ज्ञानमणि नेपाल ‘कालोटोपी’
काभ्रे । यसपटकको प्रतिनिधि सभा निर्वाचनमा काभ्रेमा धेरै नेताहरु आफ्नो लागि मत माग्दैनन् तर आफ्नाका लागि भने मागिरहेका छन् । यसको मतलब यसअघिका निर्वाचनमा पटकपटक उम्मेदवार बनेका केही चर्चित अनुहार यो पटक भने टिकट पाउनबाट बञ्चित रहेका छन् । जसमा एमालेका गोकुल बाँस्कोटादेखि कांग्रेसका गणेश लामासमेत रहेका छन् ।
गोकुल बाँस्कोटा
बाँस्कोटा नेकपा एमाले काभ्रे क्षेत्र नम्बर २ का पूर्वसांसद हुन् । उनले यसअघि २०७० सालको निर्वाचनमा पहिलो पटक प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिएका थिए । एमाले काभ्रे जिल्लाका पूर्वअध्यक्ष उनी त्यसयता २०७४ सालको निर्वाचनमा देशकै लोकप्रिय मत पाएर विजयी भएका थिए । त्यतिबेला उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मधु आचार्य थिए । सो निर्वाचनमा एमाले र माओवादी केन्द्रको एकता भएको थियो । त्यसपछि संचार तथा सूचना प्रविधि मन्त्री बनेका बाँस्कोटा सेक्यूरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोडको मुद्दामा आरोपित भए ।
त्यसपछि ०७९ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट उम्मेदवार बने । सो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, समाजवादीलगायतका दलहरुको चुनावी गठबन्धन हुँदासमेत बाँस्कोटा करिब ६ हजार मतान्तरले विजयी भए । पटकपटक विवादमा आएपनि उनलाई आफ्नो क्षेत्रमा राम्रो काम गरेको जस जान्छ । त्यसैले यसपटक पनि उनले टिकट पाउलान् भन्ने एमाले कार्यकर्ताको आँकलनबीच पाएनन् । बरु धुलिखेल नगरपालिकाका बाहालवाला मेयर अशोक व्याञ्जुलाई एमालेले उम्मेदवार बनाएर यो पटक चुनावी मैदानमा पठाएको छ । त्यसैले गोकुल बाँस्कोटाले यो पटक आफूलाई मत माग्दैनन् तर आफ्नो पार्टीलाई मत मागिरहेका छन् ।
चन्द्रबहादुर लामा
नेकपा एमाले काभ्रेको राजनीतिमा चन्द्रबहादुर लामा कुनै नौलो नाम होइन । ०७४ सालको निर्वाचनमा काभ्रे जिल्लाको काभ्रे क्षेत्र नं १ को प्रदेश सभा ‘ख’ बाट निर्वाचित भएका थिए उनी । लामाले त्यतिबेला जीत हासिल गरे पनि ०७९ सालको प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थ लामासँग ३ मतको झिनो मतान्तरले पराजय भोग्नु पर्यो । एमाले काभ्रेको १० औँ जिल्ला अधिवशेनबाट जिल्ला उपाध्यक्षसमेत रहेका लामाले यो पटक एमालेबाट काभ्रे क्षेत्र नम्बर १ मा टिकट पाउने चर्चा थियो । तर पार्टीले यो पटक त्यहाँ नयाँ अनुहार अघि सारेको छ । यहाँ अहिले एमालेबाट अमित लामा उम्मेदवार छन् ।
रेशमबहादुर लामा
रेशमबहादुर लामा काभ्रेपलाञ्चोक जिल्लामा सक्रिय राजनीतिज्ञ हुन् । उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सक्रिय सदस्य हुन् । पार्टीभित्र विभिन्न जिम्मेवारी निभाउँदै आएका उनी आफ्नो निर्वाचन क्षेत्रको संगठनसँग निकटरूपमा काम गर्दै सदस्यहरूको समन्वय र पार्टी कार्यक्रमहरू सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । साथै, पार्टीको निर्णय प्रक्रियामा सुझाव र नेतृत्व प्रदान गर्ने, स्थानीयस्तरमा सदस्यहरूलाई प्रशिक्षण दिने र अभियानहरू व्यवस्थित गर्ने कार्यमा उनी संलग्न छन् । लामालाई एमालेले ०७९ को निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उठाएको थियो । तर यस चुनावमा उनी गठबन्धनका उम्मेदवार सूर्यमान दोङसँग पराजित भए । यस पटकको निर्वाचनमा पार्टीले फेरि उनलाई उठाउन सक्ने अनुमान धेरैले गरेका थिए । तर टिकट पाउनबाट बञ्चित रहे ।
शिव हुमागाईँ
नेपाली कांग्रेस काभ्रेको राजनीतिमा पुरानो र परिचित नाम हो शिव हुमागाईं । पटक पटक प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार भए पनि ०५६ सालको निर्वाचनमा काभ्रे क्षेत्र नम्बर ३ बाट जीत हात पारेका हुमागाईं काभ्रे कांग्रेसका पूर्वसभापति पनि हुन् । उनी शेरबहादुर देउवा कांग्रेसको सभापति हुँदा केन्द्रीय सदस्यसमेत भइसकेका व्यक्ति हुन् । ०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी, नेकपा समाजवादीलगायत गठबन्धनका साझा उम्मेदवार हुमागाईं एमालेका गोकुल बाँस्कोटासँग करिब ६ हजार मतान्तरले पराजित भएका थिए । देउवा निकट रहेका उनले गगन थापा र विश्वप्रकाशहरुले विशेष महाधिवेशन गरेको विधानसम्मत नभएको बताउँदै यो चुनावमा आफू उम्मेदवार नहुने घोषणा गरेका थिए । त्यसपछि काभ्रे क्षेत्र नम्बर २ मा मधु आचार्यले टिकट पाए ।
गणेश लामा
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गणेश लामा काभ्रेको राजनीतिमा निकै चर्चामा छन् । उनी विभिन्न समयमा विभिन्न अभियोगमा पक्राउसमेत भइसकेका थिए । उनी नेपाली कांग्रेसबाट चोइटिएर बनेको विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता थिए । पछि कांग्रेस र फोरम एकीकरण भएपछि लामा पनि कांग्रेसका नेता भएका हुन् । उनी ०७४ सालको निर्वाचनमा काभ्रे क्षेत्र नम्बर–१ प्रदेश ‘ख’ बाट कांग्रेसका उम्मेदवार रहेका थिए । त्यहाँ एमालेका चन्द्रबहादुर लामासँग करिब ४ हजार मतान्तरले पराजित भए । त्यसयता यसपटकको निर्वाचनमा काभ्रे क्षेत्र नम्बर १ मा उनको नाम चर्चामा थियो तर कांग्रेसभित्रकै आन्तरिक विवादका कारण लामाले टिकट पाएनन् । बरु जिल्ला सचिवसमेत भएका गुणराज मुक्तान कांग्रेसका उम्मेदवार बनेका छन् ।
सूर्यमान दोङ ‘लालध्वज’
पञ्चायत विरोधी आन्दोलनमा समेत भाग लिने मौका पाएका सूर्यमान दोङ लालध्वज माओवादी जनयुद्धको जगमा सम्पन्न २०६२÷०६३ को जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधि सभाको सदस्यमा चयन भएका थिए । २०६४ सालमा सम्पन्न संविधान सभा सदस्य निर्वाचनमा विजयी भएका दोङ २०६८ सालमा ऊर्जा राज्यमन्त्री भएका थिए । २०७० सालमा सम्पन्न संविधान सभा निर्वाचनमा भने उनी नेपाली काँग्रेसका तीर्थ लामासँग पराजित भएका थिए । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट ०७९ को निर्वाचनमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । सो निर्वाचनमा दोङका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रेशमबहादुर लामा थिए । लामो समय नेकपा माओवादीको राजनीतिमा रहेका उनी पछिल्लोपटक एकीकरण भएको नेपाली कम्युनिष्ट पार्टीका सक्रिय नेता हुन् । उनको नाम यो पटक काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट टिकट पाउनेको लिस्टमा थियो तर सो पार्टीले अहिले दिनानाथ गौत्तमलाई उम्मेदवार बनाएको छ ।
यसरी काभ्रेमा अहिले उम्मेदवार भएका ४२ जना मध्ये अधिकांश नयाँ अनुहार छन् । क्षेत्र नम्बर २ मा केही पुराना अनुहार भए पनि क्षेत्र नम्बर १ मा भने सबैजसो नयाँ अनुहार उम्मेदवार भएका छन् । पुराना नेताहरुका ठाउँमा नयाँ नेताहरुले आफ्नो पार्टीको विरासत जोगाउलान् वा गुमाउलान् त्यो भने निर्वाचनको नतिजाले देखाउने नै छ ।