नेभिगेशन
मनोरञ्जन

रहमानद्वारा चोरी स्वीकार !

विश्वविख्यात संगीतकार एआर रहमान ‘पोन्नियिन सेलवन–२’ फिल्मको चर्चित गीत ‘वीरा राजा वीरा’मा भारतीय शास्त्रीय संगीतका दिग्गज ‘जुनियर डागर ब्रदर्स’ को नाम जोड्न सहमत भएका छन् । भारतीय सर्वोच्च अदालतको आदेश र सुझावपछि रहमानले उक्त गीतको आधिकारिक क्रेडिट सूचीमा डागर परम्पराका संगीतज्ञहरूको योगदान स्वीकार गर्ने निर्णय गरेका हुन् ।
प्रधानन्यायाधीश सूर्यकान्तको नेतृत्वमा रहेको इजलासले रहमान र फिल्म निर्माताहरूलाई आगामी पाँच हप्ताभित्र सबै सामाजिक सञ्जाल र ओटीटी प्लेटफर्महरूमा संशोधित क्रेडिट विवरण राख्न निर्देशन दिएको छ ।
यो विवाद सन् २०२३ देखि सुरु भएको हो, जब उस्ताद फैयाज वसिफुद्दिन डागरले रहमानको उक्त गीतमा आफ्नो परिवारको पुस्तौनी ध्रुपद रचना ‘शिवा स्तुति’ अनुमतिबिना प्रयोग गरिएको दाबी गरेका थिए । उनले गीतको ताल, लय र भाव आफ्ना पिता उस्ताद नसिर फैयाजुद्दिन डागर र काका उस्ताद नसिर जहिरुद्दिन डागरले रेकर्ड गरेको मूल धुनसँग हुबहु मिलेको आरोप लगाएका थिए ।
सुरुमा रहमान र फिल्म निर्माताहरूले उक्त संगीत आफ्नो मौलिक र स्वतन्त्र सिर्जना भएको दाबी गरे पनि अदालतले शास्त्रीय संगीतको धरोहरलाई सम्मान दिनुपर्ने अडान राखेपछि उनीहरू पछि हटेका हुन् ।
रहमानका पक्षबाट बहस गरिरहेका वरिष्ठ अधिवक्ता अभिषेक मनु सिंघवीले अदालतमा यो सहमति केवल ‘बिना पूर्वाग्रह’ गरिएको र यसले मुख्य कपीराइट मुद्दाको अन्य पक्षमा कुनै प्रभाव नपार्ने स्पष्ट पारेका छन् । अदालतले पनि डागरवानी ध्रुपद परम्परा भारतीय शास्त्रीय संगीतको एक अनमोल धारा भएको र यसको विशिष्टतालाई पहिचान दिनु आवश्यक रहेको बताएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्