नेभिगेशन
राजनीति

कांग्रेसले आइतबार प्रतिज्ञापत्र सार्वजनिक गर्ने, के–के छन् प्राथमिकतामा ?

काठमाडौं, फाुगन १ (संवाददाता)
नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा सभा निर्वाचनलाई लक्षित गरी आइतबार प्रतिज्ञा पत्र सार्वजनिक गर्ने भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार विज्ञप्ति जारी गरी आइतबार प्रतिज्ञापत्र सार्वजनिक गर्ने जानकारी गराएका हुन् ।

प्रतिज्ञापत्रमा सुशासन, डेलिभरी, आर्थिक वृद्धि, शिक्षामा रूपान्तरण, जलवायु परिवर्तन, युवा रोजगारी र उद्यमशीलता, सामाजिक सुरक्षा, पूर्वाधार र ऊर्जा क्षेत्रको विकासलगायतका विषय समेटिनेछन् ।
कांग्रेसले यसपालि घोषणा पत्रलाई प्रतिज्ञापत्र भनेर सार्वजनिक गर्न लागेको छ । सभापति गगनकुमार थापाले यसपटक घोषणापत्र नभनी पाँच वर्ष सरकार चलाउने योजनासहित प्रतिज्ञा पत्र ल्याउने बताएका छन् । 

पार्टीले समग्र क्षेत्रलाई सम्बोधन गर्ने गरी प्रतिज्ञा पत्र बनाउने क्रम अन्तिम चरणमा पुगेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार केन्द्रीय कार्यालय सानेपाबाट प्रतिज्ञा पत्र सार्वजनिक हुनेछ । गगन र विश्वप्रकाशको नेतृत्वमा तयार भइरहेको प्रतिज्ञा पत्र विगतको भन्दा छोटो, बुझिने र नतिजामुखी हुने दाबी गरिएको छ ।

प्रतिज्ञा पत्रमा कांग्रेसले ‘भिजन–१०’ नामक मुख्य अवधारणा अघि सार्ने भएको छ । यसअन्तर्गत शिक्षा, स्वास्थ्य, उद्यमशीलता, डिजिटल गभर्नेन्सलगायतका १० वटा प्राथमिकताका क्षेत्र समेटिनेछन् । प्रतिज्ञापत्रमा १० वर्षभित्र मुलुकको मुहार फेर्ने ठोस खाका प्रस्तुत गरिने कांग्रेसले जनाएको छ ।

कांग्रेसले प्रतिज्ञा पत्रलाई ‘आकांक्षा’ मात्र नभई ‘कार्यान्वयनयोग्य योजना’ भन्ने बताइरहेको छ । त्यस्तै, सुशासन र भ्रष्टाचार नियन्त्रणमा पनि प्रतिज्ञा पत्र केन्द्रित हुनेछ । बदलिएको कांग्रेसको छवि स्थापित गर्न प्रतिज्ञा पत्रमा सुशासनलाई केन्द्रमा राखिएको छ । कांग्रेसले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने कानूनी संयन्त्रको प्रतिबद्धता र भ्रष्टाचारका मुद्दाहरूलाई छिटोछरितो टुंग्याउन विशेष न्यायिक संरचनाको प्रस्ताव पनि गर्ने भएको छ ।

त्यस्तै, कांग्रेसले संविधान संशोधनको मुद्दामा पनि उठाउने भएको छ । कांग्रेसले चुनावपछि निर्वाचन प्रणालीमा सुधार र प्रदेश संरचनालाई थप बलियो र जनमुखी बनाउन आवश्यक संशोधनको विषय समेट्ने भएको हो ।

आर्थिक पुनरुत्थान र रोजगारी पनि कांग्रेसको प्राथमिकतामा छ । स्वदेशमै उद्यमशीलता बढाउन तथा युवा पलायन रोक्न ‘स्टार्टअप’ र साना उद्योगलाई बिनाधितो कर्जा, कर छुटका विशेष प्याकेज र सरकारी सेवालाई शतप्रतिशत डिजिटल बनाउने र ‘आइटी हब’का रूपमा नेपाललाई विकास गर्ने योजना कांग्रेसको रहनेछ । 

प्रतिज्ञापत्रमा के छ ?
 
१. राजनीतिक तथा शासकीय सुधार

कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था प्रस्ताव ।
उम्मेदवार छनोट गर्दा कार्यकर्ताकबाट प्रत्यक्ष मतदान (प्राइमेरी इलेक्सन) ।
चुनावलाई कम खर्चिलो बनाउन र प्रत्यक्ष निर्वाचित कार्यकारी वा अन्य वैकल्पिक मोडलबारे बहसको प्रस्ताव ।

२. सुशासन र भ्रष्टाचार नियन्त्रण

सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति उच्चस्तरीय स्वतन्त्र आयोगमार्फत छानबिन ।
भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली र निष्पक्ष लोकपाल ।
प्रशासनिक सेवालाई ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउँदै शतप्रतिशत प्रविधिको प्रयोग ।

३. आर्थिक समृद्धि र रोजगारी

स्वदेशमै वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी ।
वैदेशिक रोजगारीबाट फर्किएकालाई बिना धितो सहुलियतपूर्ण कर्जा र उद्यम सञ्चालनमा अनुदान ।
पाँच वर्षभित्र वार्षिक आर्थिक वृद्धिदर ७ प्रतिशतमाथि पु¥याउने योजना ।

४. सामाजिक सुरक्षा र स्वास्थ्य (कोखदेखि शोकसम्म)

पाँच वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ।
तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार ।
सुत्केरी पोषण भत्ता र मातृत्व सुरक्षाका लागि विशेष प्याकेज ।

५. पूर्वाधार र ऊर्जा

१० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन र निर्यात
विपन्न र मध्यमवर्गीय परिवारलाई मासिक ५० युनिटसम्म बिजुली निःशुल्क ।
देशभरका ८० प्रतिशत विद्यालयमा तीव्र गतिको इन्टरनेट ।

६. जलवायु परिवर्तन र वातावरण

सन् २०४५ सम्म नेपाललाई शून्य कार्बन उत्सर्जन गर्ने मुलुक बनाउने लक्ष्य ।
नवीकरणीय ऊर्जा र वातावरणमैत्री विकास निर्माण ।

७. शिक्षामा रूपान्तरण

हरेक पालिकामा कम्तीमा दुईवटा प्राविधिक शिक्षालय ।
महिला साक्षरता दरलाई ९५ प्रतिशत पु¥याउने लक्ष्य ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्