ज्ञानमणि नेपाल कालोटोपी
काभ्रे ।
काभ्रे क्षेत्र नम्बर २ विगतमा नेकपा एमालेबाट पटक पटक जित्दै आएका पूर्वमन्त्री गोकूल बाँस्कोटाको क्षेत्र हो । तर यो पटक एमालेले यहाँ बाँस्कोटाको ठाउँमा अशोक व्याञ्जुलाई उठाएको छ ।
यस्तै नेपाली कांग्रेसको राजनीतिमा लामो समय खर्चिएका केन्द्रीय सदस्य मधुप्रसाद आचार्य पनि यही क्षेत्रबाट उम्मेदवार बनेका छन् । उनी ०७४ सालमा गोकूल बाँस्कोटासँग यही क्षेत्रबाट पराजित भएका थिए । उनी नेपाली कांग्रेसका काभ्रे जिल्ला पूर्वसभापति समेत हुन् ।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट वसुन्धरा हुमागाईं उम्मेदवार बनेका छन् । उनी यसअघि ०७४ सालको निर्वाचनमा प्रदेश सांसद हुँदै वागमती प्रदेशका कृषिमन्त्रीसमेत थिए ।
रास्वपाबाट बदन भण्डारी पहिलो पटक प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । उनी यसअघि नेकपा एमाले, समाजवादीलगायत पार्टीमा रहँदै पछिल्लोपटक राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अहिले उम्मेदवार बनेका हुन् । यस्तै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको तर्फबाट होटल व्यवसायी ज्योत्सना सैंजु उम्मेदवार छिन् । उनी राजनीतिमा नयाँ अनुहारको रुपमा देखिएकी छिन् ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीले युवा नेता रन्जिब श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उनले राप्रपाको राजनीतिमा लामो समय बिताइसकेका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ मा १६ दल र ८ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये दुईवटा दल र एक जना स्वतन्त्र गरी ३ जना महिला उम्मेदवार छन् ।
यस्तै नेमकिपाबाट मुना तामाङ, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट राजन थापा, नेशनल रिपब्लिक नेपालबाट सुकमान तामाङको उम्मेदवारी परेको छ भने राष्ट्रिय जनमोर्चाबाट सूर्वणविक्रम थापा, मितेरी पार्टी नेपालबाट हरिबहादुर थापा, मंगोल नेशनल अर्गनाईजेशनबाट उमेश तामाङले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
यस क्षेत्रमा जनता समाजवादी पार्टीबाट रकम लामा तामाङ, श्रम संस्कृति पार्टीबाट टंकबहादुर लामा, प्रगतिशील लोकतान्त्रिकबाट रमेशबहादुर घर्ति क्षेत्री र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट कान्छाराम घिसिङले पनि उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै यहाँ आशा तामाङ, उमेश थापा, केशवराज तिमल्सिना, गणेशप्रसाद अधिकारी, डिल्लीप्रसाद न्यौपाने, लेनिन विष्ट, विष्णुकुमार श्रेष्ठ र सीताराम मैनालीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
आ-आफ्नै प्रतिबद्धता, विकास र सुशासनमा जोड
यहाँ पुराना भनिएका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा तथा नयाँ दल रास्वपाबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
कांग्रेस र एमालेभित्रको आन्तरिक विवादको फाइदा अरु दलहरुले लिनसक्ने अनुमान छ । सबैजसो उम्मेदवारहरुले आआफ्ना चुनावी एजेण्डाहरु जनतासामू राखिरहेका छन् ।
बदलिएको कांग्रेसको नेतृत्व गर्दै जेनजी पुस्ताका माग र सुशासन कायम गर्न आफ्नो उम्मेदवारी दर्ता भएको कांग्रेस नेता मधु आचार्य बताउँछन् । इञ्जिनियरसमेत रहका उनी अब कांग्रेस पुराना कमजोरी सुधार गर्दै नयाँ ढंगले अघि बढिसकेको र जनताले आफूलाई विश्वास गर्ने दाबी गर्छन् ।
यस्तै एमालेका जिल्ला अध्यक्षसमेत भई दुई कार्यकाल धुलिखेल नगरपालिकाको मेयर भइसकेका एमालेका अशोक व्याञ्जु एमालेले विरासत जोगाएर काभ्रेको विकासमा थप बल दिने दाबी गर्छन् ।
एमालेकै राजनीतिक पृष्ठभूमीबाट नेकपा समाजवादी हुँदै नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका वसुन्धरा हुमागाईं आफू प्रदेशको कृषि मन्त्री हुँदा शुरु भएका कामहरुलाई निरन्तरता र पूर्णता दिनका लागि उम्मेदवारी दिएको बताउँछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदनकुमार भण्डारी जेनजी आन्दोलनले खोजेको युवा पुस्तान्तरण, भ्रष्टाचार अन्त्य तथा जनहितमा आवश्यक नीतिहरु निर्माणका लागि आफूले उम्मेदवारी दिएको बताउँछन् । उनले पुराना दलहरुका कामहरु पटक पटक देखिसकिएकाले अब नयाँ आएकाहरुलाई अवसर प्रदान गर्न जनता उत्सुक रहेको आफूले पाएको दाबी गरे । देश परिवर्तनका लागि पनि आफ्नो जीत आवश्यक रहेको उनको भनाइ छ ।
नागरिकका अपेक्षा सुशासन, इमानदार नेतृत्व, रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा केन्द्रित रहेको र जनताले विकास र स्थायित्व चाहेको राप्रपाका उम्मेदवार रन्जिब श्रेष्ठ बताउँछन् । भ्रष्टाचार, बेरोजगारी र मूल्यवृद्धि अझै समाधान हुन नसकेको भन्दै उनले नागरिकको मनस्थिती आशा र निराशाको बीचमा रहेको र यो चुनावले वास्तविक परिवर्तन ल्याउने भएकाले आफूले उम्मेदवारी दिएको बताउँछन् । उनले प्रदेश संरचना खारेज र हिन्दु धर्मसहितको राजतन्त्रको स्थापना गर्ने एजेण्डासहित आफू अघि बढेको बताए ।
यसैगरि उज्यालो नेपाल पार्टीकी उम्मेदवार ज्योत्सना सैंजु नयाँ तरिकाले नेपालको निर्माण गर्ने र सामाजिक न्याय, सुशासन र समृद्धिका लागि आफू राजनीतिमा आएको बताउँछिन् । बेथितीको अन्त्यका लागि र पुराना नीति हटाएर नयाँ नीति निर्माणका लागि पनि यो पटक जनताका माझ आएको उनी बताउँछिन् ।