प्रख्यात गायिकाद्वय तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारहरूले उनीहरूका विख्यात गीत गाएर सम्झिएका छन् । स्वर किन्नरी उपनामले चिनिने तारादेवी र स्वर साम्राज्ञीका रुपमा परिचित अरुणा लामाप्रति समर्पित ‘तारादेवी–अरुणा लामा स्मृति श्रष्टा साँझ’ कार्यक्रममा पोखरेली कलाकारहरूले ट्रिब्यूट दिएका हुन् । पोखरेली महिला कलाकारहरूको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जद्वारा संयुक्त रुपमा शुक्रबार साँझ आयोजित कार्यक्रममा हार्मोनीमा आबद्ध कलाकारहरूले तारादेवी–अरुणा लामाका एक दर्जन कालजयी गीतहरू गुञ्जाउँदै सम्झिए ।
पोखरा महानगरपालिकाको प्रवर्द्धनमा आयोजित श्रष्टा स्मृति साँझमा हार्मोनीका कलाकारहरूले सामुहिक बन्दना र त्यसलगत्तै लगातार तारादेवी र अरुणा लामाका कालजयी गीतहरू ‘शुभकामना भरी’, ‘उकाली ओरालीहरूमा’, ‘पोहोर साल’, ‘एक फूल झरेर के भो ?’, ‘ए कान्छा ठट्टैमा’, ‘हेर न हेर कान्छा’, ‘फूललाई सोंधे’ गुञ्जाउँदै स्वर किन्नरी द्वयलाई श्रद्धाञ्जली अर्पण गर्दै गुञ्जाएपछि कार्यक्रम शुरु भएको थियो । त्यसपछि पालैपालो स्टेजमा उक्लिएका गायीकाहरू ईतु जोजिजु, शितल थापा, कौशल्या गुरुङ, रजनी ऋदम राई, लक्ष्मी गिरी, मितु पाल र बबी दियाली रसाईलीले सांगीतिक प्रस्तुति दिए । कार्यक्रममा ईतुले अरुणा लामाको ‘मैले जीवनलाई कसरी सजाएँ’ र ‘आफ्नो र त्यो कहिले घाम, कहिले छायाँ’, सितल थापाले तारादेवीका ‘टाढाबाट बोलाएको’ र ‘जति माया लाएपनि’, कौशल्या गुरुङले तारादेवीको ‘जताततै खोजें’ र आफ्नो ‘जून राम्रो जुनेली रातको’, रजनी ऋदम राईले अरुणा लामाको ‘भेटिनु छुटिनु’ र आफ् नो ‘को छ र मेरो’, लक्ष्मी गिरीले अरुणा लामाको ‘उदास मेरो जीवन कथा’ र आफ्नो ‘हिमालकी प्यारी छोरी’, मितु पालले अरुणा लामाको ‘हाँसी राखें, बोली राखें’ र आफ् नो ‘परिभाषा हराएको’ तथा बबी दियाली रसाइलीले तारादेवीको ‘जबजब मेरा सपनाहरू’ गीत भ्वाईलिनको साथमा गुञ्जाएका थिए ।
कार्यक्रममा आधुनिक र शास्त्रीय संगीतमा छुट्टै पहिचान बनाएकी चर्चित गायिका कुन्ती मोक्तानले विशेष सांगीतिक प्रस्तुति दिएकी थिइन् । सुर शक्ति नारी समूहकी सचिवसमेत रहेकी उनले तारादेवी र अरुणा लामालाई समर्पित गर्दै अरुणा लामाको ‘म आँखैमा राख्न’र आफ्ना दुई गीतहरू ‘भन्छन् कोही’ र ‘माथि माथि सैलुङ्गेमा’ गीतहरू गाइन् ।