पोखरा, माघ २०
‘शान्त हुनुस् ! ढुक्क हुनुस् । जनताको अदालतले कहिल्यै अन्याय गर्दैन !,’ गत साता गनेस पौडेल नामका फेसबुक प्रयोगकर्ताको १३५ शब्दको लामो पोस्टको अन्तिमका लाइन हुन् यी । लेखेर तीनवटा फोटोसहित पोस्ट गरेका
उनको खास नाम हो खडकराज पौडेल ।
प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी कास्की–१ का उम्मेदवार खडकराज (गनेस) आफू भने ढुक्क सुनिएका छैनन् । कारण उनले कास्कीको चुनावी राजनीतिलाई देखेका छन् ।
बिगतका निर्वाचनको गणित फेरिनका लागि मतदाताको घरदैलो जरुरी छ । उनीहरूसँग संवाद जरुरी छ । पुराना दलहरूको पकड क्षेत्रमा युवा परिवर्तनको जोडबलले कसरी अपेक्षित परिणाम ल्याउँछ भन्नेमा उनी र उनको प्रचार टोली हिसाबकिताब गरिरहेको छ । त्यसैले उनले मतदातासँग भेटघाट र सुझाव संकलन गरिरहेका छन् ।
‘स्थानीयसँग संवाद यात्रा’ अन्तर्गत रास्वपाले मंगलबार पोखरा महानगरका विभिन्न टोल–बस्तीमा कार्यक्रम गरेको छ । बुधबार रुपा गाउँपालिकाका विभिन्न स्थानमा भेटघाट तय गरिएको पार्टीले जनाएको छ ।
मंगलबार विजय बस्ती, माझठाना, सौर्य, रैकर, स्याङखुदी र खरानेफाँट क्षेत्रमा पुगेर मतदातासँग संवाद गरेको पार्टीको कास्की–१ का निर्वाचन संयोजक श्रीकृष्ण न्यौपानेले जानकारी दिए । संवादका क्रममा स्थानीयले राजनीतिक अस्थिरताले आजित बनेको गुनासो गरेका थिए । उम्मेदवार पौडेलले जनतासँगको प्रत्यक्ष संवादले आफूलाई थप ऊर्जा बढेको बताए । स्थानीय मुद्दालाई मिहिन ढंगले केलाएर केन्द्रमा नीति निर्माणमा समेट्ने, योजना निर्माण, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।
मतदातासँग संवाद गर्दै हिँडेका पोखराको चाउथेका पौडेल पेसाले साहित्यकर्मी हुन् । उनका पुस्तकहरू प्रकाशित छन् । यसअघि स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर नराम्ररी पराजित भएका थिए । रास्वापाले वरिष्ठ नेता बनाएर पार्टीमा भित्र्याएका काठमाडौं महानगरका निवर्तमान मेयर बालेन्द्र शाहको साथी भएका कारण पौडेललाई कास्की–१ मा उम्मेदवारीको टिकट पाउन सहज भएको हो । स्थानीय तह निर्वाचनताका शाह र पौडेल दुवैको चुनाव चिन्ह लौरो थियो ।
एमाले, कांग्रेस र नेकपाले आआफ्ना पार्टी राजनीतिमा क्रियाशीललाई उठाएका छन् । कास्की–१ मा एमालेबाट बैनबहादुर क्षेत्री, कांग्रेसका तिलकबहादुर रानाभाट, नेकपाका राजकाजी गुरुङ, राप्रपाका बाबुराम थापा, प्रलोपाका कर्णबहादुर गुरुङ लगायत उम्मेदवार छन् ।
यो एमाले नेता खगराज अधिकारीको प्रभाव क्षेत्र मानिन्छ । विगतका निर्वाचनमा कांग्रेस, एमाले र माओवादीबीच गठबन्धन बन्दै–फेर्दै एकअर्कालाई सघाउँदा पनि अघिल्लो दुई निर्वाचन एमालेले जितेको तथ्यांक छ । २०७९ को निर्वाचन परिणाम हेर्दा एमाले र कांग्रेसलाई नयाँ दलले धक्का दिनसक्ने स्थिति देखिन्छ । तर, एमालेका प्रतिबद्ध मतदाता भएको क्षेत्र रहेकाले अन्य दलले आकर्षित गर्न निकै परिश्रम पर्ने अवस्था छ । १ लाख १६ हजार ८७८ मतदाता संख्या भएको यो क्षेत्र ठूलो छ । पोखराको १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१, ३२, मादी गाउँपालिकाको १ देखि १२, रुपा गाउँपालिकाको १ देखि ७ नम्बर वडा पर्छन् ।
२०७९ को निर्वाचनमा यो क्षेत्रमा एमालेका मनबहादुर गुरुङ २५ हजार ७०८ मतले विजयी हुँदा उनका निकटतम प्रत्यासी कांग्रेसका किशोरदत्त बरालले २३ हजार १८९ मत पाएका थिए । तेस्रो बनेका रास्वपाका राजु राईले १० हजार ९४१ मत पाएका थिए ।
त्यसअघि २०७४ मा एमालेका खगराज अधिकारी ३९ हजार २४२ मतका साथ विजयी हुँदा निकटतम कांग्रेसका यज्ञबहादुर थापाले २५ हजार ८२६ मत पाएका थिए । तेस्रो बनेका संघीय समाजवादी फोरमका मनबहादुर गुरुङले ७८६ मत पाएका थिए ।