नेभिगेशन
प्रदेश
प्रतिनिधि सभा निर्वाचन–२०८२

सिन्धुपाल्चोकका चर्चित अनुहार जो अहिले उम्मेदवार छैनन्

सिन्धुपाल्चोक । यतिबेला सिन्धुपाल्चोक जिल्लामा ३६ उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये ३० जना विभिन्न राजनीतिक दलका छन् भने बाँकी ६ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । जम्मा दुई वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल २ लाख ७४ हजार ९९८ मतदाता छन् । जहाँ पुरुष मतदाताको संख्या १ लाख ४३ हजार ३०२ र महिलाको संख्या १ लाख ३१ हजार ६९६ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १४६ मतदानस्थल र ३३८ मतदान केन्द्र रहेका छन् । 
१२ वटा पालिका रहेको सिन्धुपाल्चोकमा संघीय निर्वाचन क्षेत्र २ वटा र प्रदेश निर्वाचन क्षेत्र ४ वटा छन् । जिल्लामा ३ वटा नगरपालिका र ९ वटा गाउँपालिका छन् । चौतारासाँगाचोकगढी, बाह्रबिसे र मेलम्ची नगरपालिका हुन् भने इन्द्रावती, जुगल, भोटेकोशी, सुनकोशी, लिसंखुपाखर, त्रिपुरासुन्दरी, पाँचपोखरी थाङ्पाल, हेलम्बु र बलेफी गाउँपालिका हुन् ।
यस जिल्लामा विगतमा निकै चर्चा पाएका केही उम्मेदवारहरुले यस पटक टिकट पाएका छैनन् । जसमा पशुपतिशमशेर जबरा, मोहनबहादुर बस्नेत, अग्नि सापकोटा र अमृतकुमार बोहोरा लगायत रहेका छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेतले यस पटक टिकट पाएनन् । २०५६ सालको निर्वाचनमा विजयी हुँदै बस्नेतले पहिलो पटक प्रतिनिधि सभाको यात्रा तय गरेका थिए । त्यतिबेलै स्वास्थ्य राज्यमन्त्री बनेका उनी त्यसयता २०७० सालको निर्वाचनमा पनि विजयी भएका थिए । 
२०७४ सालको निर्वाचनमा बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ मा तत्कालिन वामगठबन्धनका उम्मेदवार माओवादीका अग्नि सापकोटासँग पराजित भएका थिए । ०७९ सालको निर्वाचनमा भने उनले एमालेका शेरबहादुर तामाङलाई क्षेत्र नम्बर–२ मा पराजित गरे । त्यसपछि उनी स्वास्थ्य मन्त्रीसमेत बनेका थिए । 
सिन्धुपाल्चोकको कांग्रेस राजनीतिमा बस्नेत निर्विकल्पजस्तै थिए । यस निर्वाचनका लागि पनि क्षेत्र नम्बर १ बाट उनको नाम एकल सिफारिस भएको थियो तर कांग्रेसभित्रको आन्तरिक विवादका कारण देउवा पक्षमा रहेका उनले अन्ततः टिकट पाएनन् । उनको ठाउँमा पार्टीका जिल्ला सभापति जंगबहादुर तामाङ अहिले उम्मेदवार भएका छन् ।
यसैगरी सिन्धुपाल्चोकको राजनीतिमा निकै लोकप्रिय नाममध्ये पशुपतिशमशेर जबरा पनि एक हो । राणा वंशका राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन्, उनी । सिन्धुपाल्चोकका हरेक विकासमा उनको नाम सँगै जोडिएर आउँछ । ८४ वर्षको उमेरमा पनि उनको राजनीतिक सक्रियता उस्तै छ । 
२०३० सालदेखि राजनीतिमा संलग्न राणा पञ्चायतकालमा पर्यटन तथा यातायात मन्त्री, स्थानीय विकास मन्त्री तथा नेपालमा बहुदलीय व्यवस्था आएपछि अर्थमन्त्री, परराष्ट्र मन्त्री र जलस्रोत तथा सञ्चार मन्त्रीसमेत भएका थिए । उनी राणा प्रधानमन्त्री श्री ३ मोहनशमशेर जङ्गबहादुर राणाका नाति तथा विजय शमशेर जबराका छोरा हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेरसँगै जोडिने नाम हुन् । 
२०७४ सालमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–२ बाट कांग्रेससँग तालमेल गरेर उनी उम्मेदवार बने तर एमालेका उम्मेदवार शेरबहादुर तामाङसँग पराजित भए । ०७९ सालमा भने उनी पार्टीको समानुपातिकतर्फबाट सांसद बनेका थिए । यस पटक उनी उम्मेदवार छैनन् । राप्रपाले सिन्धुपाल्चोक–२ मा अहिले गोपीकृष्ण चौंलागाईंलाई उठाएको छ । 
पूर्वसभामुखसमेत रहेका तत्कालिन माओवादी केन्द्र र हाल नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटा पनि सिन्धुपाल्चोकको राजनीतिमा निकै लामो समयदेखि सुन्दै आइएको नाम हो । ०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक जेलजीवन बिताएका थिए । ०४८ सालमा संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका उनी त्यतिबेला पराजित भए । 
२०५१ सालमा तत्कालीन माओवादीको केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ताटोलीका सदस्यसमेत थिए । त्यसपछि माओवादी जनयुद्धको समयमा भूमिगत उनी ०६४ र ०७० सालको निर्वाचनमा विजयी भए । ०७४ सालको निर्वाचनमा सो जिल्लाको क्षेत्र नम्बर १ बाट कांग्रेसका मोहनबहादुर बस्नेतलाई पाखा लगाउँदै चुनाव जितेका सापकोटा ०७६ सालमा प्रतिनिधि सभाका सभामुख पनि बने । सापकोटाले यसअघि सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी पाएका थिए । यसपटक उनी पनि उम्मेदवार छैनन् ।
अमृतकुमार बोहोरा सिन्धुपाल्चोकका पुराना कम्युनिष्ट नेता हुन् । उनको राजनीतिक पृष्ठभूमि नेकपा एमाले हो । विसं २००६ सालमा जन्मिएका बोहोरा २०२१ साल तिरबाटै राजनीतिकरूपमा सक्रिय हुन थालेका थिए । जतिबेला उनी पुष्पलाल समूहमा आबद्ध भए र २०२२ सालमा पार्टीको सदस्यता प्राप्त गरे । २०२६ सालदेखि उनी पूर्णकालीन राजनीतिमा छन् ।
उनी पटक पटकका निर्वाचनहरुमा उम्मेदवार बनेका थिए । बोहराले कुनै बेला एमालेका स्थायी समिति सदस्य तथा एमाले अनुशासन आयोगका अध्यक्षसमेत भएर काम गरिसकेका छन् । ०४८ सालदेखिका चुनावमा उनको उम्मेदवारी रहँदै आए पनि पछिल्लो ०७९ मा पनि उनी उम्मेदवार भएनन् । ०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित उनी पूर्वस्थानीय विकास मन्त्री पनि हुन् । उमेरका कारणले पनि होला, यसपटक उनी उम्मेदवार छैनन् । 
हुन त सिन्धुपाल्चोकको राजनीतिमा एमालेका सुवास कर्माचार्य, कांग्रेसका राजेन्द्रमान ताल्चाभँडेल, विकास लामा, राप्रपाका विष्णुविक्रम थापा लगायत अन्य नेताहरुको नाम पनि कुनैबेला निकै चर्चामा हुन्थे । तर अहिले यी नामहरु गुमनाम जस्तै छन् । सिन्धुपाल्चोकका दुवै क्षेत्रमा कांग्रेसले नयाँ अनुहार ल्याएको छ ।
एमालेले केही नयाँ र केही पुरानै पात्र अघि सारेको छ भने नेकपाले पनि केही नयाँ र केही पुरानै अनुहार उठाउँदा अरु अधिकांश दलहरुले नयाँ उम्मेदवार नै चुनावी मैदानमा पठाएका छन् । कसको भाग्य बलियो छ त्यो भने चुनावी नतिजाले नै देखाउनेछ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्