभित्र पूरा गर्न सकिने कामलाई प्राथमिकता दिने भएको छ । जनताका अपेक्षा रोजगारी, स्वास्थ्य, प्रदूषणमुक्त वातावरण, ट्राफिक व्यवस्थापन, गुणस्तरीय शिक्षा र उद्यमशीलतामा केन्द्रित भएको भन्दै ती विषय घोषणापत्रमा समेटिने सचिव राजन भट्टराईले बताए । यसअघि निकै महत्वाकांक्षी घोषणापत्र बनाउने गरेको आरोप खेपिरहेको एमाले यसपटक त्यसमा सचेत देखिएको छ । घोषणापत्रमा आधारभूत रूपमा पूर्वाधार निर्माण, आर्थिक विकास, समृद्धिको आगामी मार्गचित्र, सामाजिक सुरक्षा, कृषि क्षेत्रको उन्नयन र समयानुकूल विकास, रोजगारी सिर्जना, आय विस्तार, ऊर्जा–जलस्रोतमार्फत् मुलुकको सामथ्र्य वृद्धि, राजनीतिक स्थायित्व, मर्यादित रोजगारी, युवा उद्यमशीलता, जेनजी आन्दोलनको भावना समुचित सम्बोधन लगायत विषय समेट्ने तयारी छ । घोषणापत्रमार्फत् नयाँ पुस्ताको भावनाको पनि सम्बोधन गर्ने ठोस योजना ल्याउने तयारी छ ।
नेपाली कम्युनिष्ट पाटी (नेकपा) ले नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय घोषणापत्र लेखन कमिटी बनाएको छ । उक्त समितिले एक महिनादेखि घोषणापत्र लेखनमा काम गरिरहेको छ । नेकपाले त्यसमा १० वटा कार्यविभाजन गरी नेताहरूलाई जिम्मा दिएको छ । राजनीतिक भागको मस्यौदा प्रमेश हमाल, राजेन्द्रप्रसाद श्रेष्ठ, देव गुरूङ र शक्ति बस्नेतले तयार गर्नेछन् भने सुशासन, प्रशासन सुधार र महिला हकहितका लागि पम्फा भुसाल, शिक्षा स्वास्थ्यतर्फ गिरिराजमणि पोखरेल र शक्ति बस्नेत, संघीयता, समावेशीकरण, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू, र सीमान्तकृत समुदायको हकहितबारे योजना तयार पार्न परशुराम तामाङलाई जिम्मेवारी तोकिएको छ ।
भूमि, किसान र सुकुम्बासीको क्षेत्रमा योजना बनाउन बलराम बाँस्कोटा, नहेन्द्र खड्का र डा. भीमा ढुंगानालाई र मजदुरबारे प्रेमल खनाल र जय कार्की, उद्योग, पर्यटन र रोजगारीबारे सुवास काफ्ले, परराष्ट्र नीति, डिजिटल नेपाल अभियानबारे युवानाथ लम्साल र विकास ढकाललाई जिम्मेवारी तोकिएको छ ।
महिला र सामाजिक सुरक्षाबारे दुर्गा न्यौपाने भट्टराईले मस्यौदा लेखनको जिम्मा पाएकी छन् ।
संयोजनको जिम्मेवारी योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका मीनबहादुर श्रेष्ठ र अर्थमामलाका जानकार मानिने डीपी ढकाललाई दिइएको छ ।
ट्रेड युनियनका जानकार, अर्थ, योजना, शिक्षा, प्रशासन, राष्ट्रिय राजनीति र कूटनीति, कृषि, स्वास्थ्य क्षेत्रका विज्ञ तथा जानकारहरू घोषणापत्र लेखनमा खटिएको कमिटीका सदस्य रहेको नेकपा नेता जयबहादुर कार्कीले जानकारी दिए ।
नेकपाले घोषणापत्र लामो नहुने जनाएको छ । तिलस्मी योजनाभन्दा समय सान्दर्भिक र भुइँ टेक्ने घोषणा पत्र ल्याउने तयारी छ । घोषणापत्रमा रोजगारी वृद्धिलाई पनि विशेष प्राथमिकता दिने तयारी छ । शिक्षा र स्वास्थ्यलाई सकेसम्म निःशुल्क र कम्तीमा सहुलियतपूर्ण बनाउने योजना समेटिने बताइएको छ । घोषणापत्रले भदौ २३/२४ मा भएको जेनजी आन्दोलनलाई सम्बोधन गर्ने र विशेषगरी भ्रष्टाचारविरूद्धको अभियानलाई निष्कर्षमा पुर्याउने लक्ष्य लिने समितिका एक सदस्यले जानकारी दिए ।
रास्वपा के लेख्दैछ ?
राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति वाग्लेको नेतृत्वमा घोषणापत्र लेखिरहेको छ । आगामी फागुन पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने उसको तयारी छ । तनहुँ–१ मा उम्मेदवार रहेका वाग्लेलाई रास्वपाले भावी अर्थमन्त्रीका रुपमा समेत अघि सारेको छ । सभापति रवि लामिछानेले वाग्लेलाई भावी अर्थमन्त्री भन्दै केही दिनअघि आगामी वर्षको बजेटको तयारी गर्न सार्वजनिक रुपमै आह्वान गरेका थिए ।
उनै वाग्लेको नेतृत्वमा रास्वपाले विज्ञहरूसँग परामर्श सम्पन्न गरि त्यसलाई लिपिबद्ध गर्ने काम गरिररहेको कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन् । रास्वपाले घोषणापत्रलाई वाचापत्र भन्ने गरेको छ । वाचापत्र मस्यौदा कार्यदलमा उपसभापति वाग्ले, केन्द्रीय सदस्य अरनिको पाँडे, सोबिता गौतम, क्रान्तिशिखा धिताल लगायत छन् ।
कार्यदलले मुख्य रूपमा पाँच वटा विषयमा काम गरिरहेको छ । जेनजी आन्दोलनको भावनाको सम्बोधनका लागि जेनजी र सरकारबीच भएको सम्झौताको अक्षरशः सम्बोधनका लागि वाचापत्र प्रतिबद्ध रहने बताइएको छ । भ्रष्टाचार न्यूनीकरण र सुशासन , गतिशील अर्थतन्त्र, निजी क्षेत्रले व्यहोर्दै आएका समस्या समाधान, पूर्वाधार विकास र दिगो व्यवस्थापन, सडक पूर्वाधार, ऊर्जा, सिँचाइ, जलस्रोत लगायत क्षेत्रको विकमा जोड दिइने अधिकारीले बताइन् ।
त्यस्तै, रास्वपाले सरकार निर्माणपछि सय दिनमा गर्ने सय कामको सूची पनि वाचापत्रमा लेख्ने तयारी गरेको छ । राप्रपाको पुरानै मुद्दा
राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा घोषणापत्र लेखिरहेको छ । घोषणपत्र अन्तिम चरणमा रहेको र केही दिनमै सार्वजनिक गरिने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
पार्टीले उठान गर्दै आएका पुरानै एजेन्डाहरूलाई राप्रपाले घोषणापत्रमा समेट्दै छ । प्रवक्ता श्रेष्ठका अनुसार अभिभावकीय संस्थाका रूपमा राजसंस्था, हिन्दुराष्ट्र, प्रदेश संरचना खारेजी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लगायतका एजेन्डा प्राथमिकतामा पर्नेछन् । त्यस्तै, सामाजिक, आर्थिक रूपान्तरणका एजेन्डा पनि समेट्ने तयारी छ । ‘गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विकल्पमा देशलाई अघि बढाउने मार्गचित्र पनि घोषणा पत्रमा हुनेछ,’ श्रेष्ठले भने । राप्रपा संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा संवेधानिक राजसंस्थासहित सनातन हिन्दु राष्ट्र पक्षधर दल हो ।
मधेसवादी दलहरू पनि घोषणापत्र तयारीमा जुटेका छन् । उपेन्द्र यादव र महन्थ ठाकुरको जसपा नेपालले मधेसको मुद्दालाई केन्द्रमा राखेर घोषणापत्र ल्याउने भएको छ ।