नेभिगेशन
राजनीति

उम्मेदवार चिनौंः रेनु दाहाल

राजनीतिक यात्रा र नेतृत्वको पहिचान 
चितवनको भरतपुर महानगरपालिकालाई नेतृत्व गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो अलग पहिचान बनाएकी रेनु दाहाल नेपाल कम्युनिष्ट आन्दोलनबाट उदाएकी सक्रिय महिला नेतृ हुन् । २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएर ९ वर्ष जनताबाट प्रमाणित भएर संसदीय राजनीतिमा होमिनु उनको राजनीतिक यात्राको महŒवपूर्ण उपलब्धि मानिन्छ । 
प्रारम्भिक जीवन
सशस्त्र द्वन्द्वको कठिन समयमा बुबा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आमा सीता दाहालसँगै देशभित्र र प्रवासका विभिन्न स्थानमा बसोबास गर्नुपरेको अनुभवले उनको जीवन र राजनीतिक सोचलाई गहिरो रूपमा प्रभावित ग¥यो । द्वन्द्वकै कारण उनले एसएलसीभन्दा माथिल्लो तहको अध्ययन गर्ने अवसर पाइनन् । 
पार्टी राजनीति र भूमिगत जीवन 
दाहालले विसं. २०५१ सालमा पार्टी सदस्यता लिएर सक्रिय राजनीतिक जीवन सुरु गरिन् । २०५२ सालमा सुरु भएको माओवादी सशस्त्र आन्दोलनका क्रममा उनी भूमिगत भइन् र भारतका विभिन्न प्रान्तहरूमा पार्टीको सेक्रेटरी तथा महिला विभागको जिम्मेवारी सम्हालिन् । विकट ग्रामीण क्षेत्रमा संगठन निर्माण, कार्यकर्ता परिचालन र राजनीतिक अभियान सञ्चालनमा उनले सक्रिय भूमिका निभाइन् । रोल्पा जिल्ला सह–इन्चार्जको रूपमा समेत उनले महŒवपूर्ण जिम्मेवारी निर्वाह गरेकी थिइन् । 
संसदीय र संगठनात्मक अनुभव 
दाहाल २०६४ को पहिलो संविधानसभामा समानुपातिकतर्फबाट सभासद् बनिन् । २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भने उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भइन् । संगठनात्मक रूपमा उनले प्रवासमा अखिल महिला समाजको केन्द्रीय समिति अध्यक्ष, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव, काठमाडौं जिल्ला सचिव जस्ता जिम्मेवारी सम्हालिन् ।
भरतपुर महानगरको नेतृत्व 
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका देवी ज्ञवालीलाई झिनो मतान्तरले पराजित गर्दै दाहाल पहिलो पटक भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भइन् । त्यसबखत उनलाई मतपत्र च्यातेर धाँधलीपूर्ण ढंगले जित हात पारेको आरोप अझै पनि लाग्ने गरेको छ । मेयरका रूपमा पाँचवर्षे कार्यकाल सफलतापूर्वक पूरा गरेकी दाहाल २०७९ को निर्वाचनमा पुनः भरतपुरको मेयरमा निर्वाचित भइन् । झण्डै नौ वर्ष मेयरका रूपमा रहेकी रेनुले भरतपुरको समग्र विकासमा महŒवपूर्ण काम गरेको दाबी गर्दै आएकी छन् । 
नेतृत्व शैली र पहिचान 
रेनु दाहाललाई माओवादी आन्दोलनबाट उदाएकी, संगठनमा लामो अनुभव बटुलेकी र स्थानीय शासनमार्फत नेतृत्व क्षमता प्रमाणित गरेकी नेतृका रूपमा चिनिन्छ । संघर्षपूर्ण राजनीतिक यात्रा, संगठनात्मक अनुभव र स्थानीय विकासप्रति केन्द्रित दृष्टिकोणले उनलाई नेपाली राजनीतिमा प्रभावशाली महिला नेतृका रूपमा स्थापित गरेको छ । स्थानीय सरकारमा आफूलाई अब्बल प्रमाणित गरेकी रेनु संसदीय यात्रामा कति सफल हुन्छिन्, त्यो भने समयले बताउँदै जानेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्