नेभिगेशन
स्वास्थ्य

स्क्रीनभित्रको एक्लोपन

मनोवैज्ञानिकहरू भन्छन्, ‘जब हामी मोबाइलबाट केही समयका लागि टाढा रहन्छौं, हाम्रो मस्तिष्कले ‘रिसेट’ हुने मौका पाउ“छ ।’ यसले एकाग्रता बढाउँछ, निद्राको गुणस्तर सुधार्छ र सबैभन्दा महत्वपूर्ण कुरा – हामीलाई वर्तमान समयसँग जोड्छ ।

काठमाडौंको एउटा व्यस्त कफी शपमा एक युवक करिब एक घण्टादेखि बसिरहेका छन् । उनको अगाडि कफीको कप र एउटा किताब छ । अनौठो कुरा के छ भने, यो एक घण्टाको अवधिमा उनले एकपटक पनि गोजीबाट मोबाइल झिकेनन् ।                

वरपरका मानिसहरू नोटिफिकेसनको सांकेतिक आवाजसँगै हतारहतार स्क्रिनमा औंला चलाइरहनु र कफीभन्दा पहिले मोबाइलको क्यामेराले फोटो खिच्नु सामान्य भइसकेको यो समयमा उनी भने शान्त भावमा पुस्तकका पाना पल्टाउँदै कफीको चुस्की लिइरहेका छन् । यो कुनै संयोग होइन, बरु पछिल्लो समय विश्वभर फैलिँदै गएको डिजिटल डिटोक्स र एप्सटिनेन्सको एउटा सुन्दर दृश्य हो । हामी यस्तो युगमा बाँचिरहेका छौं जहाँ बिहान आँखा खुल्नुअघि नै हातले मोबाइल खोज्छ र राति निद्रा लाग्नुअघिको अन्तिम दृश्य पनि चम्किलो स्क्रिन नै हुन्छ ।                    

आजको तथ्यांक हेर्ने हो भने स्थिति निकै गम्भीर र रोचक छ । सन् २०२६ को सुरुवातसम्म आइपुग्दा विश्वको जनसंख्या करिब ८ अर्ब २० करोड पुगेको छ । विश्वभर चलिरहेका मोबाइल फोन सेटको संख्या भने १२ अर्ब नाघिसकेको छ । डाटा रिपोर्टल र इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनको पछिल्लो प्रतिवेदन अनुसार विश्वका करिब ६ अर्ब १५ करोड मानिस इन्टरनेटको पहुँचमा छन् । अर्थात्, विश्वको झण्डै ७५ प्रतिशत जनसंख्या अहिले डिजिटल सञ्जालमा जोडिएको छ । औसतमा एक व्यक्तिले दिनको ६ देखि ७ घण्टा इन्टरनेटमा बिताउने गर्छन् । यसको सिधै अर्थ हुन्छ– हाम्रो सक्रिय जीवनको झण्डै एक तिहाइ समय भर्चुअल संसारमा खर्च भइरहेको छ । तर, यो प्रविधिको सुविधा मात्र होइन, एउटा गहिरो लत बनिरहेको छ ।                  

यही अतिशय प्रयोगले ल्याएको मानसिक र शारीरिक थकानका कारण अहिले ‘डिजिटल डिटोक्स’ को बहस चुलिएको हो । डिजिटल लतमाथि ‘इरेसिस्टेबल’ नामक पुस्तकका सर्जक न्यूयोर्क विश्वविद्यालयका प्रोफेसर एवम् चर्चित लेखक एडम अल्टरले यो समस्यालाई गहिरोसँग केलाएका छन् । ‘हामी अहिले यस्तो युगमा छौं जहाँ हाम्रा उपकरणहरू हामीलाई हर समय अल्झाइराख्नका लागि मनोवैज्ञानिकरूपमा डिजाइन गरिएका छन्,’ उनी भन्छन्, ‘यो कुनै संयोग होइन, बरु एउटा व्यापारिक रणनीति हो । हाम्रा स्मार्टफोनहरूले हामीलाई ७ दिन २४ घण्टा नै ‘जुवाको लत जसरी मोहित बनाइरहेका छन् ।’ उनका अनुसार प्रविधि कम्पनीहरूले हाम्रो मस्तिष्कको कमजोरीको फाइदा उठाएर हामीलाई स्क्रिनमा टाँसिइरहन बाध्य पारिरहेका छन् ।                

डिजिटल लत र यसको प्रभावबारे भएका पछिल्ला अनुसन्धानहरूले डरलाग्दो चित्र प्रस्तुत गरेका छन् । ‘किड्स एण्ड फेमिली’को एक प्रतिवेदन अनुसार, करिब ६० प्रतिशत अभिभावकहरू छोराछोरी स्मार्टफोनको लतमा परेको भन्दै चिन्तित छन् भने ५० प्रतिशत किशोरकिशोरीहरू आफैंले पनि आफू मोबाइलको लतमा रहेको स्वीकार गर्छन् । सन् २०२५ मा गरिएको एक विश्वव्यापी सर्वेक्षणले देखाएअनुसार, औसत प्रयोगकर्ताले आफ् नो फोन दिनमा १५० देखि २६० पटक सम्म ‘अनलक’ गर्ने गर्छन् ।            

बेलायतको रोयल सोसाइटी फर पब्लिक हेल्थले गरेको अनुसन्धानले इन्स्टाग्राम र टिकटक जस्ता भिजुअल प्लेटफर्महरूले युवाहरूमा चिन्ता, डिप्रेसन र ’बडी इमेज’ सम्बन्धी समस्या बढाएको पुष्टि गरेको छ । अनुसन्धानकर्ताहरूका अनुसार, केवल १० मिनेटको फेसबुक प्रयोगले पनि मानिसको ‘मूड’ मा परिवर्तन ल्याउन सक्छ । यस्तै, ‘पेन स्टेट युनिभर्सिटी’ को एक अध्ययनले सुत्नुअघि स्क्रिन हेर्ने मानिसहरूमा ‘मेलाटोनिन’ हर्मोनको कमी हुने र यसले निद्राको चक्र नै बिगारिदिने तथ्य सार्वजनिक गरेको छ । यी शोधहरूले प्रमाणित गर्छन् कि ‘डिजिटल डिटोक्स’ अब रहर मात्र नभई मानसिक सन्तुलन कायम राख्ने अनिवार्य आवश्यकता बनिसकेको छ ।                        

मनोवैज्ञानिक पक्षबाट हेर्दा यो समस्या झनै जटिल देखिन्छ । क्यालिफोर्निया विश्वविद्यालयका क्लिनिकल प्रोफेसर डा क्यामरुन सेपहले प्रतिपादन गरेको ‘डोपामाइन फास्टिङ’ को अवधारणा अहिले विश्वभर चर्चित छ । उनी भन्छन्, ‘हामीले स्क्रिनबाट पाउने तत्कालको सन्तुष्टिलाई नियन्त्रण नगर्ने हो भने हाम्रो मस्तिष्कको प्राकृतिक आनन्द लिने क्षमता कमजोर हुँदै जान्छ । डिजिटल लतले हाम्रो मस्तिष्कमा ‘डोपामाइन’ को बाढी ल्याउँछ, जसले गर्दा मानिसलाई सामान्य जीवनका कुराकानी, प्रकृति र मौनता उराठ लाग्न थाल्छ ।’ डा सेपहको तर्क छ, डिजिटल डिटोक्स केवल फोन छोड्नु मात्र होइन, बरु आफ्नो मस्तिष्कलाई पुनः अनुशासित बनाउने प्रक्रिया हो ।                    

समाजशास्त्रीय दृष्टिकोणबाट पनि यो एउटा ठूलो चुनौती बनेको छ । एमआईटीकी प्रोफेसर तथा प्रसिद्ध समाजशास्त्री शेरी टर्कलले आफ्नो अध्ययन ‘अलोन टुगेदर’मा उल्लेख गरे अनुसार प्रविधिले मानिसहरूलाई एकअर्काको नजिक ल्याएको भ्रम त दिएको छ, तर वास्तवमा यसले गहिरो एक्लोपन पैदा गरिरहेको छ । टर्कल तर्क गर्छिन्, ‘हामीले सोचेका थियौं कि हामी सधैं जोडिएका छौं, तर वास्तवमा हामीले कुराकानीलाई केवल जानकारीको आदानप्रदानमा सीमित गरिदियौं । एउटै टेबुलमा बसेर पनि मानिसहरू आ–आफ् नो मोबाइलमा व्यस्त हुनु भनेको मानवीय सम्बन्धको गहिरो संकट हो ।’ उनले रेस्टुरेन्ट वा घरका बैठक कोठाहरूमा देखिने ‘फबिङ’ (मोबाइलका कारण साथी वा पार्टनरलाई उपेक्षा गर्ने व्यवहार)लाई आधुनिक समाजको सबैभन्दा ठूलो विडम्बना मानेकी छन् ।                      

अचम्मको तथ्य के छ भने, प्रविधिको केन्द्र मानिने सिलिकन भ्यालीका ठूला कम्पनी (जस्तै एप्पल, गुगल र माइक्रोसफ्ट) मा काम गर्ने उच्च अधिकारीहरूले छोराछोरीलाई प्रविधिबाट टाढा राख्न ‘लो–टेक’ विद्यालयमा पठाउने गरेको पाइन्छ । जहाँ कम्प्युटरको साटो काठका खेलौना र हातले लेख्ने अभ्यास गराइन्छ । यसले प्रष्ट पार्छ कि जसले यो प्रविधि बनाए, उनीहरूलाई नै यसको दीर्घकालीन असरबारे राम्रोसँग थाहा छ । विश्व स्वास्थ्य संगठनले त अत्यधिक गेमिङ र डिजिटल लतलाई मानसिक स्वास्थ्य समस्याको रूपमा परिभाषित नै गरिसकेको छ ।                        

‘एप्सटिनेन्स’ वा डिजिटल परहेजले मानिसलाई यही लतबाट मुक्त हुन सिकाउँछ । यसको अर्थ प्रविधिलाई पूर्ण रूपमा त्याग्नु होइन, बरु यसको प्रयोगमा स्वनियन्त्रण कायम गर्नु हो । मनोवैज्ञानिकहरू भन्छन्, ‘जब हामी मोबाइलबाट केही समयका लागि टाढा रहन्छौं, हाम्रो मस्तिष्कले ‘रिसेट’ हुने मौका पाउ“छ ।’ यसले एकाग्रता बढाउँछ, निद्राको गुणस्तर सुधार्छ र सबैभन्दा महत्वपूर्ण कुरा – हामीलाई वर्तमान समयसँग जोड्छ । कतिपय परामर्शदाताहरूले त आफ्ना सेवाग्राहीलाई हप्ताको एक दिन ‘नो फोन डे’ मनाउन वा सुत्नुभन्दा दुई घण्टाअघि मोबाइललाई अर्कै कोठामा राख्ने सल्लाह दिन थालेका छन् ।                          

डिजिटल कोलाहलको युगमा एकछिन फोनलाई पर राखेर झ्याल बाहिरको आकाश हेर्नु वा प्रियजनको आँखामा हेरेर संवाद गर्नु नै सबैभन्दा ठूलो विलासिता र स्वस्थ जीवनको आधार बन्दै गएको छ । डिजिटल संसारको कोलाहलबाट केही समय बाहिर निस्कनु भनेको आफैंलाई पुनः भेट्नु हो । प्रविधिले संसारलाई नजिक त बनायो, तर कतै यसले हामीलाई आफैंबाट टाढा त बनाइरहेको छैन ? यो प्रश्नमा घोत्लिने र आफ्नो ‘डिजिटल बानी’ फेर्ने बेला पक्कै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य