नेभिगेशन
मनोरञ्जन

सुनिल थापाको अन्तिम बिदाइ

प्रख्यात कलाकार सुनील थापालाई आइतबार पशुपतिनाथस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । ठूलो भीडले उनलाई त्यहाँ पनि अन्तिम बिदाइ ग¥यो । उनका छोरा अनमोलले दागबत्ती दिएका थिए ।

कलाकर्मीहरूले ‘राते काइँला’ नामले परिचित अभिनेता सुनील थापाको निधनले समग्र कलाकारिता जगतमा अपूरणीय क्षति पुगेको बताएका छन् ।

शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि थापाथलीस्थित नर्भीक अस्पतालमा पु¥याइएका ६८ वर्षीय थापाको दुःखद निधन भएको थियो ।  

प्रारम्भिक जाँच गरेपछि अस्पतालले उनलाई शनिबार बिहान ७ बजेर ४४ मिनेटमा निधन भएको घोषणा गरेको थियो । नेपालीसँगै भारतीय चलचित्रमा प्रसिद्ध नाम बनेका अभिनेता थापाको निधन चलचित्रकर्मी स्तब्ध भएका छन् । पछिल्लो समय थापाले नेपाली चलचित्र ‘राम नाम सत्य’ को छायांकन गरिरहेका थिए ।

उक्त चलचित्रमा खलपात्रको भूमिकामा निर्वाह गरिरहेका थापाको हिजो छायांकनको अन्तिम दिन शनिबार रहेको उक्त चलचित्रका निर्देशक माइकल चन्दले जानकारी दिए ।

उनले भने, ‘शुक्रबार राति १० बजेसम्म अभिनेता थापा छायांकनमै हुनुहुन्थ्यो । हामीले उहाँको सम्पूर्ण काम शुक्रबार राति नै सकाउने तयारी गरेका थियौं तर उहाँले नै शनिबार बिहान गरौं भनेपछि सारेका थियौं । पछिल्लो समय झण्डै चार हप्तादेखि उहाँले चलचित्रमा काम गरिरहनुभएको थियो ।’

निर्देशक चन्दका अनुसार खलपात्रको भूमिका निर्वाह गरिरहेका थापाको अन्त्येष्टिकै दृश्य शनिबार छायांकन गर्ने तयारी भएको थियो । उनले निर्वाह गरेको खलपात्रलाई चलचित्रका अभिनेता विराज भट्टले ‘राम नाम सत्य’ को छायांकन गर्ने दृश्य थियो ।

निर्देशक चन्दले भावविह्वल हुँदै भने, ‘चलचित्रमा उहाँलाई जलाउने दृश्य खिच्नु थियो । हामीले केही दिनदेखि द्वन्द्वका दृश्य छायांकन गरिरहेका थियौं, सोही कारण एकहप्तादेखि निरन्तर छायांकनमा संलग्न थियौं । उहाँले शनिबार बिहान ६ बजेदेखि १० बजेसम्म छायांकन गरेर एउटा पारिवारिक समारोहमा सहभागी हुनुपर्ने कुरा बताउनुभएको थियो । शुक्रबार बेलुका नियमितरूपमा छुटिएका थियौं, त्यो नै अन्तिम भेट भयो ।’

उनीसँगै चलचित्रमा अभिनय गरिरहेका अभिनेता प्रशान्त ताम्राकारले अभिनेता थापाको निधनलाई पत्याउन गाह्रो भइरहेको बताए ।

शनिबार बिहान हामी अभिनेता थापालाई छायांकनका लागि कुरिरहेका थियौं, अचानक उहाँ नरहेको खबर आयो । मैले चलचित्र ‘राम नाम सत्य’मा पहिलो दृश्य उहाँसँगै दिएँ, हिजो बेलुकी अन्तिम दृश्य पनि उहाँसँगै भयो । उहाँले मलाई छायांकन अवधिभर प्रोत्साहन गरिरहनुभयो, आफ्नो अनुभवले हामीलाई मार्गनिर्देश गर्नुहुन्थ्यो,’ अभिनेता ताम्राकारले भने ।

अभिनेता भुवन केसीले चलचित्र क्षेत्रले देशकै अब्बल कलाकार गुमाएको प्रतिक्रिया दिए । नेपालीसँगै भारतीय चलचित्रमा स्थापित हुनुभएका अभिनेता थापा आफ्नो एक असल मित्र रहेको उनले बताए ।

‘अभिनेता थापा मेरा लागि कलाकारभन्दा पनि असल मित्र हुनुहुन्थ्यो । चलचित्र ‘चिनो’ मा पहिलोपटक काम गरेयता हामीले थुप्रै चलचित्रको सेटमा कयौं अन्तरंग क्षण बिताएका थियौं । मैले निर्माण गरेका चलचित्रहरू ‘सपना’देखि ‘क्याप्टेन’सम्म हामीले सहकार्य गरेका छौं । उहाँ र म एकअर्कालाई भेट्दा सधैं के छ दोस्त भनेर सोध्ने गथ्र्यौं । उहाँको बिदाइले हामीलाई अपूरणीय क्षति पुगेको छ,’ अभिनेता केसीले भने ।

नेपाली चलचित्र ‘चिनो’मार्फत अभिनेता थापालाई नेपाली चलचित्रमा स्थापित गराएका निर्देशक तुलसी घिमिरेले पात्रलाई जीवन्त बनाउन सक्नु नै उनको खुबी रहेको बताए ।

‘अभिनेता थापाले आफ्नो कामलाई सधैं गम्भीरतापूर्वक लिएर सम्पन्न गर्न मेहनत गर्नुभयो । पछिल्लो समय मैले चलचित्र ‘पहाड’मा उहाँसँग काम गरें,  उहाँको मिहिनेती भाव देखेर म खुसी थिएँ । हामीले उहाँको दृश्यलाई समावेश गरेर प्रचार गर्न श्रव्यदृश्य (टिजर) तयार गरेका थियौं, त्यही देखाउने सल्लाह हुँदै थियो, अचानक दुःखद खबर सुनें । उहाँको अनुपस्थिति हामी चलचित्रकर्मीलाई महसुस हुनेछ,’ निर्देशक घिमिरेले भने ।

अभिनेता थापाको जन्म २०१७ जेठ ६ गते दाङमा भएको थियो । कलाकारिता गर्नुअघि उनले मुम्बईमा मोडलिङ, फुटबल खेल तथा फोटो पत्रकारिताजस्ता क्षेत्रमा काम गरे । भारतीय चलचित्र ‘एक दुजे के लिये’बाट कलाकारिताको सुरुआत गरेका थापाले नेपाली चलचित्र ‘मसाल’मार्फत नेपालमा अभिनय यात्रा प्रारम्भ गरे । करिब ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थापाले नेपाली, हिन्दी र भोजपुरी भाषाका चलचित्रमा काम गरेका थिए । पछिल्लो समय ‘द फ्यामिली म्यान’ नामक भारतीय वेब शृंखलाले उनलाई चर्चामा ल्याएको थियो । नेपाली चलचित्रले एक अनुभवी कलाकार र अमूल्य सांस्कृतिक धरोहर गुमाएको कलाकार, चलचित्रकर्मी तथा शुभेच्छुकहरूले बताएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन