काठमाडौं, माघ १९
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो निर्वाचन क्षेत्रका नेता, कार्यकर्ता तथा मतदातालाई पत्र पठाएका छन् । मोरङ–६ बाट उम्मेदवारी दिएका कोइरालाले पार्टीको क्रियाशील सदस्यसहित करिब ६ हजार ५ सय जनालाई पत्र पठाइएको उनको सचिवालयले जनाएको छ । चुनावी अभियानसँगै पत्र पठाउने क्रम पनि चलिरहेको छ ।
कोइराला २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ–६ बाटै विजयी भएका थिए । कोइरालाले पत्रमा आफूलाई यसअघि गरेको विश्वासका लागि आभार व्यक्त गरेका छन् । ‘मोरङ क्षेत्र नम्बर ६ बाट मलाई यो भौतिक बल र जिम्मेवारीमा पुर्याउनु हुने तपाईँप्रति म सदा आभारी छु, ऋणी छु। भ्रष्टाचार निर्मुल नगरी विकास निर्माण सम्भव छैन भने मेरो मान्यता हो,’ पत्रमा भनिएको छ, ‘मलाई निस्वार्थ भावबाट यसरी राष्ट्रिय जिम्मेवारीमा पठाउँदा मैले यस क्षेत्रका आफ्ना प्यारा दाजुभाइ, दिदीबहिनीहरूप्रति न्याय गर्न सकेको छैन भने म अन्तस्करणबाट क्षमाप्रार्थी छु।’
मोरङ–६ को विकासका गतिविधिलाई तीव्रता दिने आफ्नो आकांक्षा रहेको भन्दै उनले यसको मूल्यांकन गर्ने जिम्मेवारी मतदातालाई नै दिएका छन् । उनले फेरि कांग्रेसको रुख चिन्ह लिएर घरदैलोमा आएको भन्दै जिताउन पनि अपील गरेका छन् ।
सहज छैन यसपटक
६७ वर्षीय कोइराला कांग्रेस पार्टीका संस्थापक परिवारका प्रतिनिधि एवम् बिपी कोइरालाका भतिजा हुन् । जसका कारण उनको राजनीति पारिवारिक र वैचारिक दुवै रूपमा कांग्रेससँग जोडिएको छ । आफ्नो कार्यकालमा संसद्मा उभिएर प्रश्नोत्तर गरेको देखिएन भनेर उनकै सामाजिक सञ्जालमा कमेन्टहरू छन् । यसपटक निर्वाचन क्षेत्रमा पनि उनले यस्ता विभिन्न प्रश्नको सामना गर्दैछन् । निर्वाचनको संघारमा पार्टीमा ठूलो रस्साकस्सी चल्यो, विशेष महाधिवेशन र नेतृत्व सुधारको । यस्तो महत्वपूर्ण निर्णयको घडीमा उनी प्रष्ट विचार र अडान भएको देखापर्नबाट चुकेका थिए । उनी पार्टी विभाजन हुनुहुँदैन भनेर खबरदारीमा लागिरहे । विशेष महाधिवेशन र सभापति गगन थापाको पक्षमा आएका थिएनन् । तर, पार्टीले उनलाई टिकटबाट वञ्चित गरेन । त्यसैले उनी चुनावी दौडाहामा व्यस्त छन् ।
जेनजी विद्रोहका कारण भइरहेको मध्यावधि निर्वाचनमा उनलाई सहज छैन । मोरङ–६ मा यसपटक कोइरालाका प्रतिष्पर्धी छन् एमालेका विनोद ढकाल, नेकपाका उपेन्द्रकुमार राय, रास्वपाकी रुविना आचार्य, जसपाका राजुकुमार मण्डल लगायत ।
क्षेत्रको विगतका निर्वाचन परिणामले उम्मेदवारका मतको भिन्नतामा घटबढ देखिएका छन् । कोइरालाका दुईपटकका प्रतिष्पर्धी लालबाबु पण्डितलाई यसपटक एमालेले टिकट दिएन । उनको ठाउँमा ढकाल छन् । ढकाल उनका अगाडि नयाँ देखिए पनि एमालेको जिल्ला र क्षेत्रगत संगठनका प्रभावशाली मानिन्छन् ।
२०७९ को निर्वाचनमा कोइराला निकटतम प्रतिपर्धी एमालेका लालबाबु पण्डितलाई १२ हजार २७८ मतान्तरले हराउँदै विजयी भएका थिए । उनको मत ३५ हजार २२४ हुँदा पण्डितले २२ हजार ९४६ मत प्राप्त गरेका थिए । रास्वपाका यादवकुमार प्रधानले ९ हजार १४० र चौथो स्थानका राप्रपाका गोपाल क्षेत्रीले ८ हजार ९२५ मत पाएका थिए ।
त्यसअघि २०७४ को निर्वाचनमा कोइरालालाई पण्डितले पराजित गरेका थिए, मतान्तर भने ६७५ को मात्रै थियो । एमालेका पण्डितले ३३ हजार ९ सय ४१ मत पाउँदा कोइरालाले ३३ हजार २६६ मत पाएका थिए । तेस्रो बनेका संघीय समाजवादी फोरमका राजेश्वर विश्वासले ५ हजार २६१ मत र चौथोमा राजपाका तवरेज अख्तर आलमले १ हजार ११८ मत पाएका थिए ।
चालु वर्ष देशभर नयाँ मतदाता थपिँदा मोरङ–६ पनि त्यसबाट अलग छैन । निर्वाचन आयोगका अनुसार यो क्षेत्रमा बुढीगंगा गाउँपालिका १–७ वडा, विराटनगर महानगरका ४, ५, ६, ७, ९, ११, १२ वडा, सुन्दर हरैंचा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडा पर्छन् । मतदाता संख्या १ लाख ३७ हजार ८३२ छ भने मतदानस्थल ३९ र मतदान केन्द्र १४९ वटा छन् ।