काठमाडौं ६ ः नयाँ उम्मेदवार, पुरानो सिट, चुनावी गणित फेरिँदै
संवाददाता
काठमाडौं, २५ माघ
उपत्यकाका निर्वाचन क्षेत्रहरुका कुनै पनि दल वा उम्मेदवारले ‘मेरो प्रभाव क्षेत्र’ भने र दावी गर्न गाह्रो छ । किनभने अघिल्ला निर्वाचनहरुका नतिजालाई पछिल्लाले मात दिन्छन् । मतदाताका प्राथमिकतामा पार्टी र नेता फेरिन्छन् । काठमाडौं–६ मा पनि यस्तैचुनावी सरगर्मी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जीत जोगाउने कसरतमा छ भने कांग्रेस, एमाले लगायतका दलहरु रास्वपालाई यसपटक रोक्ने दाउमा छन् । तर, यसपटक क्षेत्रमा रास्वपा,एमाले र कांग्रेसबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने ठानिएको छ ।
०७९ मा रास्वपाका शिशिर खनालले जितेको यो क्षेत्रमा कांग्रेस र एमालेले नयाँ अनुहार अघि सारेका छन् । कांग्रेसबाट काठमाडौं जिल्ला सभापति कृष्णसबुज बानियाँ र एमालेले अमन मास्केलाई अघि सारेको छ । ०७९ को चुनावमा एमालेका सर्वेन्द्र खनाल निकटतम प्रतिस्पर्धी रहँदा कांग्रेसका भीमसेनदास प्रधान तेस्रो स्थानमा थिए ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट हिमाल शर्मा दोस्रोपटक यो क्षेत्रमा प्रतिस्पर्धामा छन् । दलसम्बद्ध १५ र स्वतन्त्र ५ गरी २० जना उम्मेदवार चुनावी मैदानमा छन् ।
०७९ को निर्वाचनमा प्राप्त गरेको मत हेर्दा रास्वपाले पहिलो, एमाले दोस्रो र कांग्रेस तेस्रो भएको क्षेत्र हो । तर, ०७४ मा भने कांग्रेस उम्मेदवार प्रधान यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
शिशिरलाई बानियाँ र मास्केको चुनौती
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–६ मा शिशिर खनाललाई नै उम्मेदवार दोहो¥याएको छ । खनालले गत निर्वाचनमा १४ हजार २२१ मत ल्याएर निर्वाचित भएका थिए । ०७९ को चुनावमा काठमाडौंमा रास्वपाको लहर चल्दा त्यसको लाभ खनाललाई पनि पुगेको थियो । उसो त त्यतिबेला कांग्रेसबाट ०६४, ७० र ७४ मा उम्मेदवार बनेका प्रधान नै उम्मेदवार बन्दा कतिपयले उम्मेदवार थोपरिएको भाष्य नै बनेको थियो भने अर्कोतिर एमालेबाट राजनीतिक छवि नभएका पूर्वप्रहरी अधिकारी खनाल मैदानमा थिए । कांग्रेसको पुरानो अनुहार र एमालेको भूगोलसँग अपरिचित र राजनीतिक छवि नभएको लाभ खनाललाई पुगेको थियो ।
तर, यसपटक कांग्रेस र एमालेले यो क्षेत्रमा रणनीति बदलेका छन् । कांग्रेसले यो क्षेत्रमा अवसर नपाएको भनेर सहानुभूति बटुल्न सक्ने स्थानीय बानियाँ र एमालेले प्रदेश सभामा जितेका अमन मास्केलाई नै मैदानमा उतारेको छ । कांग्रेस र एमालेको नयाँ अनुहार यसपटक खनालका लागि चुनौती हुनसक्ने स्थानीय बताउँछन् । तर, खनाल यसपटक पनि रास्वपाले जित्नेमा आशावादी देखिन्छन् । काठमाडौं–६ का मुद्दाहरु ३ वर्ष संसदमा रहँदा १५ पटक बढी उठाएको भन्दै खनाल मत मागिरहेका छन् । रास्वपाभित्र कम विवादमा परेका खनालको सरल र सालिन छवि, पुराना दलप्रतिको वितृष्णा नै उनका लागि बलियो आधार रहेको रास्वपाका स्थानीय नेता कार्यकर्ता बताउँछन् । खनाल सुशासन, आर्थिक सुधार, पूर्वाधार विकास, आर्थिक कूटनीति प्रवद्र्धनको योजना आफूसँग रहेको भन्दै मत मागिरहेका छन् ।
कांग्रेसको जिम्मेवारी बानियाँको काँधमा
काठमाडौं–६ मा ०७० र ०७४ मा जितेको अनुभव कांग्रेससँग छ । तर, ०७९ को निकट विगतमा कांग्रेस एकैपटक तेस्रो स्थानमा खस्केपछि अहिले विरासत फर्काउन कांग्रेसले नयाँ उम्मेदवार दिएको छ । यो क्षेत्रका स्थानीय, काठमाडौं कांग्रेसको दोस्रो कार्यकाल सभापति रहेका पुराना नेता कृष्णसबुज बानियाँ उम्मेदवार छन् । काठमाडौं–६ को भूगोलका लागि परिचित अनुहार भए पनि उम्मेदवारका रुपमा उनी पहिलोपटक प्रतिस्पर्धामा छन् ।
२०५४ सालमा तत्कालीन गोंगुब गाविसको अध्यक्ष भएका बानियाँका लागि रास्वपाका खनाल र एमालेका मास्के मुख्य चुनौती हुन् । पहिलोपटक प्रतिनिधि सभाको उम्मेदवार बनेका उनले नदी संरक्षणलाई प्रमुख चुनावी मुद्दा बनाएका छन् । आफू सांसद निर्वाचित भए शहरी संरक्षण तथा पुनर्जागरण सम्बन्धी संकल्प प्रस्ताव संसद बैठकमा पेस गर्ने उनको प्रतिबद्धता छ ।
०७९ मा उम्मेदवार दोहोरिँदा मतदाताले विश्वास नगरेको बताउने स्थानीय कांग्रेस नेता कार्यकर्ता यसपटक नयाँ अनुहार उम्मेदवार बन्दा उत्साही देखिन्छन् ।
गत निर्वाचनमा अन्यत्र गएको पार्टी भोट यसपटक फर्कने र स्थानीयस्तरमा परिचित अनुहार भएकाले अरु स्वतन्त्र मत पाउँदा यसपटक विरासत फर्काउने कांग्रेसका स्थानीय नेताहरु दाबी गछन् । २०७९ सालको निर्वाचनमा कांग्रेसले ८ हजार ८१२ मत पाएको थियो ।
निकटतम प्रतिस्पर्धीबाट निर्वाचित हुने दौडमा एमाले
एमाले यसपटक काठमाडौं–६ मा जित निकाल्नेमा ढुक्क देखिन्छ । एमालेबाट यो क्षेत्रमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएर अमनकुमार मास्के उम्मेदवार बनेका छन् । इञ्जिनियरसमेत रहेका मास्के बागमती प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री पनि भएका थिए । तारकेश्वर नगरपालिका–फुटुङका स्थायी बासिन्दा मास्के यसपटक बलियो उम्मेदवारका रुपमा हेरिएका छन् । प्रदेशको भौतिक पूर्वाधार मन्त्री हुँदा क्षेत्रका लागि उनले विनियोजन गरेको बजेट चुनाव जित्ने आधार रहेको एमाले कार्यकर्ताहरु दाबी गर्छन् ।
उसो त, ०७९ मा रास्वपाको लहर चलेका बेला एमाले उम्मेदवार प्रहरीका पूर्वअधिकारी खनाल दोस्रो भएकाले मास्के उठ्दा यसपटक मत थपिने एमाले विश्लेषण छ । मास्के प्रदेश सभामा ८ हजार ५९ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनले चुनाव जितेको प्रदेशसभा टोखा नगरपालिकाको वडा नं १ र ८ तथा तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ वडा पर्छन् । ती क्षेत्रमा मास्केको प्रभाव देखिन्छ । जितेको प्रदेशसभा ६(२) मा आफ्नो प्रभाव कायम राख्दै अर्को प्रदेशमा केही मत थप्न सके मास्केका लागि जित धेरै टाढा नहुने भन्दै यो क्षेत्रका एमाले नेता कार्यकर्ता मतदाताको घरघर पुगिरहेका छन् । ‘विकास भनेको आजको लागि मात्र होइन, पुस्तौंका लागि योजना हो’ भन्दै मत मागिरहेका मास्के भन्छन्, ‘राजनीति एउटा सेवा हो । पेसा होइन । एमालेले यसपटक जित्नेछ र इतिहास कायम हुनेछ ।’
तर, मास्केका लागि रास्वपाका खनाल र कांग्रेसका बानियाँ मुख्य चुनौती बन्न सक्छन् । रास्वपाको ह्वीम र बदलिएको सन्देशसहित आएको कांग्रेसको नयाँ अनुहारलाई पराजित गर्न मास्केका लागि असम्भव नभएपनि सहज भने हुनेछैन ।
नेकपा र राप्रपा पनि सक्रिय छन् मैदानमा
यो क्षेत्रमा ०६४ देखि यताका परिणामलाई हेर्दा अहिले रास्वपा, कांग्रेस र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने ठानिएको छ । तर, यो क्षेत्रमा सबैलाई उछिन्दै जित निकाल्ने दाबीसहित नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि मत माग्न व्यस्त छन् ।
नेकपाबाट हिमाल शर्मा दोस्रोपटक यो क्षेत्रमा उम्मेदवार बनेका छन् । उनी ०७० सालमा यो क्षेत्रमा उम्मेदवार बन्दै पराजित भएका थिए । ‘मुलुक र यस क्षेत्रको लागि केहि गरौं भन्ने हुटहुटी छ ।
‘काठमाडौ क्षेत्र नं ६ का न्यायप्रेमी मतदाताहरुले मलाई एक पटक मौका प्रदान गर्नुहुने छ भन्ने विश्वास लिएको छु,’ शर्मा बताउँछन् । विभिन्न कम्युनिष्ट घटक मिलेर बनेको नेकपाबाट उम्मेदवार रहेकाले शर्माले यसपटक जित निकाल्ने दाबी उनका अगुवा कार्यकर्ताहरुको छ । तर, रास्वपा कांग्रेस र एमालेको बलियो संगठन र परिचित अनुहार शर्माका लागि चुनौती देखिन्छन् ।
त्यस्तै, राप्रपाले उद्धवराज भेटुवाललाई उम्मेदवार बनाएको छ । सुशासन, विकास र जनतामुखी नीतिलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनी मत मागिरहेका छन् । भेटुवाल पनि चुनाव आफूले जित्ने दाबी गरिरहेका छन् ।
काठमाडौं–६ मा काठमाडौं महानगरपालिकाको २६, २७ र २८ नम्बर वडा, टोखा नगरपालिकाको १, ८, ९, १० र ११ र तारकेश्वर नगरपालिकाका वडा १, २, ६, ७, ८, ९, १० र ११ पर्छ । यो क्षेत्रमा कुल ६७ हजार ७५९ मतदाता छन् ।