नेभिगेशन
स्वास्थ्य

उपचारार्थ साम्बाको सहयोग याचना

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको सार्वजनिक अपिल गरेकी छन् । पछिल्लो केही सातादेखि चोटका कारण मैदानबाहिर रहेकी साम्बाले सोमबार सामाजिक सञ्जालमार्फत आफू उपचारको खोजीमा भौतारिनुपरेको बताउँदै सहयोग मागेकी हुन् ।
उनले सहयोग माग्दै स्टाटस पोस्ट गरेपछि सहयोगी पनि अघ िआउन सुरु भएको छ । यसले नेपाली खेल क्षेत्रमा खेलाडीको अवस्थामाथिको बहस पनि सतहमा ल्याएको छ । 
नेपालका लागि सर्वाधिक गोल गर्ने स्ट्राइकर साम्बाले यसपटक अखिल नेपाल फुटबल संघ (एन्फा) र सरकारी निकायबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेकी छन् । उनका अनुसार एन्फाले अधिकतम पाँच लाख रुपैयाँसम्म मात्र सहयोग गर्न सक्ने प्रतिक्रिया दिएको छ । ‘नेतृत्वबाट वाचा गरिएको सहयोगसमेत पाइएन,’ साम्बाले लेखेकी छन्, ‘मैले पटक–पटक प्रयास गर्दा पनि सम्बन्धित पदाधिकारीसँग सम्पर्क गर्न कठिन भयो ।’
साम्बाको घुँडामा रहेको क्रुसिएट लिगामेन्टमा यसअघि गरिएको शल्यक्रियापछि हालिएको ग्राफ्ट र मेडियल कोलेटरल लिगामेन्ट दुवैमा गम्भीर समस्या देखिएकाले जटिल शल्यक्रिया आवश्यक रहेको चिकित्सकको सुझाव छ । उनले कतारस्थित अस्पेटार आर्थोपेडिक तथा खेलकुद चिकित्सा अस्पतालमा उपचार गराउने इच्छा व्यक्त गर्दै करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने प्रारम्भिक आकलन सार्वजनिक गरेकी छन् । अनुबन्धित क्लबले बीमाबाट प्राप्त रकम निकासा गरिदिने जनाए पनि शल्यक्रिया र सातदेखि आठ महिनासम्मको पुनस्र्थापनाका लागि उक्त रकम अपुग हुने उनको भनाइ छ ।
एन्फा प्रवक्ता सुरेश शाहले साम्बाले उठाएका विषयमा छलफल भइरहेको भन्दै टिप्पणी गर्न अस्वीकार गरेका छन् । एन्फा अध्यक्ष पंकज नेम्वाङले पाँच लाख रुपैयाँसम्म सहयोग गर्ने र अन्य प्रक्रिया स्वयं गर्नुपर्ने धारणा राखेको साम्बाले उल्लेख गरेकी छन् । 
नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले राष्ट्रिय टोलीकी कप्तानले उपचारका लागि सार्वजनिक अपिल गर्नुपर्ने अवस्था दुखद भएको टिप्पणी गरे । उनले खेलाडीको योगदानको सम्मान र उपचार सुरक्षामा संस्थागत जिम्मेवारी देखिनुपर्नेमा जोड दिए ।
साम्बाले आफू करिअरकै कठिन लडाइँमा रहेको बताउँदै छिट्टै स्वस्थ भई मैदान फर्कन आम समर्थकसँग साथ र सहयोगको अपेक्षा गरेकी छन् । उनले भनेकी छन् – ‘मेरो लागि यो आफ्नो करियरको सबैभन्दा कठिन लडाइ भएको छ । मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आम समर्थकहरु नै हुनुहुन्छ । एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु । तर मैले देशको लागि सधैं शतप्रतिशत दिएको छु र आउने दिनमा पनि देशको लागि खेल्न तत्पर छु । इजरायल होस् या फ्रान्स, मैले सधैं नेपालकै नाम राखेको महसुस भएको छ ।  यहाँ न्युजिल्यान्ड र अष्ट्रेलियामा खेल्दा पनि मैले व्यक्तिगत भन्दा पनि राष्ट्रको पहिचान बोकेको ठानेको छु ।’

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्