नेभिगेशन
राजनीति
उम्मेद्वार चिनौंः बालेन्द्र शाह (बालेन)

नयाँ पुस्ताको राजनीतिक उदय र सम्भावनाको कथा

इन्जिनियरिङ पृष्ठभूमि, -याप सङ्गीतबाट बनेको युवा पहिचान र डिजिटल पुस्तासँगको गहिरो सम्बन्ध— यी सबै पक्षले बालेन्द्र शाहलाई नेपाली सार्वजनिक जीवनमा फरक र विशिष्ट पहिचान दिएका छन् । उनी आकस्मिक रूपमा राजनीतिमा प्रवेश गरेका पात्र होइनन्; सामाजिक असन्तुष्टि, युवापुस्ताको अपेक्षा र वैकल्पिक नेतृत्वको खोजबीच योजनाबद्ध रूपमा उदाएका नेतृत्व हुन् । 
प्रारम्भिक पृष्ठभूमि र राजनीतिक सोच
बालेनले सामाजिक सञ्जालमार्फत ‘अर्को पटक म आफैं मेयर जित्छु’ भन्ने अभिव्यक्ति दिँदै २०७४ तिरै आफ्नो राजनीतिक आकांक्षा सार्वजनिक गरेका थिए । त्यसपछि उनले शहरी व्यवस्थापन, सुशासन र वैकल्पिक नेतृत्वबारे निरन्तर बहस गर्दै आफ्नै शैलीमा राजनीतिक छवि निर्माण गरे । उनको उदय व्यक्तिगत महŒवाकांक्षाको मात्र परिणाम नभई पुराना दलप्रति बढ्दो असन्तुष्टि र नयाँ नेतृत्वको खोजसँग जोडिएको व्यापक सामाजिक प्रक्रियाको प्रतिफल पनि हो । 
काठमाडौं महानगरको चुनाव र ऐतिहासिक विजय
२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा उनले काठमाडौं महानगरपालिकाको मेयर पदमा विजय हासिल गरे । स्थापित दलका उम्मेदवारहरूबीच स्वतन्त्र व्यक्तिको जित नेपाली राजनीतिक इतिहासकै महत्वपूर्ण मोड बन्यो । चुनावी परिणामले शहरी मतदातामा परिवर्तनको चाहना कति गहिरो छ भन्ने स्पष्ट सन्देश दियो ।
युवापुस्ताको समर्थन र डिजिटल प्रभाव
बालेनको लोकप्रियता निर्माणमा सामाजिक सञ्जाल र युवा मतदाताको निर्णायक भूमिका रह्यो । डिजिटल माध्यमबाट सञ्चालन भएको अभियान, स्वतन्त्र सोच र विद्रोही शैलीले उनलाई नयाँ पुस्ताको प्रतिनिधि नेतृत्वका रूपमा स्थापित ग¥यो । विभिन्न अनलाइन प्लेटफर्मबाट आएको समर्थनले उनको सार्वजनिक छविलाई थप मजबुत बनाएको मानिन्छ । 
कार्यशैली र नेतृत्वको स्वरूप
झण्डै तीन वर्ष मेयरका रूपमा रहँदा उनले प्रत्यक्ष कार्यशैलीलाई प्राथमिकता दिए । अव्यवस्थित संरचना हटाउने, सार्वजनिक व्यवस्थापनमा सुधार ल्याउने र प्रशासनिक उत्तरदायित्व बढाउने कदमका कारण उनी निरन्तर चर्चामा रहे । यद्यपि सामाजिक सञ्जालमा व्यक्त गरेका केही धारणा र स्ट्याटसका कारण उनी बेला–बेला विवादमा पनि तानिए । स्पष्ट अभिव्यक्ति, प्रत्यक्ष संवाद र परम्परागत राजनीतिक भाषाभन्दा फरक प्रस्तुतिले युवापुस्तामा उनको आकर्षण अझै बढाउँदै लग्यो ।
अपेक्षा, आलोचना र परिपक्वताको चुनौती
लोकप्रियता बढेसँगै उनीप्रति अपेक्षा पनि उच्च बन्दै गएको छ । युवाहरूले उनलाई परिवर्तनको प्रतीकका रूपमा हेरेका छन् भने बौद्धिक वर्गले दीर्घकालीन नीतिगत दृष्टि, राजनीतिक परिपक्वता र संस्थागत नेतृत्वको विकासको अपेक्षा राखेको देखिन्छ । सार्वजनिक व्यक्तित्वका रूपमा उनका अभिव्यक्ति, व्यवहार र निर्णयहरू निरन्तर बहसको केन्द्र बन्ने गरेका छन् । जसले एकातर्फ प्रभाव विस्तार गरेको छ भने अर्कोतर्फ जिम्मेवारीको दायरा पनि फराकिलो बनाएको छ । 
सम्भावित राजनीतिक भविष्य
गएको भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन र त्यसपछिका राजनीतिक कोर्षहरुले बालेनलाई राष्ट्रिय राजनीतिको एक प्रमुख पात्रका रुपमा उभाएको छ । उनको  राजनीतिक भविष्यलाई लिएर चिन्ता पनि उत्तिकै छ । यदि उनले युवाको उर्जा, प्रशासनिक अनुभव र नीतिगत परिपक्वतालाई सन्तुलित रूपमा अघि बढाउन सके भने उनी दीर्घकालीन राष्ट्रिय नेतृत्वको सम्भावित पात्रका रुपमा स्थापित हुन सक्छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्