काठमाडौं,माघ २०
मुलुक चुनावमा होमिएको छ । ठूलो र पुरानो दल कांग्रेस पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावी मैदानमा छ । गगन पार्टीमा हठात् आएका वा बाहिरबाट ल्याएर नेतृत्वमा थपना गरिएका नेता होइनन् । उनी विद्यार्थी राजनीतिबाट क्रमिक पार्टी नेतृत्वमा उक्लिएका हुन् ।
विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा केन्द्रीय कार्य समिति बन्दा तत्कालीन सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष बाहिरै थियो । विशेष महाधिवेशनबाट बनेको नयाँ समितिलाई समितिलाई निर्वाचन आयोगले मान्यता दियो, देउवा पक्षधर सहमत भएन । उनीहरूले विशेष महाधिवेशन अवैध भन्दै दायर गरेको रिट सर्वोच्च अदालतमा अझै विचाराधीन छ । तर, थापा नेतृत्वको समितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि १ सय ६५ क्षेत्रमा थापाले नै टिकट वितरण गरे ।
टिकट वितरणमा देउवालगायतका केही नेता प्राथमिकतामा परेनन्, केहीले भने पुरानै क्षेत्रबाट टिकट हात पारे । यतिबेला चुनावी घरदैलो गर्दैछन् । विशेष महाधिवेशन अस्वीकार गरेका देउवा र कोइराला पक्षका नेताहरू पनि थापाकै हस्ताक्षरको टिकट लिएर चुनावी मैदानमा छन् । तर, चुनावी मैदानमा उम्मेदवारको मन्तव्य र प्रचारप्रसारको विषय भने फरक छ । विशेष महाधिवेशनको पक्षमा उभिएका उम्मेदवार अहिले ‘भावी प्रधानमन्त्री’ थापाको तस्विरसहित आफ्नो फोटो राखेर प्रचार सामाग्रीदेखि ब्यानर राखेर मत मागिरहेका छन् । उनीहरूले मतदातालाई प्रभावित गर्न आफू सांसद जित्नैपर्ने मूल कारणमा सभापति गगन थापालाई प्रधानमन्त्री बनाउनु भएको बताउने गरेका छन् । विशेष महाधिवेशनपछि कांग्रेस बदलिएको र बदलिएको कांग्रेसले देश बदल्ने दाबी गर्दै मत माग्न व्यस्त छन् ।
विशेष महाधिवेशनका पक्षमा लाग्ने अगुवामध्ये एक थिए, काभ्रेका मधु आचार्य । प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवार रहेका आचार्य भन्छन्, ‘कांग्रेस कमसेकम बदलिएर आयो । फेरिएर आयो । जनताको चाहनाअनुसार नीति, नेता, कार्यक्रममा नयाँपन लिएर आयो । मिसन,भिजन, कार्यक्रमका हिसावले कांग्रेस अहिले सबैभन्दा नयाँ पार्टी हो ।’ आचार्यजस्तै विशेष महाधिवेशनका पक्षमा खुलेका उम्मेदवारहरू थापाको तस्बिर भावी प्रधानमन्त्रीमा प्रोजेक्सन गर्दै मत मागिरहेका छन् । कांग्रेस बदलिएको र देश बदल्ने केन्द्रीय समितिको लाइनमा रहेर चुनावी प्रचारप्रसारमा व्यस्त छन् । सभापति थापा यसपटक सर्लाही–४ मा उम्मेदवार छन् । उनको निर्वाचन क्षेत्रसहित मधेसका जिल्लाहरूमा त ‘अबकी बार गगन सरकार’ नै उम्मेदवारहरूले मूल नारा बनाइरहेका छन् ।
काठमाडौं–५ मा उम्मेदवार रहेका प्रदीप पौडेल भन्छन्, ‘तपाईंको चाहनाअनुसार कांग्रेसको नीति र नेतृत्व बदलेसँगै अब आम निर्वाचनमार्फत देशको रुपान्तरणका लागि सभापति गगन थापालाई प्रधानमन्त्री उम्मेदवारका रूपमा अघि सारेका छौं । तपाईंले रुख चिह्नमा दिने एक–एक मतले देश बदल्नेछ । आउनुस् यो परिवर्तनको यात्रामा सँगै सहकार्य गरौं ।’
तर, विशेष महाधिवेशन नस्वीकारेका नेताहरूको क्षेत्रमा भने चुनावी प्रचारप्रसारको शैली र उम्मेदवारले दिने भाषणका विषयवस्तु फरक छन् । उनीहरूले विगतका परिवर्तनमा कांग्रेसले खेलेको भूमिका, आफूहरूले गरेका विकासका काम र शिक्षा, स्वास्थ्य, रोजगारी, विकासका आफ्ना योजनाको बढी चर्चा गर्ने गरेका छन् । ती क्षेत्रमा भावी प्रधानमन्त्रीमा थापाको चर्चा कम सुनिन्छ । देश बदल्ने नारा त दिएकै छन् तर, विशेष महाधिवेशनपछि कांग्रेस बदलिएको संस्थापनपक्षधरको जस्तो दाबा उम्मेदवारले गर्ने गरेका छैनन् ।
विशेष महाधिवेशन नस्वीकारेका सभापति शेरबहादुर देउवा हुँदाका प्रवक्ता डा.प्रकाशशरण महत नुवाकोट–१ मा उम्मेदवार छन् । मनोनयन दर्तापछि उनी टोल–टोलमा पुगेर मत माग्न व्यस्त देखिन्छन् । उनका भाषण र प्रचारप्रसार आफू अर्थमन्त्री हुँदा नुवाकोटको विकासका लागि गरेको काम र कांग्रेसले विगतदेखि हालसम्म परिवर्तनका लागि खेलेको भूमिकामा केन्द्रीत हुने गरेको छ । ‘कांग्रेस सुखदुःखमा, इतिहासको कालखण्डमा खरो उत्रेको पार्टी हो । अत्यन्त कठिन परिस्थितिमा पनि नडगमगाउने पार्टी हो,’ डा.महतले चुनावी सभामा भनेका छन्, ‘अहिले नयाँ पार्टीको कुरा आउँछ । अप्ठ्यारो अवस्था आओस् त । जसरी आएका थिए, त्यसैगरि गायब हुन्छन् ।’
त्यस्तै, डा.शेखर कोइराला मोरङ–६ मा उम्मेदवार छन् । उनले मतदातालाई पत्र पठाएरै विगतमा केही कमजोरी भएको भए त्यसमा आत्मालोचित हुने भन्दै पत्र पठाएका छन् । उनको सचिवालयले सार्वजनिक गरेका प्रचार सामाग्रीमा भावी प्रधानमन्त्रीको विषयमा मौनता देखिन्छ । तर, मोरङ–४ मा उम्मेदवार रहेका कांग्रेस महामन्त्री गुरुराज घिमिरेको क्षेत्रमा भने भावी प्रधानमन्त्रीको चर्चा छ ।
सभापति थापाको तस्बिरसहित घिमिरेका प्रचार सामग्री बनेका छन् । त्यस्तै, मोरङ–२ का उम्मेदवार छन्, डा.मीनेन्द्र रिजाल । विशेष महाधिवेशनको पक्षमा थिएनन् उनी । तर, उनी देउवाको कार्यकालमा प्रत्यक्षको टिकटबाट वञ्चित थिए ।
२०७९ मा मोरङ–२ मा कांग्रेस एमालेसँग १ हजार २ सय ८ मतको अन्तरले पराजित भएको थियो । उक्त क्षेत्रमा माओवादीसँग चुनावी गठबन्धन हुँदा पनि पराजय भोग्नुपरेको थियो । एमालेका ऋषिकेश पोखरेलले २२ हजार १ सय ४८ मत पाउँदा कांग्रेस उम्मेदवार सुनाता कोइरालाले ३१ हजार ९ सय ४० मत पाएकी थिइन । तेस्रो भएका रास्वपाका ठगेन्द्रप्रसाद न्यौपानेले ४ हजार ९ सय ८७ मत पाएका थिए । त्यसअघि २०७४ मा रिजाल ३५ हजार ८ सय १९ मतले विजइ भएका थिए । एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ र तेस्रो भएका संघीय समाजवादी फोरमका युवराज कार्कीले २ हजार ५ सय ९५ मत पाएका थिए । पार्टीले टिकट दिँदा मीनेन्द्र आफ् नो क्षेत्रबाट प्रतिष्पर्धामा खरो हुने सामथ्र्य राख्छन् । तर, यसपटक निर्वाचन प्रचारमा उनले न सामाजिक सञ्जालमा पार्टी सभापतिको तस्बिर शेयर गरेका छन् न त भावी प्रधानमन्त्रीबारे टिप्पणी ।
यो क्षेत्रमा पनि भावी प्रधानमन्त्रीको विषयभन्दा कांग्रेसको इतिहासकै धेरै चर्चा हुने गरेको छ । रिजाल कांग्रेस अहिले एकताबद्ध भएर अघि बढ्ने भन्दै मत मागिरहेका छन् । ‘अहिले मुलुकमा देखिएको निराशालाई पनि चिर्दै एउटा आशामा रुपान्तरण गर्न कांग्रेसले सक्छ,’ रिजालले भनेका छन्,‘कांग्रेसको संगठन त्यसका लागि एकताबद्ध भएर जान्छ । केही काम शुरु गरेको पूरा भयो । केही बाँकी छ । केही नयाँ योजना छन् । सबै ध्यान दिएर अघि बढ्नेछौं । यहाँहरूको माया पाउनेमा आशावादी छु।’
सुनसरी–३ बाट उठेका विजयकुमार गच्छदार, सुनसरी–४ बाट उम्मेदवारी दिएका ज्ञानेन्द्रबहादुर कार्कीको अवस्था पनि रिजालभन्दा धेरै फरक छैन । उनीहरूले पनि पार्टी सभापति थापाप्रति हार्दिकता देखाउन आनाकानी गरिरहेको सामाजिक सञ्जालका पेजहरूबाटै देख्न सकिन्छ । कांग्रेस निवर्तमान सहमहामन्त्री किशोरसिंह राठौर बर्दिया–२ बाट उम्मेदवार छन् । उनी सहभागी चुनावी कार्यक्रममा पार्टीका संस्थापकका तस्बिरहरू राखिने गरेका छन् ।
फागुन २१ को चुनावमा सभापति थापाकै हस्ताक्षरको टिकटमा उम्मेदवार बनेका कतिपय नेताहरूको प्रचारप्रसार र भाषणमा भने एकरुपता देखिएको छैन । निवर्तमान सभापति देउवाले नै आफ्नो दललाई जिताउनुपर्छ भन्ने हार्दिकता प्रदर्शनको साटो निष्क्रिय बसिदिँदा उनी पक्षधरलाई खुल्न गाह्रो परेको चर्चा हुन थालेको छ । खुल्दा देउवा रिसाउने डर, नखुल्दा मतदाता प्रभावित पार्न जोडबल नपुग्ने संशयले नेताहरूबीच उकुसमुकुस देखिएको कार्यकर्ताहरू नै बताउँछन् । चुनावका लागि कांग्रेस आन्तरिक एकताका पक्षमा देखिए पनि विशेष महाधिवेशनपछि रोपिएको तुष भने नहटिसकेको देखिएको छ ।