नेभिगेशन
राजनीति

काठमाडौं–८ : निर्णायक मत महिलाको, प्रतिस्पर्धा पेचिलो

संवाददाता
काठमाडौं, फागुन २ 
अघिल्लो निर्वाचनमा कांग्रेसले उम्मेदवार नउठाउँदा सहज जीत निकालेको काठमाडौं–८ मा यसपटक रास्वपा दबाबमा छ । विराजभक्त श्रेष्ठका लागि विरासत जोगाउने दौड चुनौतीपूर्ण बनेको छ, किनकि कांग्रेस र नेकपाका उम्मेदवार प्रभावशाली रूपमा मैदानमा उत्रिएका छन् । त्यसमाथि क्षेत्रमा निर्णायक मतको सन्तुलन महिलातर्फ झुकेको आकलनले प्रतिस्पर्धालाई थप पेचिलो बनाएको छ ।

रास्वपा जीत जोगाउने सकसमा रहँदा अन्य दल यसपटक खाता खोल्ने गृहकार्यमा जुटेका छन् । ०७९ को निर्वाचनमा रास्वपाका विराजभक्त श्रेष्ठले यो क्षेत्रमा जितेका थिए । 

यसपटक उनले परिचित प्रतिस्पर्धी सुमन सायमीसहित कांग्रेस, एमालेका स्थानीयस्तरमा भिजेका उम्मेदवारको सामना गर्नुपर्नेछ । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रले अप्रत्याशित नतिजा दिएको थियो । वर्षौँदेखि जित्दै आएका ठूला दलहरूलाई पछि पार्दै रास्वपाका विराजभक्त श्रेष्ठ १० हजार ११२ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६ हजार १ सय ७९ मत पाएका थिए । 

यसपटक सायमी मैदानमा एक्लै छैनन् । विभिन्न कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार छन् । अघिल्लोपटक स्वतन्त्र उम्मेदवारी दिँदा पनि सम्मानजनक मत पाएका उनी यसपटक पार्टीबाटै उम्मेदवार भएकाले उत्साहित देखिन्छन् ।

उसो त, यो क्षेत्रमा कांग्रेसबाट पूर्वसांसद सपनाराज भण्डारी, नेकपा एमालेबाट पूर्व प्रदेश सांसद राजेश शाक्य, राप्रपाबाट नवीन शाही उम्मेदवार छन् । 

काठमाडौं महानगरपालिका वडा नं. १३, १५, १९, २०, २३ र २४ तथा नागार्जुन नगरपालिका वडा नं. ४ र ५ पर्ने यस क्षेत्रमा कुल मतदाता संख्या ५७ हजार ८ सय ११ छ ।  जसमा महिला २९ हजार ८ सय ९८ र पुरुष २७ हजार ९ सय १३ छन् । यो क्षेत्रमा कुल उम्मेदवार २२ जना छन् । 

विराजलाई कडा चुनौती 

रास्वपा उम्मेदवार श्रेष्ठलाई यसपटक विरासत जोगाउनुपर्ने चुनौती छ । प्रदेश सांसद र संघीय सांसद जितिसेककाले यो क्षेत्रमा श्रेष्ठ स्थापित भइसकेका छन् । तर, नयाँ अनुहारको खोजी उनका लागि चुनौती बन्न सक्छ । उसो त यसपटक यो क्षेत्रमा चुनावी प्रतिस्पर्धा केही रोचक देखिन्छ । 

अघिल्लो पटकका विजेता विराजभक्त र निकटतम प्रतिस्पर्धी सुमन पुनः आमनेसामने भएका छन् । तर यसपटक सायमीको साथमा दलको संगठनात्मक शक्ति पनि जोडिएको छ । विराजका लागि संगठन जोडिएका सुमन चुनौती बन्न सक्छन् । 

त्यस्तै, कांग्रेसका नवीन्द्रराज जोशीको क्षेत्र हो यो । कांग्रेस नेता जोशीले यहाँबाट बिगतमा जित्दै आएका थिए । कांग्रेसले यसपटक स्वर्गीय जोशीकी पत्नी सपनाराज भण्डारीलाई उम्मेदवार बनाएको छ । सपनाको उपस्थितिले यो क्षेत्रमा मुर्झाएको कांग्रेसको सक्रियताले पनि विराजभक्तका लागि कडा चुनौती थपेको छ । उसो त ०७९ को चुनावमा कांग्रेस उम्मेदवार नहुँदा विराजलाई त्यसको लाभ पुगेको थियो । 

एमालेले स्थानीय तहमा पकड भएका राजेश शाक्यलाई उठाएर आफ्नो पुरानो साख फर्काउने कसरत गरेको छ । काठमाडौं–८ को निर्वाचनमा स्थानीय नेवार समुदायको सेन्टिमेन्ट, सम्पदा संरक्षणको एजेन्डाले उनको उम्मेदवारीलाई बलियो बनाएको छ । स्थानीयस्तरका परिचित अनुहारबीच यसपटक यो क्षेत्रमा जसले जित हात पारे पनि सहज पक्कै हुँदैन । 
 
सुमनका लागि दलको फुर्को, शक्ति कि कमजोरी ? 

काठमाडौंका १० क्षेत्रमध्ये यो क्षेत्र नेकपाले आफ्नो बलियो क्षेत्रको रुपमा राखेको छ । कारण हो, सायमीले यसअघि एक्लै प्राप्त गरेको मत । अघिल्लो पटक स्वतन्त्र उम्मेदवारी दिएर निकटतम प्रतिस्पर्धी बनेका सायमी यसपटक नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार छन् । 

स्थानीय सम्पदा संरक्षण र भूमि अधिकारका मुद्दाका अभियन्ताका रुपमा स्थापित सायमी बलियो दाबेदार मानिएका छन् । उनले यसअघि प्राप्त मतमा नेकपाको सांगठनिक शक्ति थपिँदा सायमीले बाजी मार्न सक्छन् । तर, दलप्रतिको वितृष्णाको मारमा उनी पर्नसक्ने सम्भावना पनि कम नरहेको विश्लेषण स्थानीय तहमा गरिने गरेको छ । अहिले काठमाडौं–८ मा सायमीलाई बलियो दाबेदारका रुपमा हेरिए पनि रास्वपाको लहर, कांग्रेस र एमालेका स्थानीय उम्मेदवार उनका लागि पनि चुनौती बन्ने पक्का छ । 

कांग्रेस १२ वर्षपछि मैदान फर्कियो 

यसपटक चुनावमा दलीय गठबन्धन छैन । कांग्रेस १२ वर्षपछि जित फर्काउन यो क्षेत्रमा उत्रिएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा देशभर माओवादी प्रभाव देखिँदा पनि काठमाडौं–८ बाट कांग्रेसका नेता  नवीन्द्रराज जोशी विजयी भएका थिए । उनी ०७० मा पुनः निर्वाचित भए । ०७४ मा भने वाम गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसँग उनी झिनो मतले पराजित भए ।

०७९ मा भने यो क्षेत्रमा कांग्रेसले उम्मेदवार उठाएन । तर, यसपटक कांग्रेस जित फर्काउने तयारीमा छ । त्यसका लागि कांग्रेसले उनै जोशीकी पत्नी सपनाराज भण्डारीलाई अघि सारेको हो । अघिल्लो चुनावमा आफ्नो पार्टीमा मत हाल्न नपाएका यो क्षेत्रका कांग्रेस नेता कार्यकर्ता अहिले उत्साही देखिएका छन् । विगतमा नवीन्द्रलाई साथ दिएकाहरु उनकी पत्नी मैदानमा आउँदा सहानुभूतिको मत जितका लागि निर्णायक हुनसक्ने कांग्रेस काठमाडौंका नेताहरुको विश्लेषण छ । 

महिला मतदाता धेरै हुनु, जोशीको व्यक्तिगत प्रभाव र कांग्रेसको संगठनको बलमा उनले चुनाव जित्ने रणनीति बनाएकी छन् । कांग्रेसले विशेष महाधिवेशनबाट पार्टी बदलिएको सन्देश दिएकाले पनि सपनाको पक्षमा माहोल बन्ने उनको विश्वास छ । 

एमाले पनि कमजोर छैन

यो क्षेत्रमा एमाले पनि कमजोर छैन ।  एमालेले स्थानीय तहमा पकड भएका राजेश शाक्यलाई उठाएर आफ्नो पुरानो साख फर्काउने कसरत गरेको छ । बागमती प्रदेश सभाका पूर्वसदस्य शाक्य एमालेका तर्फबाट बलिया उम्मेदवारका रुपमा हेरिएका छन् । स्थानीय विकास र सम्पदा प्रवर्धनमा उनको सक्रियता मतदातामाझ परिचित छ । ०७९ को चुनावमा भने यो क्षेत्रमा एमाले कमजोर देखिएको थियो । एमालेका शिवसुन्दर राजवैद्यले ३ हजार ८ सय ९१ मत ल्याएका थिए । यसपटक अघिल्लो हार बिर्साउने र एमालेले जित्ने दाबीसहित शाक्य घरदैलोमा सक्रिय छन् । 

अरु को–को छन् मैदानमा ? 

यो क्षेत्रमा राप्रपाका नवीन शाही हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा बोकेर मैदानमा छन् । यस क्षेत्रमा खगेश रञ्जितकार (आम जनता पार्टी), छत्रकुमार पाख्रिन (राष्ट्रिय मुक्ति आन्दोलन नेपाल), दिनेश शाही (नेपाल जनता संरक्षण पार्टी), नवीन शाह (राष्ट्रिय प्रजातन्त्र पार्टी), वन्दना श्रेष्ठ (नेपाल मजदुर किसान पार्टी), मुक्तिनाथ शर्मा (राष्ट्रिय मुक्ति पार्टी नेपाल) र राजन खड्गी (उज्यालो नेपाल पार्टी) उम्मेदवार छन् । 

यसैगरी राजेन्द्र शाह (नेपाल कम्युनिस्ट पार्टी संयुक्त), रेशमबहादुर सुनार (संयुक्त नागरिक पार्टी), विजय डंगोल (नेपाल संघीय समाजवादी पार्टी), शिवसुन्दर कर्माचार्य (श्रम संस्कृति पार्टी), सरोजराज वैद्य (जनता समाजवादी पार्टी) र सलामसिंह लामा (नेपाल कम्युनिस्ट पार्टी माओवादी) छन् । स्वतन्त्र उम्मेदवारहरूमा सुनिता महर्जन, सुशीला नेपाली, विकास खड्गी, मुना न्यौपाने र तुलसा श्रेष्ठ महर्जन छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति