नेभिगेशन
राजनीति

‘निर्वाचन देशको राजनीतिक शुद्धीकरणका लागि निर्णायक मोड’

प्रधानमन्त्री कार्की राष्ट्रिय सभामा

काठमाडौं, माघ १९    

आसन्न निर्वाचनलाई सत्ता हस्तान्तरण र राजनीतिक शुद्धीकरणको निर्णायक घडी भन्दै प्रधानमन्त्री सुशीला कार्कीले संसद् को माथिल्लो सदनबाट कडा सन्देश दिएकी छन् । राष्ट्रिय सभामा सोमबार उनको सम्बोधनले अन्तरिम सरकारको दिशा, जेनजी आन्दोलनको पृष्ठभूमि र आगामी प्रतिनिधिसभा निर्वाचनप्रतिको सरकारी प्रतिबद्धता स्पष्ट गरेको छ ।              

सदाचार नीतिसम्बन्धी प्रतिवेदनमाथिको छलफलमा सहभागी हुँदै प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दुका रूपमा लिन आग्रह गरिन् ।                      

गत भदौ २४ को जेनजी विद्रोहको जगमा बनेको अन्तरिम सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक राष्ट्रिय सभामा उपस्थित भएकी प्रधानमन्त्री कार्कीले आफू पदलोलुपताका कारण नभई बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्रयाकमा ल्याउन र देशलाई संकटबाट जोगाउन प्रधानमन्त्री बनेको बताइन् । उनले प्रधानमन्त्री बनेकै दिन प्रतिनिधिसभा विघटन गरी फागुन २१ मा निर्वाचन गर्ने सिफारिस गरिएको स्मरण गराउँदै, तोकिएको समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा चुनाव सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न सरकार आतुर रहेको स्पष्ट पारिन् ।                    

जेनजीको आन्दोलनलाई उनले युवा आकांक्षाको बेवास्ता, भ्रष्टाचार र राज्य सञ्चालनमा देखिएको संवेदनहीनताविरुद्धको चेतनाको प्रतिविम्बका रूपमा व्याख्या गरिन् । ‘यो विद्रोह यस्तो ऐना हो, जसमा हामीले हाम्रा आफ्नै शासकीय त्रुटि र आचरणगत कमजोरी देखिरहेका छौं,’ उनले भनिन् ।                    

संविधानले परिकल्पना गरेको सुशासन, समृद्धि र नागरिक अधिकारमा राज्य खरो उत्रन नसक्दा असन्तोष चुलिएको जिकिर उनले गरिन् । सूचना प्रविधिमा अभ्यस्त युवा पुस्ताले समान अवसर, रोजगारी र गुणस्तरीय जीवन खोजेको उनले बताइन । ती आकांक्षा पूरा गर्नु राज्यका तीनै अंगको साझा दायित्व भएको उनको भनाइ थियो ।                        

सरकारले सहिद घोषणा, पीडित परिवारलाई राहत, घाइतेको उपचार तथा जीविकोपार्जनलाई प्राथमिकतामा राखेको जानकारी उनले सभामा गराइन । आन्दोलनकारी प्रतिनिधिसँग मुलुकको राजनीतिक दिशा बदल्ने ऐतिहासिक सम्झौता भएको र सार्वजनिक निकायलाई पारदर्शी तथा उत्तरदायी बनाउन भ्रष्टाचार न्यूनीकरणमा सरकार पूर्ण प्रतिबद्ध रहेको पनि उनले दाबी गरिन् । प्रविधिमा आधारित सुशासनको मार्गचित्र तयारी अन्तिम चरणमा पुगेको जानकारी पनि उनले सभालाई गराइन् ।                        

निर्वाचनको तयारीबारे प्रधानमन्त्री कार्कीले उम्मेदवार मनोनयन सम्पन्न भइसकेको, राज्यका स्रोतसाधन निर्वाचनमा केन्द्रित गरिएको र आन्दोलनका क्रममा लुटिएका अधिकांश हतियार बरामद भइसकेको बताइन् । एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भई सबै सुरक्षा संयन्त्र परिचालन गरिएको जानकारी उनले दिइन । राजनीतिक दल, उम्मेदवार र आम नागरिकमा देखिएको उत्साहले लोकतन्त्रप्रतिको जनआस्था बलियो रहेको उनले उल्लेख गरिन् ।                        

प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनलाई केवल सत्ता हस्तान्तरणको औपचारिकता होइन, राज्यको नैतिक पुनर्संरचनाको परीक्षा भएको बताइन् । संविधान, सुशासन र नागरिक अधिकारमा राज्य चुकेकै कारण सडकबाट चेतावनी आएको उनको भनाइ थियो । सरकारले सहिद घोषणा, घाइतेको उपचार र राजनीतिक सम्झौता गरेर परिस्थिति नियन्त्रणमा लिएको दाबी पनि गरिन् । भ्रष्टाचार न्यूनीकरणका लागि प्रविधिमा आधारित शासन प्रणाली लागू हुँदै गएको र सार्वजनिक निकायलाई दबाबमुक्त बनाइएको उनले बताइन् । निर्वाचन सफल भए मात्र आन्दोलनको बलिदान अर्थपूर्ण हुने भन्दै प्रधानमन्त्रीले सबै पक्षलाई जिम्मेवार भूमिकामा उभिन आह्वान गरिन् ।                        

निर्वाचन आचारसंहिता पूर्ण पालना गरी भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सबै पक्षसँग उनले अपिल गरिन् । संघ, प्रदेश र स्थानीय सरकार, निर्वाचन आयोग, राजनीतिक दल, जेनजी आन्दोलनका प्रतिनिधि, नागरिक समाज, कूटनीतिक समुदाय र सञ्चारमाध्यमको सहयोगले निर्वाचनको वातावरण बनेको भन्दै उनले सबैको सुझबुझको प्रशंसा गरिन् ।                                  

सदाचार नीतिको सन्दर्भमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचाररहित नेपाल निर्माण भाषण र दस्तावेजले मात्र सम्भव नहुने स्पष्ट पारिन् । ‘सदाचार प्रत्येक सार्वजनिक पदाधिकारीको आचरण र व्यवहारमा देखिनुपर्छ,’ उनले भनिन् । सरकार गठनपछि मितव्ययिता अंगीकार गरिएको, अनावश्यक सुविधा नलिइएको र नियमनकारी निकायलाई स्वतन्त्ररूपमा काम गर्न दिइएको दाबी पनि उनले गरिन् ।                    

यसै क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनमा होमिन क्याबिनेटबाट राजीनामा दिएका मन्त्रीबारे उठेका प्रश्नको पनि जवाफ दिइन् । कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ता मन्त्री बन्नुअघि नै राजनीतिमा जाने इच्छा व्यक्त गरेको र सोहीअनुसार आफूले बिदा गरेको उनले बताइन् । ‘दोष लगाउने हो भने मलाई लगाउनुस्, उनीहरूलाई नलगाउनुस्,’ भन्दै उनले उनीहरूले बेइमानी नगरेको जिकिर गरिन् । जेनजीको दबाबमा उनीहरू मन्त्री बनेको र अहिले मन्त्रिपरिषद्सँग कुनै सम्पर्क नरहेको पनि उनले स्पष्ट पारिन् ।                          

शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुनबारे भने केही कानून बनाउन नसक्दा रिसाएर गएको उनको भनाइ थियो । ‘ती कानून राम्रै थिए, तर छोटो समयमा बनाउन सकेनौं,’ उनले भनिन् । पुनले सरकार छाड्नुलाई व्यक्तिको अधिकारका रूपमा बुझ्नुपर्ने उनको आग्रह थियो ।                            

आफ्नो छोटो कार्यकालको अन्तिम चरणमा भत्किएका संस्थालाई जोडेर नयाँ आशाको बिउ रोपिएको दाबी गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार, दण्डहीनता र अन्यायविरुद्ध सबै निकाय एकजुट हुन ढिला नगर्न आग्रह गरिन् । उनले छिट्टै जनताको मतबाट प्रतिनिधिसभा पुनःस्थापित हुने विश्वास व्यक्त गर्दै राष्ट्रिय सभाबाट प्राप्त हुने निर्देशनलाई सरकारले शिरोपर गर्ने प्रतिबद्धता जनाइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्