नेभिगेशन
अर्थतन्त्र
एमालेको घोषणापत्र

अर्थतन्त्रको आकार १० वर्षमा २०० खर्ब

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले हरेक वर्ष ७ देखि ९ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने घोषणा गरेको छ । उक्त वृद्धिदरमार्फत ५ वर्षभित्र अर्थतन्त्रको आकार १ सय खर्ब रुपैयाँ पु¥याउने लक्ष्य लिइएको छ ।
हाल नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब रुपैयाँबराबर छ । कृषि उत्पादकत्व, विद्युत् उत्पादन क्षमता, खनिज तथा औद्योगिक उत्पादन, सूचना प्रविधि, र भौतिक पूर्वाधार निर्माणमा फड्को मार्दै यो लक्ष्य हासिल हुने एमालेको घोषणा पत्रमा उल्लेख छ ।
एमालेले पहिलो पाँच वर्षमा १ सय खर्ब र दोस्रो पाँच वर्षमा त्यसको दोब्बर अर्थात् २ सय खर्ब रुपैयाँबराबरको अर्थतन्त्र पु¥याउने बताएको छ । प्रतिव्यक्ति आय ५ वर्षमा ३ हजार अमेरिकी डलर पु¥याउने लक्ष्य पनि राखिएको छ, जबकि अहिले यो करिब १ हजार ५ सय डलर हाराहारीमा छ ।
राष्ट्रिय स्रोत, साधन र सामथ्र्यको परिचालन गर्दै समतामूलक र द्रुत आर्थिक विकासमार्फत चरम गरिबी अन्त्य गर्ने एमालेको घोषणा छ । उच्च आर्थिक वृद्धिबाट वार्षिक ४ लाख रोजगारी र सूचना प्रविधि क्षेत्रसहित लक्षित रोजगार कार्यक्रममार्फत थप १ लाख गरी कुल ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य एमालेले राखेको छ ।
मध्यपहाडी लोकमार्ग तथा कोशी–गण्डकी करिडोर क्षेत्रमा उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधि विकासका क्लस्टरका रूपमा ‘करिडोर सिटी’ निर्माण गर्ने योजना अघि सारिएको छ । हुलाकी राजमार्गलाई औद्योगिकीकरण, कृषिको व्यावसायीकरण र व्यापार–व्यवसायका हबका रूपमा विकास गर्ने घोषणा गरिएको छ ।
तीन वर्षमा निर्यात दोब्बर बनाउने तथा पाँच वर्षभित्र निर्यात तेहेरो वृद्धि गरी आयातको कम्तीमा एक चौथाइ अंश धान्न सक्ने बनाउने लक्ष्य पनि एमालेले प्रस्तुत गरेको छ । बबई, भेरी–बबई, सुनकोशी–मरिन, रानी जमरा र सिक्टा लगायत सिँचाइ आयोजनाहरू निर्माण गर्ने घोषणा गरिएको छ । पूर्व–पश्चिम राजमार्गलाई एक्सप्रेस हाइवेमा स्तरोन्नति गर्ने तथा मध्यपहाडी राजमार्गलाई डेडिकेटेड डबल लेन स्तरमा निर्माण गर्ने लक्ष्य राखिएको छ ।
पूर्व–पश्चिम विद्युतीय रेलमार्ग १० वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । वीरगन्ज–काठमाडौं तथा केरुङ–काठमाडौं विद्युतीय रेलमार्ग निर्माणको काम अगाडि बढाइने घोषणा गरिएको छ । नेपाल–भारत अन्तरदेशीय रेलमार्ग आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ऊर्जा क्षेत्रमा विद्युत् उत्पादन र प्रतिव्यक्ति विद्युत् उपभोग दोब्बर बनाउने योजना पनि एमालेले अघि सारेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्