वीरगंज, ९ भदौ - पर्साको वीरगंजमा हैजा संक्रमण फैलिँदै गइरहेको छ । गत शुक्रबारदेखि आइतबारसम्म झाडापखालाका लक्षण देखिएपछि अस्पताल गएका मध्ये हालसम्म ७९ जनामा हैजा पुष्टि भइसकेको छ भने १०३ जना संक्रमित विभिन्न अस्पतालहरूमा उपचाररत छन् । वीरगंज महानगरपालिकाले संक्रमितको तथ्यांक संकलन गरिरहेको छ ।
संक्रमणको सुरुवात केही वडामा सीमित भए पनि अहिले वीरगंज र आसपासका पालिकासम्म फैलिन थालेको छ । हाल वडा नम्बर ११, १२, १३ र १४ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । सुरुवाती चरणमा गम्भीर अवस्थामा अस्पताल आइपुग्ने गरेका बिरामीहरू अहिले शंका लाग्नेबित्तिकै उपचारका लागि आउन थालेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंह बताउँछन् ।
उनका अनुसार परीक्षणको दायरा बढेमा संक्रमितको संख्या अझै धेरै हुनसक्छ । ‘झाडापखालाका बिरामीमध्ये धेरैलाई हैजा पुष्टि भएको छ,’ उनले भने, ‘सुरुमा केवल १–२ वडाका बिरामी मात्र देखिए पनि अहिले अन्य पालिकाबाट पनि बिरामी आउन थालेका छन् ।’ संक्रमण नियन्त्रणमा सरकारका तीन तह जुटे हैजा नियन्त्रणका लागि तीनै तहका सरकारहरू सक्रिय बनेका छन्
आइतबार पर्सा जिल्ला संकट व्यवस्थापन समितिको बैठक बसेको थियो जसमा मधेस प्रदेशका स्वास्थ्य मन्त्री सत्रुधनप्रसाद सिंहको उपस्थितिमा ७ बुँदे निर्णय पारित गरिएको छ । बैठकमा सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, संचारकर्मी, संघ–संस्थाहरूको सहकार्यमा जनचेतना अभियान सञ्चालन गर्ने, आवश्यक बाहेक अस्पतालहरूले स्वास्थ्यकर्मीलाई बिदा नदिने, औषधि र परीक्षण सामग्रीको व्यवस्था स्वास्थ्य कार्यालय पर्साले गर्ने लगायत निर्णयहरू गरिएको छ ।
यसै क्रममा वीरगंज महानगरपालिकाले बजारमा अव्यवस्थितरूपमा संचालन भइरहेका माछा–मासु पसलहरूको अनुगमन थालेको छ । साथै ३२ वटै वडामा नर्सिङ क्याम्पसका विद्यार्थी र स्वास्थ्य स्वयंसेवक परिचालन गरेर जनचेतना फैलाउने र नालामा कीटाणुनाशक स्प्रे छर्ने कामलाई तीव्र बनाइएको छ ।
महानगर प्रमुख राजेशमान सिंहले एकद्वार प्रणालीबाट औषधि वितरण गर्नुपर्ने माग राख्दै जनस्वास्थ्य कार्यालय पर्साको वितरण प्रणालीप्रति असन्तुष्टि जनाए । ‘नारायणी अस्पतालमा सबैभन्दा धेरै बिरामी छन्, तर औषधि विभिन्न ठाउँमा छरिएका छन्,’ उनले भने, ‘यसरी महामारी नियन्त्रण सम्भव छैन ।’
संघीय स्वास्थ्य मन्त्रीको निरीक्षण संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल सोमबार वीरगंज पुगे । उनले नारायणी अस्पतालमा बिरामीसँगको संवादपछि औषधि र परीक्षण निःशुल्क उपलब्ध गराउन निर्देशन दिए ।
‘झाडापखाला र हैजाको उपचारका लागि आउने कुनै पनि बिरामीले जुनसुकै औषधि निःशुल्क पाउने गरी व्यवस्थापन गर्न आग्रह छ,’ मन्त्री पौडेलले भने, 'विश्व स्वास्थ्य संगठनको प्रोटोकलले पुग्ने औषधि भए ठीकै हो, नत्र भने थप औषधिसमेत निःशुल्क दिनुपर्छ ।’
मन्त्री पौडेलले निजी अस्पताललाई पनि हैजा संक्रमितको उपचारमा सुलभ सेवा दिन आग्रह गरे। ‘निजी अस्पतालले सरकारबाट किट र औषधि लिएर बिरामीलाई सुविधा दिने हो भने सरकार त्यसका लागि तयार छ,’ उनले भने, ‘यो विपदको बेला हो, यसलाई कमाइ खाने भाँडो बनाउनु हुँदैन।’
उनले तीनै तहका सरकारबीच समन्वय गरी कुनै पनि हालतमा औषधि र जनशक्तिको अभाव हुन नदिने प्रतिबद्धता जनाए । बारा र रौतहटबाट चिकित्सक टोली आइरहेको जानकारी दिँदै उनले अझ थप जनशक्ति आवश्यक परे संघीय सरकारबाट तत्काल पठाउने बताए ।
छिमेकी पालिकाको कडा कदम वीरगंजमा हैजा फैलिन थालेपछि बाराको प्रसौनी गाउँपालिकाले आफ्ना क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सडक छेउमा बिक्री हुने पानीपुरी, चटपटे, चाट र माछा जस्ता खाद्य वस्तुको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँपालिका अध्यक्ष विनोद जैसवालले आइतबार सूचना जारी गर्दै होटल तथा रेस्टुरेन्टहरूलाई स्वच्छता अपनाउन निर्देशन दिएका छन् ।
जनस्तरमा चेतना अभियान
संक्रमण तीव्र भएपछि वीरगंज नर्सिङ क्याम्पसका विद्यार्थीहरू घरदैलो अभियानमा जुटेका छन्। नर्सिङ क्याम्पस प्रमुख डा. कल्पना पौडेलका अनुसार ‘संक्रमणको विषयमा हल्ला फैलिएको छ, तर स्थिति नियन्त्रण बाहिर गएको छैन । अभिभावकहरू त्रसित छन्, त्यसैले सञ्चार माध्यमले सही सूचना दिन जरुरी छ ।’
संक्रमित संख्या केही दिनयता स्थिर देखिए पनि संक्रमणको स्रोत पहिचान नभएसम्म खतरा टरेको मान्न सकिँदैन । दूषित खानेपानी र सरसफाइको कमी नै हैजाको प्रमुख कारण मानिएको छ । प्रभावित क्षेत्रको पानीको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ ।
स्थिति चुनौतीपूर्ण भए पनि सरकार, स्थानीय तह, स्वास्थ्य संस्था, निजी क्षेत्र, सञ्चार माध्यम र जनसमुदायको सहकार्यमा मात्र यो महामारी नियन्त्रण सम्भव देखिन्छ ।