पोखरा, माघ २०
आफ्ना लागि मत माग्न आउनेसँग दोबिल्लाका बासिन्दाकाले सेती र फुस्रेखोलाको कटान नियन्त्रण गर्न प्रतिबद्धता गरिरहेका छन् । बर्सेनि कटान भइरहँदा पोखरा महानगरपालिका–१७ मा पर्ने यो क्षेत्रमा बस्ती जोखिममा परेको भन्दै उनीहरूले दीर्घकालीन समाधान हुनुपर्नेमा जोड दिएका हुन् ।
यो ठाउँ कास्कीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । चुनावी अभियानका क्रममा मंगलबार यहाँ एमालेका उम्मेदवार रश्मी आचार्य पुगे । स्थानीयबासीले समस्याको समाधानबारे प्रतिबद्धता खोजे ।
सेतीनदी र फुस्रेखोलाको निरन्तर कटानका कारण बस्ती उच्च जोखिममा परेको भन्दै उनीहरूले चुनावी प्रतिबद्धतामै बस्ती संरक्षणलाई प्राथमिकतामा राख्न माग रहेको स्थानीय बासिन्दा भगवती पौडेलले बताइन ।
उनका अनुसार पोखरा १७ र १५ को बीच भागमा रहेको सेतीनदी र २१ को सिमानामा रहेको फुस्रेखोलाको संगमस्थल दोबिल्ला बस्तीमा हरेक वर्ष मनसुनका बेला कटान तीव्र हुँदै गएको छ ।
निरन्तरको वर्षाका कारण बस्तीमात्र नभई मुख्य सडकसमेत खस्ने अवस्थामा आएको बताउँदै उनले भनिन् ‘केही बर्षअघि खोला छेउमा पर्खाल निर्माणको काम सुरु गरिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन ।
अर्का स्थानीय गौतम गिरीले उक्त क्षेत्रमा ४४ घर परिवार बसोबास गर्दै आएका छन् । कटानको जोखिम बढ्दै गएपछि केही परिवार विस्थापित हुन बाध्य भएको बताउँदै बस्ती संरक्षणका लागि नदी र खोला किनारामा तटबन्ध, पर्खाल निर्माण र जोखिम न्यूनीकरणका अन्य उपाय तत्काल लागू गर्नुपर्नेमा ध्यानाकर्षण गराए ।
स्थानीय तह, प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराउँदै दोबिल्लाबासीले दीर्घकालीन समाधान नभए सिंगो बस्ती नै विस्थापनको जोखिममा छ भने पोखरा १७ र २१ जोड्ने फुस्रेखोला माथिको पक्की पुलसमेत धराप बनेको चिन्ता स्थानीयले उम्मेदवारसँग गरे ।
स्थानीयको भेलामा उम्मेदवार आचार्यले नदी र खोलाको कटानको कारण उच्च जोखिममा रहेको दोविल्ला क्षेत्रको संरक्षणका साथै आवश्यक पूर्वाधार निर्माणमा आफू प्रतिबद्ध भएर लाग्ने आश्वासन दिए ।
भोट माग्न आउने सबैसँग कटान नियन्त्रणका लागि अग्रसरता लिन आग्रह गर्दै आएको स्थानीय राजु गिरीले बताए । उनका अनुसार फुस्रेखोलाको दोभानका रुपमा रहेको दोविल्ला क्षेत्रको दुवै नदीको कटानको कारण सहारा क्लबको सहारा एकेडेमीलाई पनि जोखिम छ ।
नेकपाका उम्मेदवार किरण थापा ‘आमोद’ मंगलबार पोखरा–२१ मा घरदैलोमा पुगे । पोखरा–२१ बयलीका पार्टीका दिवंगत प्रदेश सदस्य तुलसी पोखरेलको घरमा पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण तथा परिवारमा समवेदना व्यक्त गर्दै घरदैलो थाले । उनले बक्रेक शाही भञ्ज्याङसम्म घरदैलो गरे । ‘जिते पनि हारे पनि म यस क्षेत्रको विकास र समृद्धिका लागि सदैव लाग्ने वाचा गर्दछु,’ उनले मतदातासँग भने । उनले यस क्षेत्रको विकासको खाका आफूसँग रहेको बताए । व्यावसायिक फलफूलखेतीसहित पर्यटनका योजना सुनाए । कास्की कसैको गढ भन्ने नरहेको जनाउँदै उनले पुराना गढहरू भत्किएको जिकिर गरे ।
निर्वाचन प्रचारका लागि हिँडेका नेता कार्यकर्ताले संघीय संसद् ऐन, कानुन र नीति बनाउन जाने भनेर मतदातालाई बुझाउन नसक्दा आचार्यजसरी आश्वासन बाँडेर हिड्नुपरेको छ । मतदाता संख्या ८४ हजार १३४ रहेको कास्की–२ मा एमालेका आचार्य, कांग्रेसका माधवप्रसाद बाँस्तोला, नेकपाका हेमबहादुर थापा, रास्वपाका उत्तम पौडेल, प्रलोपाका दीपक भण्डारी, राप्रपाका हेमजंग गुरुङ लगायत उममेदवार छन् । यसपटक दलका १२ र स्वतन्त्र ५ जनाको भिडन्त छ ।
यो क्षेत्र विगतमा एमाले नेता रवीन्द्र अधिकारीको हो । उनी दुर्घटनामा दिवंगत भएपछि पार्टीले अधिकारी पत्नी विद्या भट्टराईलाई टिकट दिँदै आएको थियो । अधिकारीको अवसानपछि भएको उपनिर्वाचन चितेकी भट्टराई दोस्रोपटक २०७९ को निर्वाचनमा पनि विजयी भएकी थिइन । २०७९ मा भट्टराई १६ हजार ९९८ मतले विजयी हुँदा निकटतम प्रत्यासी रास्वपाका माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत ल्याएका थिए । तेस्रो बनेको दल एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६५९ मत ल्याएका थिए । उक्त चुनावमा कांग्रेसले गठबन्धन गरेकाले उम्मेदवारी दिएको थिएन । एमाले, कांग्रेस र नेकपालाई यसपटक रास्वपाले कडा चुनौती दिने अनुमान भइरहेको छ ।
यो क्षेत्रमा बिगतका निर्वाचनमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुँदै आएको थियो ।