अमेरिकामा जारी राजनीतिक उथलपुथलबाट केहीबेर टाढा हुन सुपर बाउल हेर्ने सोच बनाउँदै हुनुहुन्छ भने, यो वर्ष त्यस्तो सहज हुने देखिँदैन ।
आइतबार सियाटल सिहक्स र न्यू इंगल्याण्ड प्याट्रियट्सबीच हुने सुपर बाउल खेलअघि नै एनएफएल (नेसनल फुटबल लिग) माथि ट्रम्प प्रशासनको कडा आप्रवासन नीति र आइस (इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट)को भूमिकाबारे स्पष्ट धारणा राख्न दबाब बढिरहेको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्को वे क्षेत्रमा रहेको लेभाइस स्टेडियममा हुने खेलमा आइसको सम्भावित उपस्थितिको विरोधमा १ लाख ८४ हजारभन्दा बढीले हस्ताक्षर गरेको निवेदन एनएफएललाई बुझाउने तयारी उदारवादी समूह ‘मुभ अन’ ले गरेको छ ।
यसैबीच, हाफटाइम शोका मुख्य कलाकार स्पेनीभाषी सुपरस्टार ब्याड बनीले के भन्छन् भन्ने चासो पनि चुलिएको छ । पुर्टो रिकोका जन्मिएका ३१ वर्षीय ब्याड बनी (बेनिटो एन्टोनियो मार्टिनेज ओकासियो)ले ट्रम्प प्रशासनको आप्रवासन नीति, पुर्टो रिकोमा आँधीपछिको सरकारी प्रतिक्रिया र आप्रवासीप्रतिको व्यवहारको खुलेर आलोचना गर्दै आएका छन् । हालै ग्रामी अवार्ड ग्रहण गर्दा पनि उनले आइसको कडा शब्दमा आलोचना गरेका थिए । आफ्ना फ्यानहरू आप्रवासन एजेन्टको निसानामा पर्न सक्ने डरका कारण उनले आफ्नो पछिल्लो टुर अमेरिकाको मुख्य भूभागमै नगरेको चर्चा पनि छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष खेल हेर्न नजाने बताएका छन् र ब्याड बनीलाई ‘खराब छनोट’ भनेका छन् । एक रिपब्लिकन सिनेटरले त यसलाई ‘वोक बाउल’ नै भनेका छन् । उता, एक प्रभावशाली रुढिवादी समूहले सुपर बाउलसँगै वैकल्पिक कार्यक्रम आयोजना गरेर ध्यान तान्ने तयारी गरिरहेको छ, जसमा ट्रम्प समर्थक गायक किड रक पनि सहभागी हुने बताइएको छ ।
सुपर बाउल अमेरिकामा प्रत्यक्षरूपमा करोडौंले एकैपटक हेर्ने थोरै सांस्कृतिक कार्यक्रममध्ये एक हो । हाफटाइम शो विवादरहित कहिल्यै रहँदैन, तर यस वर्ष खेल, मनोरञ्जन, राजनीति र विरोध मिसिएको अनौठो संयोजन बन्ने सम्भावना देखिएको छ । यो सबै संघीय एजेन्टद्वारा मिनियापोलिसमा एलेक्स प्रेट्टीको हत्या भएपछि फेरि चर्किएको राष्ट्रिय बहसको पृष्ठभूमिमा भइरहेको छ ।
पूर्व एनएफएल खेलाडी टिकी बार्बर भन्छन्, ‘सुपर बाउल भनेको भागदौड र चिन्ताबाट टाढा जाने क्षण हो भन्ने लाग्छ । यदि यो पूर्णरूपमा राजनीतिक विवादमा डुब्यो भने, हामी समाजका महत्वपूर्ण कुराबाट नै टाढा हुँदैछौं कि भन्ने डर लाग्छ ।’
.jpg)
विवादमै रमाइरहेका ब्याड बनी
स्पेनी भाषामै गाइने गीतमार्फत ल्याटिनो संगीतलाई विश्वव्यापी बनाएका ब्याड बनीको लोकप्रियता केही रुढिवादीहरूलाई खड्किएको छ । गत अक्टोबर ‘स्याटर्डे नाइट लाइभ’ कार्यक्रम सञ्चालन गर्दा उनले हाफटाइम शोको विषय उठाउँदै ठट्टा गरेका थिए – सबै जना खुसी छन्, फक्स न्युजसमेत ।’
त्यसपछि उनले स्पेनी भाषामा ल्याटिनो गौरवको कुरा गरे र अंग्रेजीमा हाँस्दै भने, ‘यदि तपाईंले मैले भनेको बुझ्नुभएन भने, सिक्न चार महिना समय छ ।’ उनलाई नजिकबाट चिन्नेहरूका अनुसार, सुपर बाउलमा पनि उनी चुप लाग्ने सम्भावना कम छ । लयोला मेरीमाउन्ट विश्वविद्यालयकी प्राध्यापक भेनेसा डियाज भन्छिन्, ‘उनी केका लागि उभिएका छन् भन्ने कुरा उनले सधैं स्पष्ट पारेका छन् । सुपर बाउलले त्यो आवाज दबाउनेछ भन्ने कल्पना गर्न सकिँदैन ।’
हाफटाइम शो एनएफएल, रक नेशन र एप्पल म्युजिकको सहकार्यमा हुन्छ । कलाकार छनोट रक नेशनले गर्छ भने प्रस्तुति वितरण एप्पल म्युजिकले र अन्तिम नियन्त्रण एनएफएलकै हातमा हुन्छ । ट्रम्प समर्थकको आलोचना हुँदाहुँदै पनि एनएफएलले ब्याड बनीलाई हटाउने कुनै विचार नगरेको जनाएको छ ।
एनएफएल कमिसनर रोजर गुडेलले उनलाई विश्वका महान कलाकारमध्ये एक भन्दै, सुपर बाउलजस्तो मञ्चले मानिसलाई एकजुट गराउने शक्ति बुझ्ने कलाकार भएको बताए । अक्टोबरमा क्विनिपियाक विश्वविद्यालयले गरेको सर्वेक्षणअनुसार करिब आधा अमेरिकीले ब्याड बनीको छनोटलाई समर्थन गरेका छन् । तर डेमोक्रेटमध्ये तीन चौथाइले समर्थन गर्दा रिपब्लिकनतर्फ यो संख्या मात्र १६ प्रतिशत छ । अश्वेत र हिस्पानिक समुदायमा समर्थन ६० प्रतिशतभन्दा माथि छ ।
आइसको उपस्थितिबारे अन्योल
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस)का अधिकारीहरूले निजी छलफलमा सुपर बाउलको सप्ताहमा आइसले कुनै कारबाही नगर्ने संकेत दिएका छन् । तर आधिकारिक रूपमा भने डीएचएसले आइस उपस्थित हुन्छ वा हुँदैन भन्ने खुलाएको छैन । प्रगतिशील समूह मुभ अनले ‘नो आइस एट द सुपर बाउल’ नारासहित एनएफएल मुख्यालयअगाडि प्रदर्शन गर्ने तयारी गरेको छ । समूहका अनुसार, ‘यस वर्षको सुपर बाउल उत्कृष्ट खेल र ब्याड बनीका कारण सम्झिनुपर्छ, डर र त्रास फैलाउने दृश्यका कारण होइन ।’
सान फ्रान्सिस्कोका मेयर ड्यानियल लुरी भने राजनीतिक तनावबीच पनि कार्यक्रम सफल र सुरक्षित हुनेमा आशावादी छन् । ‘हामी सबैलाई सुरक्षित राख्छौं,’ उनले भने, ‘र मलाई लाग्छ, अन्ततः यो रमाइलो र उत्सवकै रूपमा सम्पन्न हुनेछ ।’ यसरी, यसपटकको सुपर बाउल केवल खेल मात्र होइन अमेरिकाको अहिलेको सामाजिक र राजनीतिक तापक्रम झल्काउने ठूलो मञ्च बन्ने संकेत गर्दैछ ।