नेभिगेशन
राजनीति

अझै छुटेन नेताहरुमा माला मोह (तस्वीरसहित)

काठमाडौं । नेता जता गए पनि माला लगाउन छाड्दैनन् । माला सम्मानको प्रतीक हो तर धेरै देखिँदा सर्वसाधारणलाई आँखामा बिझाउने दृश्य पनि माला नै बनेको हुन्छ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको माहोलले अहिले देश तातेको छ । चुनावी माहोलमा उम्मेदवारहरुले मत माग्ने क्रममा गरेका हर्कतहरु पनि अहिले सामाजिक सञ्जालमा ‘हट केक’ मात्र बनिरहेका छैनन् सामाजिक सञ्जालमा ‘भाइरल कन्टेन्ट’ बनिरहेको छ । माला मोह राख्ने पुराना दल त यसलाई निरन्तरता दिइ नै रहेका छन्, नयाँ संस्कार स्थापीत गर्ने भन्दै राजनीतिमा आएको दाबा गर्नेहरुमा पनि माला मोह उस्तै छ । 
सामाजिक सञ्जालमा अहिले एउटा तस्बिर चर्चामा छ । जहाँ एक जना व्यक्ति मालैमालाले ढाकिएका छन् । उनको निधारसम्म छोपिने गरि मालाको चाङ नै छ । तस्बिर झट्ट हेर्दा लगाउने व्यक्ति चिन्न गाह्रो हुन्छ । तर, उनी अरु कोही नभएर प्यूठानमा एमालेका उम्मेदवार सूर्य थापा हुन् । थापा यसलाई प्यूठानी जनताको मायाका रुपमा व्याख्या गर्छन् । मालाले पुरिएको तस्बिरबारे उनको प्रतिक्रिया छ– ‘यो कुनै नाटक होइन । मतदाताले गरेको प्रेम हो । लोकप्रियता हो ।’ थापा एमालेबाट सोही क्षेत्रमा ०७९ को निर्वाचनमा विजयी बनेका थिए । अहिले उनले मत माग्दै गरेका तस्बिर र भिडियोहरु अनौठा अनौठा देखिन्छन् । मतदाताको घरमा खाना बनाउनेदेखि नाचगान गर्ने उनको शैलीलाई धेरैले रोचक मानेका छन् । केहीले भने ‘नौटंकी’को संज्ञा दिने गरेका छन् । 


शनिबार सर्लाही–४ मा कांग्रेस उम्मेदवार रहेका पार्टी सभापति गगन थापा पनि मालाले झण्डै थिचिएनन् । मधेस झरेका थापालाई स्थानीय कार्यकर्ताहरूले भव्य स्वागत गर्ने क्रममा ठूला र गह्रौँ मालाहरू लगाइदिएको तस्बिरहरू सार्वजनिक भएका छन् । उनले आफूलाई ‘मधेसको छोरो’ भन्दै राजनीति र विकासमा आमूल परिवर्तन गर्ने संकल्प गरिरहँदा, उनलाई लगाइएको भीमकाय मालाहरूले उनको उचाइ र लोकप्रियतालाई दर्शाउन खोजेको समर्थकहरूको तर्क छ । सर्लाहीको गोडैता–८ मा कांग्रेस कार्यकर्ताहरुले सभापति थापालाई १ सय २५ केजीको माला लगाइदिएका हुन् ।  ‘गगन थापा हाम्रो लागि आशा हुन् । हामी उनलाई उम्मेदवार पाउँदा उत्साहित छौँ, हामी अहिले मत दिएर पठाउँछौँ ,’ एक स्थानीयले भने । 
त्यस्ते, उज्यालो नेपाल पार्टीका अधयक्ष कुलमान घिसिङलाई पनि शनिबार  समर्थकले गह्रौं माला लगाइदिए । कञ्चनपुर–३ अन्तर्गत दोधारा–चाँदनीमा अध्यक्ष घिसिङ लाई स्थानीय बासिन्दाले स्वागत का क्रममा २० किलोको माला लगाइदिएका हुन् । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङ अहिले उज्यालो पार्टीका अध्यक्ष छन् भने काठमाडौं–३ मा उम्मेदवार छन् । 
यसपटक प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पूर्व पुगेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गरिरहेका छन् । उनी गत साता अनुहार ढाक्नेगरी धुपीको मालामा देखिए । मतदाताको मानका खातिर माला लगाएको प्रतिक्रिया उनले दिएका थिए ।
प्रचण्ड, गगन, सूर्य, कुलमान त प्रतिनिधि पात्र हुन् । अरु राजनीतिक दलका नेता र उम्मेदवार पनि अहिले चुनावी अभियानका क्रममा गर्धनले थेग्न नसक्ने गरी माला र खादा लगाएर हिँडिरहेका छन् । यसरी निर्वाचनको समयमा किलोका किलो तौल भएका माला लगाउने प्रवृत्तिको सार्वजनिक आलोचना समेत हुने गरेको छ । तर, त्यस्तो आलोचनाले न नेताहरु सचेत बनेका छन् त न त कार्यकर्ताहरु नै । 


निर्वाचन आयोगले आचारसंहितामार्फत तडकभडक रोक्न प्रयास गरे पनि, उम्मेदवारहरूलाई ’गह्रौँ माला’ लगाइदिएर सम्मान गर्ने परम्परा नेपाली राजनीतिमा एउटा स्थापित परिपाटी नै बन्न पुगेको छ । 
निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्ने क्रम जारी छ । तर, मतदाताका समस्या सुन्न पुग्ने नेताहरूका घाँटीमा झुण्डिएका मालाहरूले अहिले चुनावी बहसलाई नयाँ मोड दिएको छ ।
पछिल्ला केही दिनमा उम्मेदवारहरू विशाल मालाले पुरिएर मत माग्न व्यस्त छन् । कसले कति किलोको माला लगाउने भन्नेमा कार्यकर्ताहरूबीच परोक्ष प्रतिस्पर्धाजस्तै देखिन्छ । कतिपय ठाउँमा त यति भारी माला लगाइन्छ कि नेतालाई त्यो थाम्नै गाह्रो पर्छ । दुई–तीन जना कार्यकर्ताले माला समाइदिनुपर्ने अवस्था देखिन्छ ।
राजनीतिक विश्लेषक डा.पीताम्बर भण्डारी भने यसलाई चुनावी प्रचारको परम्परागत शैलीकै रुपमा व्याख्या गर्छन् । ‘यसले चुनावी प्रचारमा परम्परागत शैलमिा परिवर्तन नआएको देखाउँछ । पहिले यसरी नेताले माला लगाउँदा गर्विलो हुन्थ्यो । तर, अहिले सामाजिक सञ्जालका लागि कन्टेन्ट बन्ने गरेका छन्,’ उनले भने,‘विशेषत आफू निर्वाचन क्षेत्रमा प्रभावशाली छु भन्ने मानक स्थापित गर्नका लागि नेता र कार्यकर्ताले माला मोह देखाएको बुझ्न सकिन्छ ।’ उनले अहिले कसले कुन नेतालाई ठूलो माला लगाइदिने भन्ने प्रतिस्पर्धा नै चलेको पनि बताए । 


राजनीतिक विश्लेषकहरू यसलाई एउटा ’सामन्ती सोच’ को अवशेष पनि ठान्छन् । नेतालाई ठूलो माला लगाइदिएर आफू निकट हुन खोज्ने कार्यकर्ताको प्रवृत्ति र माला लगाएर आफूलाई शक्तिशाली देखाउन खोज्ने नेताको मनोविज्ञानले लोकतन्त्रलाई बलियो नबनाउने उनीहरुको तर्क छ । 
निर्वाचन आचारसंहिताले चुनावी प्रचारप्रसारमा हुने तडकभडक र अनावश्यक खर्चलाई नियन्त्रण गर्ने प्रयास गरे पनि सम्मान र स्वागतका नाममा लगाइने मालालाई रोक्न कठिन देखिएको छ । आयोगले उम्मेदवारहरूलाई सादगी अपनाउन आग्रह गरे पनि व्यवहारमा त्यसको उल्टो भइरहेको छ । निर्वाचनमा मतदाताले मालाको तौल हेरेर भन्दा पनि नेताको योजना र काम गर्ने क्षमता हेरेर मतदान गरुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्