नेभिगेशन
राजनीति

जसपा नेपालको चुनावी घोषणापत्र

पाँच वर्षमा ५० लाख रोजगारी र निःशुल्क स्वास्थ्य–शिक्षा

जनता समाजवादी पार्टी (जसपा) नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा शुक्रबार कार्यक्रम गरी अध्यक्ष उपेन्द्र यादवले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा जसपाले संविधान संशोधन र शासकीय स्वरूपमा परिवर्तनलाई मूल मुद्दा बनाएको छ । ‘समावेशी लोकतन्त्र र समतामूलक समृद्धि’लाई मुख्य नारा बनाएको जसपाले राज्यको विद्यमान संरचनामा आमूल परिवर्तनको प्रस्ताव गरेको छ ।

जसपाले वर्तमान संविधानले संघीयता र सामाजिक न्यायका आधारभूत मान्यतालाई आत्मसात् गर्न नसकेको दाबी गर्दै संविधान संशोधन वा पुनर्लेखनको आवश्यकता औंल्याएको छ । यसका लागि विज्ञहरू सम्मिलित उच्चस्तरीय आयोग गठन गरिने घोषणा–पत्रमा उल्लेख छ ।

पार्टीले स्वास्थ्य र शिक्षाको पूर्ण सार्वजनिकीकरण गर्दै शिशु कक्षादेखि उच्च शिक्षासम्म निःशुल्क बनाउने योजना अघि सारेको छ । यस्तै, भ्रष्टाचार न्यूनीकरणका लागि नेपाललाई ‘नगदरहित अर्थतन्त्र’ बनाउने र २०४७ सालयताका प्रधानमन्त्री, मन्त्री र उच्च कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने घोषणा गरेको छ ।

बेरोजगारी समस्या समाधानका लागि जसपाले कृषिको आधुनिक प्रविधि र ‘भर्टिकल फार्मिङ’मा जोड दिँदै पाँच वर्षभित्र ५० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । घोषणापत्रमा किसानका लागि सस्तो ब्याजदरमा ऋण र उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिने प्रतिबद्धतासमेत जनाइएको छ ।

भौतिक पूर्वाधारतर्फ हुलाकी राजमार्गको पूर्णता र काठमाडौं–निजगढ द्रुतमार्गलाई दुई वर्षभित्रै सञ्चालनमा ल्याउने जसपाको योजना छ । सामाजिक न्यायका लागि दलित र महिलाका लागि छुट्टै आरक्षित संसदीय निर्वाचन क्षेत्रको व्यवस्था गर्ने र सीमान्तकृत समुदायलाई सत्ता र शक्तिमा समानुपातिक पहुँच पु¥याउने पार्टीको मुख्य एजेन्डा रहेको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि फ्रि भिसा र फ्रि टिकट प्रदान गर्ने नीति लागू गर्ने र वैदेशिक रोजगारीबाट फकिएकाहरूलाई सीपका आधारमा स्वदेशमै रोजगारीको प्रबन्ध गरिने नीति लिने जसपाको प्रतिबद्धता छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्