संवाददाता
काठमाडौं, माघ २४
निर्देशक तुलसी घिमिरेले एउटा मसला फिल्मको कथा निर्माताहरुलाई सुनाएका थिए । जसमा आफूले मन पराएकी युवती लक्ष्मी अर्कैसँग बिहे गरी दुई सन्तानसमेत जन्माएर खुसीपूर्वक जीवन बिताएको देखेपछि आवेगमा राते काइँलाले युवतीका पतिको हत्या गर्छ । लक्ष्मीले धेरै वर्षपछि आफ्नो पतिको हत्यारा राते काइँलासँग तिनै दुई छोराका बलमा बदला लिन्छे । २०४५ माघ २ गते काठमाडौंमा रिलिज भएको ‘चिनो’ नेपाली फिल्ममा एउटा विशेष प्रयोग थियो ।
भारतीय मसला फिल्मका आदि नेपाली दर्शकले यो ‘चिनो’ यति मन पराए कि फिल्मले सफलताको नयाँ मानक बनायो । यो फिल्म काठमाडौंमा २५ हप्तासम्म चल्यो । फिल्मको सफलताले नायक शिव श्रेष्ठ र भुवन केसीको करियरलाई थप मजबुत त बनायो नै नायिकाहरु कृष्टि केसी र शर्मिला मल्लको अभिनय यात्रामा पनि उत्तिकैै सघायो । फिल्मका खलनायक ‘राते काइँला’का लागि यो फिल्मको सफलताले मुम्बई छाडेर नेपालमै स्थायी बसोबासको बाटो खोल्यो ।
नेपालमा सर्वाधिक फिल्ममा अभिनय गर्ने सीमित कलाकारमध्ये एक तिनै राते काइँला सुनिल थापाको शनिबार ६८ वर्षको उमेरमा निधन भएको छ । उनलाई चिकित्सकहरुले कार्डियाक अरेस्ट भएको बताएका छन् । बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । त्यहीँ उनको निधन भएको घोषणा चिकित्सकले गरे ।
उनको निधनले लामो समयदेखि फिल्म उद्योगमा काम गरिरहेका प्राविधिक तथा कलाकारहरुमाझ एउटा असल व्यक्तिको निधनमा विषाद छाएको छ । नेपाली फिल्म उद्योगमा मात्र होइन, बलिउडमा समेत उनको निधनप्रति भावुक स्टाटसहरु देखिएका छन् । खासगरी बलिउड÷हलिउड अभिनेत्री प्रियंका चोपडा जोनासले एउटा भावुक स्टाटस लेखेकी छन् । भारतकी बक्सिङ क्वीनका रुपमा चर्चित ‘मेरी कोम’को जीवनीमा आधारित फिल्ममा प्रियंकाले मेरी कोमको अभिनय गरेकी थिइन् ।
त्यो बेला चोपडाका पिता डा. अशोक चोपडाको निधन भएकै वर्ष सन् २०१३ मा प्रियंका ‘मेरी कोम’ फिल्ममा व्यस्त रहिन् । फिल्मको सुटिङ अवधिभर थापाले बुवाको कमीलाई मानसिक तथा भावनात्मक सहयोग गरेको सम्झदै आफ्नो फेसबुक पोस्टमा सम्झिएकी छन् ।
उनले भनेकी छन्, ‘तपाईं मेरा लागि सधैं कोच सरका रुपमा रहिरहनु हुनेछ । मेरा बाको भर्खरै निधन भएको बेला तपाईंले मलाई स्नेह र प्रेम दिनुभयो । मेरा अप्ठेरा दिनमा थाहै नभई सहयोग गर्नुभयो । त्यो बेलाको तपाईंको स्नेही अँगालो, तपाईंको हाँसो मेरो स्मरणमा सधैं रहिरहनु हुनेछ ।’
उनले थापाको निधन चाँडै भएकोमा विस्मातसमेत पोखेकी छन् । भावनात्मक रुपमा आफू टुटेका बेला देखाएको करुणाका लागि उनले धन्यवादसमेत दिएकी छन् ।
उता अभिनेता राजेश हमालले पनि थापाजस्तो असल व्यक्तित्वलाई गुमाएकामा दुःखी देखिए । उनले लामो समय विभिन्न फिल्ममा आफूहरुले काम गरेको स्मरण गर्दै एउटा असल कलाकार र असल व्यक्ति दुवैको मिश्रण भएको भावुक प्रतिक्रिया दिए ।
केही समययता थापाको स्वास्थ्यमा समस्या देखिइरहेको र चिकित्सकहरुले धूमपान र मद्यपान त्याग्न सुझाएयता चार वर्षदेखि पथपरहेजमा थिए । ‘दुई महिनाअघि मात्र उहाँसँग कुराकानी गर्दा आफू स्वास्थ्यका रुपमा फिट रहेको बताउँदै हुनुहुन्थ्यो,’ लामो समयदेखिका मित्र फिल्म निर्माता÷निर्देशक अशोक शर्माले संवाददातासँग भने, ‘तर एक्कासि यो खबर सुन्दा विश्वासै लागिरहेको छैन ।’ घटनाप्रति उनले दुःख व्यक्त गरे ।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार थापा आफ्नै कोठामा विहान अचेत भेटिएका थिए । ‘बिहान फिल्म सुटिङमा जानुपर्ने भएकाले आफूसँगै रहेका सहयोगीलाई चाँडै उठाउन भन्नुभएको रहेछ, ती सहयोगी बिहान उठाउन जाँदा थापालाई अचेत पाएपछि अस्पताल ल्याइएको रहेछ,’ निरौलाले भने, ‘अस्पतालले प्रारम्भिक जाँच गरेपछि मृत घोषणा गरेको हो ।’
लामो समयदेखि नेपालसँगै बलिउडमा सक्रिय रहेका थापाको असामयिक निधनले उनीसँगै काम गरेकाहरु स्तब्ध छन् । फिल्मका खलपात्रलाई पनि नायक एवम् चरित्र अभिनेतासरह चर्चा र सम्मान दिलाउन सफल थापाले ‘राते काइँला’ लगायतका धेरै पात्र बनेर काम गरे । ती विशेष रूपमा लोकप्रिय पनि थिए ।
उनी काठमाडौंको शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए । नयाँ बानेश्वरमा उनले एक दशकयता एभरेस्ट फिल्म एकेडेमी सञ्चालन गर्दै आएका थिए । सुटिङका बेलाबाहेक उनी फिल्म एकेडेमीमा बिहान ७ बजे नै पुगिसकेका हुन्थे ।
भारतको सिक्किम प्रदेशले निर्माण तथा प्रताप सुब्बाद्वारा निर्देशित ‘मशाल’ फिल्मबाट उनले नेपाली दर्शकलाई रिझाउने प्रयास गरे । उनी मशालमा सुनील थापाकै नाममा पर्दामा देखिएका थिए ।
त्यसअघि नै उनले हिन्दीमा ‘एक दुजे के लिए’ फिल्मबाट निकै ख्याति कमाइसकेका थिए । मशालमा अभिनय गर्न नेपालबाट सिक्किम पुगेका अशोक शर्मा सोही फिल्ममा थापाको ‘चम्चा’का रुपमा अभिनय गरेका थिए ।
थापासँगको पहिलो भेट सम्झँदै शर्माले भने, ‘सुनील दाइसँग मेरो आत्मीय सम्बन्ध थियो । पहिलो दिनको सुटिङ नै डेनी डेन्जोङपा र सुनील थापासँग भएकाले मैले त संवाद नै बोल्न सकिनँ । दाइले नै मलाई रातभरि तयार गराउनुभयो र भोलिपल्ट एक टेकमा काम सकियो ।’
‘मशाल’ नेपालमा उति चर्चित नभए पनि पछि ‘चिनो’ फिल्मबाट आफ्नो सबल उपस्थिति देखाएका थिए । सो फिल्ममा ‘राते काइँला’का रुपमा प्रख्यात भए । सोही चरित्रका कारण उनी रातारात नेपाली फिल्मका अनिवार्य खलनायक बन्न पुगे ।
त्यसयता उनले अढाई सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । भारतमा भने बक्सर मेरी कोमको जीवनीमा आधारित फिल्ममा कोमको कोचका रूपमा अभिनय गरेर निकै चर्चा बटुले । पछिल्लो समय उनले नेटफ्लिक्सको शृंखला ‘फ्यामिली म्यान’को तेस्रो सिजनमा आफ्नो कला पस्किएका थिए ।
पछिल्लो समय थापा ‘राम नाम सत्य’को सुटिङको अन्तिम कामहरू गरिरहेको उनका नजिक रहेर काम गरिरहेका कलाकार विल्शन विक्रम राईले जनाए । यसअघि उनको अन्तिम सुटिङ ‘पेन्सन पट्टा’को थियो । पछिल्लो समय उनले अभिनय गरेको साईफाई ‘एक्लो’ हालै विदेशका सिनेमा हलहरूमा चलिरहेको छ ।
अभिनेता थापाका श्रीमती, एक छोरा र एक छोरी छन् । फिल्मकर्मी सामीप्य तिमल्सेनाका अनुसार उनको अन्तिम संस्कार आइतबार गरिनेछ । त्यसअघि बिहान ७ बजे पोस्ट मार्टमका लागि नर्भिकबाट टिचिङ हस्पिटल लगिने र त्यहाँबाट चलचित्र विकास बोर्डमा श्रद्धाञ्जलीका लागि पु¥याइने छ ।