नेभिगेशन
मनोरञ्जन

जब भुवनले अनमोललाई थप्पड हाने...

‘जेरी अन टप’ फिल्मको सुटिङका बेला छोरालाई थप्पड हान्नु निकै गाह्रो भएको अभिनेता भुवन केसीले अनुभव सुनाए । एउटा लङ सट र अर्को क्लोज सटमा दुईपटक थप्पड हान्नुपर्ने अवस्थामा अनमोललाई दुईपटक थप्पड हानेका थिए । तर उनले लङ सटमा भने गाला पड्किने गरी थप्पड हाने पनि क्लोज सट खिच्ने बेलामा थप्पड हान्न सकेनन् ।

यो संस्मरण भुवनले फिल्मको टिजर रिलिजका अवसरमा सुनाएका हुन् । त्रिकोणात्मक प्रेमकथा बोकेको यो फिल्मका बारेमा जानकारी दिन काठमाडौंमा आयोजित एक कार्यक्रममा भुवनले यस्तो बताएका हुन् । यस फिल्ममा पहिलो पटक भुवन केसी र अनमोल बाबुछोरा बनेर खेलेका छन् । भुवनले भने, ‘मैले वास्तविक जीवनमा अनमोललाई एक थप्पड पनि हानेको छैन । थप्पड त परै जाओस्, मैले कडा शब्दमा उसलाई गाली पनि गरेको छैन । पर्दामा थप्पड हान्नु पर्दा मलाई ज्यादै गाह्रो भयो । तर पर्दामा त्यो वास्तविक रुपमा नै आओस् भन्ने चाहन्थेँ ।’

छोरासँग प्रतिस्पर्धा गर्दा कस्तो लाग्यो भन्ने प्रश्नमा उनले भने, ‘अनमोलसँग पहिलो पटक यसरी स्क्रिनमा बाउछोरा नै भएर खेलेँ । यसअघि छोरा पुस्ताका धेरैसँग काम गरेको भए पनि छोरासँगै पहिलो पटक बाबुछोरा भएर खेल्दा कसरी यसलाई अझ वास्तविक बनाउन सकिन्छ भन्नेमा मेरो ध्यान थियो ।’

यो फिल्ममा हेर्दा अनमोलले आफूलाई हराउने किसिमले काम गरेको र यसमा आफू पहिलो पटक खुशी भएको उनले बताए । बुवालाई हराउने गरी अभिनय गर्दा कस्तो लागेको छ भन्ने पत्रकारको प्रश्नमा अनमोलले भने, ‘उहाँको योगदानका अगाडि मेरो काम केही छैन । त्यसैले उहाँलाई हराउने कुरा म सोच्न पनि सक्तिनँ ।’

आफ्नो १२ वर्षको करियरमा यो फिल्ममा आफूले राम्रो काम गर्ने मौका पाएको अनमोलले बताए । उनले सो अवसरमा फिल्म रिलिज हुँदा फिल्मले राम्रो व्यापार गरोस् भन्ने चाहना भए पनि त्यही कुरामा हावी नहोस् भन्ने सचेतता भएको बताए । उनले भने, ‘फिल्मले राम्रो व्यापार गरेको कसलाई पो मन पर्दैन । तर फिल्मले व्यापार गर्छ कि गर्दैन भनेर तनाव लिन्नँ । मैले त आफ्नो काम इमान्दारीपूर्वक गर्नुपर्छ । मिहिनेतपूर्वक गरिएको कामलाई भविष्यपर्यन्त दर्शकले याद गर्छन् । फेरि फिल्ममेकिङ टिमवर्क हो । त्यसैले सारा बोझ आफैंले बोकेर हिँड्नु उचित हुँदैन ।’ 

तीन वर्षदेखि फिल्मको काम शुरु भएको र गएको एक वर्ष समय लगाएर सुटिङ गरिएको टिजर सार्वजनिक भएपछि यसको सुन्दरताको तारिफसमेत भएको छ । स्क्रिप्टमा तीन वर्ष, अनि सुटिङ गर्दा पनि जाडो र गर्मी मौसमअनुसार फिल्म खिच्दा बढी समय लागेको कार्यक्रममा नायक अनमोल केसीले बताए । उनले फिल्ममा जेरीको भूमिका खेलेका छन् । उनलाई फिल्ममा दुई नायिका आँचल शर्मा र जसिता गुरुङले साथ दिएका छन् ।

कार्यक्रममा वास्तविक जीवनमा आफूलाई रोमान्स गर्न नआए पनि पर्दामा चाहिँ आँचल र जसिताको सहयोगले निखार ल्याएको अनमोलले बताए । उनले भने, ‘तपाईंहरू दुई जनाको सहयोग नभएको भए मेरो रोमान्समा निखार आउँदैनथ्यो होला । त्यसैले तपाईंहरू दुवै जनालाई धन्यवाद दिन्छु।’

उनले कलाकार निर्मल शर्मालाई सम्मान गर्दै भने, ‘निर्मल दाइ, तपाईं मेरो लक्की चार्म हुनुहुन्छ । तपाईंसँग जोडिएका हरेक फिल्म सफल भएका छन् । त्यसैले यो पनि सफल हुन्छ ।’ यस फिल्ममा पूर्व मिस नेपाल उषा खड्गी अनमोलकी आमाको भूमिकामा देखिएकी छन् । उनले उषातर्फ हेर्दै भने, ‘पर्दामा यति सुन्दर आमा पाएकामा म ज्यादै खुशी छु ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्